October 20, 2026, 3:59 am
» दशैँको अवसरमा काठमाडौं उपत्यकामा सशस्त्र प्रहरी बलवारा निःशुल्क बस सेवा सञ्चालन » हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु » नवरात्रको अन्तिम दिनः आज महानवमी » दशैंको रौनक गाउँमा, काठमाडौंका सडक सुनसान » ‘मासु खाँदा हड्डी अड्किए तुरुन्त अस्पताल जानुपर्छ’

व्यापारीको कालाबजारी: तेब्बरले बढ्यो तरकारीको मूल्य

असार ३१, २०८१ मा प्रकाशित | ३३८०४ दर्शक तीव्रखबर

गाईघाट : जिल्ला सदरमुकाम गाईघाट बजार क्षेत्रमा दुई साताभित्र तरकारीको मूल्य साविकको भन्दा तेब्बरले वृद्धि भएको छ। निरन्तरको वर्षाका कारण ढुवानीमा समस्या हुँदा मूल्य वृद्धि भएको स्थानीय व्यापारी बताउँछन्।

त्रियुगा नगरपालिका–११ गाईघाट सङ्गम टोलका सुजाता खड्काले दुई हप्ताभित्र तरकारी र फलफूलको मूल्य तेब्बरले वृद्धि भएको बताइन्। “असारको दोस्रो सातासम्म गोलभेँडाको प्रतिकिलो रु ५० पर्नेमा अहिले रु एक सय पचास पर्छ”, उनले भनिन्।

स्थानीय राजु धमलाले दुई साताभित्रै तेब्बरले मूल्य वृद्धि गरेर व्यापारीले वर्षा र सडकलाई माध्यम बनाएर उपभोक्ता ठगी गरिरहेका बताए। “सरोकार भएका निकायको उचित ध्यान जान नसक्दा उपभोक्ता मारमा पर्नुका साथै व्यापारीको कालाबजारी बढ्यो”, उहाँले भन्नुभयो। असारको १५ गतेसम्म बोडी प्रतिकेजी रु ६० देखि सत्तरी रहेकामा अहिले रु एक सय ८० देखि दुई सय पर्ने गरेको छ।

“दैनिक तीन सयदेखि चार सयको हाजिरीमा काम गरेर जीविकोपार्जन गर्ने मजस्ता श्रमिकले कसरी यती महँगो तरकारी किनेर खानु”, त्रियुगा–१२ पुरानो गाईघाटका श्रमिक देवेन्द्र चौधरीले प्रश्न गरे।

फलफूल तथा तरकारी व्यापारीका अनुसार जिल्लाभित्र उत्पादनमा कमी आउँदा बाहिरबाट ढुवानी गरेर आपूर्ति गर्ने गरिएकाले वर्षासँगै मूल्य वृद्धि भएर आएको बताउँछन्।

कृष्णप्रसद खनालले भने, “बजार क्षेत्रमा खेतीयोग्य जमिनमा सडक विस्तार, घर निर्माण हुँदा अधिकांशले खेती गर्दैनन्। यहाँ उत्पादन नभएपछि व्यापारीले जति मूल्य भने पनि किनेर खानुपर्ने बाध्यता छ।” यहाँ व्यापारीले सिरहाको लाहानबाट सस्तोमा सामग्री खरिद गरेर उपभोक्तालाई महँगोमा बेचिरहेका उनले बताए। यस विषयमा सरोकार भएका निकायले प्रभावकारी बजार अनुगमन नगर्दा व्यापारीले कालोबजारी गरिरहेका यहाँका उपभोक्ता बताउँछन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *