तीव्रखबर
हाल नेपाली फिल्म बजार निकै नै तातिरहेको छ। चलचित्र छायांकन र प्रदर्शनको तछाडमछाड चलिरहेको यही बेला तिजको मुख पारेर भाद्र ६ गतेबाट ‘जनै हराएको मान्छे’ प्रदर्शनमा आउँदैछ। यसै सन्दर्भमा तीव्रखबरले चलचित्रका लेखक भानुभक्त ढकालसँग गरेको भलाकुसारीको सम्पादित अंश:
गीत लेखन हुँदै चलचित्र लेखनसम्मको यात्रा कस्तो रह्यो?
गीत लेखनले मलाई ऊर्जा दिन्छ। गीत लेख्दा छुट्टै आनन्द महसुस हुन्छ। तर केही घटनाहरू लगातार दिमागमा घुमिरहेकाले ती कथाहरू अरूसँग बाँड्ने माध्यम चाहिएको थियो। त्यसैले चलचित्र लेखनतर्फ मोडिएँ। ‘जनै हराएको मान्छे’ मार्फत त्यो कथा दर्शकसामु ल्याउने अवसर पाएँ। भदौ ६ मा म पनि दर्शकमाझ बसेर चलचित्र हेर्न आतुर छु। यो मेरो लागि निकै रोमाञ्चक क्षण हुनेछ।
कथा, पटकथा र संवाद सबै आफैँले लेख्नुभएको छ। एक्लैले गर्दा गाह्रो भएन?
अवश्य पनि, सबै काम एक्लैले गर्दा केही चुनौती त आयो। तर लेख्नुअघि कथाको प्रवाह र घटनाक्रम मनमा बुनेको थिएँ। हतार नगरी बिस्तारै लेख्दै जाँदा कथा आफैँ रोचक र भावनात्मक बन्दै गयो। त्यसपछि फिल्म टिमसँग बाँडेँ। सबैले यो कथा सशक्त फिल्म बन्नसक्छ भनेर विश्वास व्यक्त गर्नुभयो।
पहिले फिल्मको नाम ‘जनै हराएको बाहुन’ थियो, पछि परिवर्तन गरेर ‘जनै हराएको मान्छे’ बनाइयो। दर्शक झुक्किने त होइन?
यो उचित प्रश्न हो। ‘जनै हराएको बाहुन’ नामप्रति धेरैको चासो देखियो। तर जातीय संकेत भएको नामले अनावश्यक विवाद निम्त्याउन सक्ने देखेर निर्माण पक्षले नाम परिवर्तन ग¥यो। अहिले प्रचारप्रसार र पोस्टरमार्फत नयाँ नाम ‘जनै हराएको मान्छे’ नै प्रस्ट रूपमा आएको छ। यो परिवर्तनलाई सकारात्मक रूपमा लिनु पर्छ।
बिजय बराल, मिरुना मगर, केकी अधिकारीलगायतका चर्चित कलाकार लिँदा बजेट बढेन?
बजेटको स्पष्ट जानकारी त निर्मातालाई हुन्छ। तर नाम चलेका कलाकार हुँदा बजेट केही बढ्नु स्वाभाविक हो। तर यी कलाकार कथा अनुसार छनोट गरिएका हुन्। यिनले कथालाई न्याय गर्नुभएको छ, जसले चलचित्रको स्तर अझ उचो बनाएको छ।
चलचित्रको शीर्षकमा ‘सम्बन्धका धागा’ भनेको के हो?
‘जनै हराएको मान्छे’ एक पारिवारिक भावनात्मक कथा हो। यो फिल्ममा दिदी–भाइ, आमा–छोरा, प्रेमी–प्रेमिकाबीचको सम्बन्धको भावनात्मक चित्रण गरिएको छ। गाउँबाट सहर पसेको युवकले आफ्नो अस्तित्वको खोजीमा अनेक हण्डर खेप्छ र अन्ततः सम्बन्ध र जीवनको मूल्य बुझ्न थाल्छ।
यतिबेला हप्तैपिच्छे चलचित्रहरू रिलिज भइरहेका छन्। तपाईंको चलचित्रले सफल व्यापार गर्छ भन्ने विश्वास छ?
विश्वास छ। हामीले कथामा विशेष मिहिनेत गरेका छौँ। हतार–हतार नभई छलफल गर्दै महिनौं लगाएर कथा तयार पारियो। कलाकारहरू कथाबाट प्रभावित भएर जोडिनुभएको हो। गीत, संगीत, मेकिङ सबैमा निर्माताले खुलेर लगानी गर्नुभएको छ। अभिनय पनि प्रभावशाली छ। त्यसैले राम्रो व्यापार गर्छ भन्नेमा आशावादी छु। तर मिडियाको साथ र दर्शकको समर्थन पनि उत्तिकै जरुरी छ।
अस्ति गीतको छायांकनमा गायक थानेश्वर गौतम बेहोस हुनुभएको थियो भन्ने सुनियो। के भएको थियो?
हो, एक गजलको छायांकनका क्रममा थानेश्वरजी बेहोस हुनुभयो। एकछिन त सबै अत्तालियौँ। सायद उहाँ भावनामा धेरै नै डुब्नुभयो। पानी पिलाएपछि होशमा आउनुभयो। पछि सो गजल पुनः छायांकन गरियो। अहिले उहाँ पूर्णरूपमा स्वस्थ हुनुहुन्छ।
अबका योजना के छन्?
‘जनै हराएको मान्छे’को सम्पादन अन्तिम चरणमा छ। म अहिले अर्को चलचित्रको कथा लेख्न व्यस्त छु। निर्माता पनि तयारी अवस्थामा हुनुहुन्छ। म सस्तो लोकप्रियतामा होइन, दीर्घकालीन प्रभाव पार्ने कथा लेख्न चाहन्छु। नयाँ फिल्म एक्सन र कमेडी मिश्रण हुनेछ।
चलचित्र सफल हुनका लागि तपाईंका दृष्टिमा के–के कुरा महत्त्वपूर्ण छन्?
चलचित्र निर्माण सामूहिक प्रयास हो। कथा बलियो हुनुपर्छ। लेखकले दर्शकको मनोविज्ञान बुझेर कथा लेख्नुपर्छ। त्यसपछि निर्देशक, कलाकार, संगीत, सम्पादन, छायांकन, प्रवर्द्धन सबै पक्ष सशक्त हुनुपर्छ। एउटा पक्ष कमजोर हुँदा पनि चलचित्र असफल हुन सक्छ। त्यसैले समन्वय र टिमवर्क अत्यावश्यक हुन्छ।
समय दिनुभएकोमा धन्यवाद। ‘जनै हराएको मान्छे’ सफल होस् भन्ने शुभकामना।
म पनि तीव्रखबरलाई धन्यवाद दिन चाहन्छु, मेरो भनाइ राख्ने अवसर दिनुभएकोमा। आशा छ, दर्शकहरूले चलचित्रलाई मन पराउनु हुनेछ।

प्रतिक्रिया