तीव्रखबर
महोत्तरी । मधेसको मिथिला क्षेत्रमा विजयादशमीका दिन आज रावण वध उत्सव हुँदैछ। महोत्तरीको मटिहानीमा प्रत्येक वर्षजस्तै यस वर्ष पनि विजयादशमीको अवसरमा रावण वध उत्सव मनाइने भएको हो।
मिथिलाका ज्वाइँ मानिने श्रीरामद्वारा रावण वध गरिएको स्मरणमा दशानन (दस टाउको भएको) अजङ्को रावण प्रतिमालाई तीर प्रहार गरेर शिरछेदन गर्ने दृश्य देखाइँदै आएको छ। दुर्गा मन्दिर परिसरमा यस प्रयोजनका लागि रावणको ठूलो पुतला तयार पारिएको मटिहानी नगरप्रमुख हरिप्रसाद मण्डलले जानकारी दिए।
उनका अनुसार विजयादशमीका दिन बिहान देवी पूजन विसर्जन गरेर साँझ रावण वध उत्सव मनाउने परम्परा वर्षौंदेखि रहँदै आएको छ। “विजयाको दिन सन्ध्याकालअघि श्रीरामले रावण वध गरेको विश्वासमा यही समयमा प्रतिमालाई तीर प्रहार गरेर वध गरिएको दृश्य देखाइन्छ,” नगरप्रमुख मण्डलले बताए।
मटिहानी–७ निवासी प्रेस स्वतन्त्रता सेनानी, ९० वर्षीय विन्देश्वरीप्रसाद मण्डलका अनुसार सत्ययुगमा देवी दुर्गाले दैत्यको वध गरेझैँ त्रेतायुगमा श्रीरामले असुर प्रवृत्तिको अन्त्य गरेको विश्वासमा यो परम्परा जोडिएको हो।
मैथिल लोकपरम्पराका ज्ञाता तथा मिथिला माहात्म्यका नेपाली अनुवादक ध्रुव रायका अनुसार ‘दशहारा’ शब्दको अर्थ दश इन्द्रीयको दासत्वलाई हराउनु भन्ने हो। मर्यादा पुरुषोत्तम रामले दशाननमाथि विजय प्राप्त गरेकै कारण यो पर्वलाई ‘दशहारा’ वा ‘बडादसैँ’ भनिएको उनको भनाइ छ।
प्रतिक्रिया