तीव्रखबर
काठमाडौँ, नेपाल – निर्देशक रोशन दासको निर्देशनमा निर्माण भईरहेको सामाजिक–राजनीतिक चलचित्र ‘प्रतिवैरम’ अन्तर्गत आइटम गीतको छायांकन राजधानीस्थित चलचित्र विकास कम्पनीको भव्य सेटमा सम्पन्न गरिएको छ।
मधेशको कथा र जीवनशैलीमा आधारित यस चलचित्रको गीत दुई दिनसम्म भव्य रूपमा छायांकन गरिएको हो। कोरियोग्राफर सुरेन बसेलको नृत्य निर्देशनमा खिचिएको उक्त गीतमा लोकप्रिय अभिनेत्री प्रियंका कार्की फिचर भएकी छिन्।
निर्देशक दासका अनुसार, “मधेशबारे बन्ने धेरै फिल्महरूले न त त्यहाँको वास्तविक सौन्दर्य देखाएका छन्, न त गहिरो सामाजिक समस्या उजागर गरेका छन्। ‘प्रतिवैरम’ मार्फत हामी त्यो अभाव हटाउने प्रयास गर्दैछौं।” चलचित्र दाजु–बहिनीको भावनात्मक सम्बन्धसँगै मधेशको सामाजिक र राजनीतिक यथार्थलाई चित्रण गर्ने उद्देश्यले निर्माण हुँदैछ।
रेज इन्टरटेनमेन्टको प्रस्तुति रहेको चलचित्र किङ्स वाईटी स्टुडियो र श्रीयन इन्टरटेनमेन्टको सहकार्यमा निर्माण भइरहेको हो। कथा निर्देशक दास स्वयंले लेखेका हुन् भने पटकथा युवराज भट्टराईले तयार पारेका छन्।
चलचित्रमा सम्राट दास, प्रियंका कार्की, रमेश बुढाथोकी, नविन श्रेष्ठ, आलिशा बास्तोला, बिरेन्द्र कुशवाह, सुप्रज्ञा शर्मा, रोशन, नारायण विक, रोनी यादव, कमल सुनार, गीता श्री, अग्नि सुवेदी लगायतका कलाकारले अभिनय गरेका छन्।
आइटम गीतमा संगीत मनिष अधिकारी, शब्द रोशन दास र स्वर रितिका श्रेष्ठको रहेको छ भने छायांकन नितेश घतानले गरेका हुन्।
निर्देशक दासका अनुसार चलचित्रको आधा भन्दा बढी छायांकन सम्पन्न भइसकेको छ र बाँकी भाग बर्खा सकिएपछि खिचिनेछ।
प्रतिक्रिया