तीव्रखबर
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ। फाइनलमा साविक विजेता लुम्बिनी लायन्सलाई १० विकेटले पराजित गर्दै सुदूरपश्चिम तेस्रो प्रयासमा च्याम्पियन बन्न सफल भएको हो। सुदूरपश्चिमलाई ऐतिहासिक जित दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका जर्ज मन्से फाइनल खेलको प्लेयर अफ द म्याच घोषित भए।
प्रतियोगितामा सर्वोत्कृष्ट प्रदर्शन गरेका सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्र सिंह ऐरी प्लेअर अफ दि टुर्नामेन्ट घोषित भएका छन्। उनले प्रतियोगिता अवधिभर तीन अर्धशतकसहित २१८ रन बनाउनुका साथै ६ विकेटसमेत लिए। उत्कृष्ट प्रदर्शनबापत उनले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन्।
यसैगरी चितवन राइनोजका बलर रिजन ढकाल सर्वोत्कृष्ट नेपाली खेलाडी घोषित भए। उनले सर्वोत्कृष्ट नेपाली खेलाडी बन्दै ओमोडा एन्ड जाएको कार उपहार पाएका छन्। प्रतियोगितामा सर्वाधिक १७ विकेट लिएका रिजन उत्कृष्ट बलर पनि चुनिए र उनले पल्सर मोटरसाइकल हात पारे। चितवन राइनोज भने प्लेअफमा पुगे पनि फाइनलमा पुग्न नसक्दै तेस्रो स्थानमा सीमित रह्यो।
अन्य विधागत पुरस्कारतर्फ विराटनगर किंग्सका लोकेश बम सर्वोत्कृष्ट ब्याटर घोषित भए। प्रतियोगितामा २४२ रन बनाएका उनले पल्सर मोटरसाइकल प्राप्त गरेका छन्। जनकपुर बोल्ट्सका युवा बलर राहुल यादवले इमर्जिङ प्लेअरको अवार्ड जित्दै पल्सर मोटरसाइकल पाए भने चितवन राइनोजका श्रीलंकन ब्याटर कमिल मिशारा रेड बुल इनर्जेटिक प्लेयर घोषित हुँदै नगद दुई लाख रुपैयाँबाट पुरस्कृत भए। यस्तै उपविजेता लुम्बिनी लायन्सले स्प्रिट अफ क्रिकेटको अवार्ड प्राप्त गरेको छ।
प्रतिक्रिया