November 19, 2026, 11:55 am
» २१ बुँदे संकल्प प्रस्ताव पारित गर्दै सकियो एमाले राष्ट्रिय भेला » २४ घण्टामा देशभर सवारी दुर्घटनामा ९ को मृत्यु, १४८ जना घाइते » दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २२ जना घाइते » नेप्सेमा समान्य वृद्धि, ३ अर्ब ८७ करोडको कारोबार » मलेसिया श्रमिक ठगी प्रकरण : पूर्वमुख्यसचिव अर्यालविरुद्ध पक्राउ पुर्जी जारी

महाकाली भन्सारबाट निर्यात शून्य, राजस्व सङ्कलनमा वृद्धि

साउन ७, २०८१ मा प्रकाशित | २९८०४ दर्शक तीव्रखबर

बैतडी,   सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको मुख्य नाकाका रुपमा रहेको महाकाली भन्सार कार्यालय झुलाघाटबाट गतवर्ष निर्यात शून्यमा झरेको छ ।

कार्यालयले गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ भने निर्यात शून्य देखिएको छ ।

यस नाकाबाट कुनै पनि सामान निकासी नभएको भन्सार कार्यालयले जनाएको छ ।

केही वर्ष अघिसम्म घ्यू निर्यात हुने गरेकामा गत वर्ष त्यो पनि निर्यात नभएको भन्सार कार्यालयका प्रमुख अनिल झाले जानकारी दिनुभयो ।

उहाँका अनुसार आयातबाट लक्ष्यभन्दा एक सय ७० प्रतिशत बढी राजस्व सङ्कलन भएको छ ।

कार्यालयले गत आवमा रु ५१ लाखको लक्ष्य राखेकामा रु ८६ लाख ८४ हजार ९० राजस्व सङ्कलन गरेको प्रमुख झाले बताउनुभयो ।

उहाँका अनुसार लक्ष्यभन्दा ३५ लाख ८४ हजार ९० बढी राजस्व सङ्कलन भएको हो ।

भन्सार महसुल, भन्सार सेवा दस्तुर, मूल्य अभिवृद्धि कर र अन्तशुल्कबाट उक्त राजस्व रकम सङ्कलन गरिएको कार्यालयले जनाएको छ ।

विगतका वर्षमा लक्ष्य अनुसार राजस्व सङ्कलन गर्न नसक्ने अवस्था थियो । आव २०७९/८० मा रु ३८ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य लिइएकामा रु ३५ लाख ३८ हजार मात्रै सङ्कलन भएको थियो ।

भन्सार क्षेत्रमा गरिएको कडाइ, आयातमा वृद्धिलगायत कारणले लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको भन्सार प्रमुख प्रमुख झाले बताउनुभयो ।

यो नाकाबाट चिनी, कपडा, गुड, भाँडाकुडालगायत घरायसी प्रयोजनका सामग्री बढी भित्रिने गर्दछन् ।

झुलाघाट नाकामा मोटरेबल पुल नहुँदा व्यापारीले धेरैजसो सामान धनगढी तथा काठमाडौँबाट ल्याउने गरेका छन्  ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *