तीव्रखबर
सुनसरी– सुनसरीमा गएराति र आज बिहान भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार कोशी गाउँपालिका–८ स्थित कोशी ब्यारेज नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार १९ वर्षीय जयप्रकाश यादवको मृत्यु भएको हो ।
पूर्व–पश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा प्र ०३–००१ ख ३४६३ नम्बरको ट्रकले विपरीत दिशाबाट आउँदै गरेको को २२ प १६५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका यादवको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनापछि ट्रक चालक मकवानपुरको कैलाश गाउँपालिका–६ का सञ्जय रिजाललाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ ।
यस्तै, आज बिहान दुहबी नगरपालिका–८ मा मोटरसाइकलको ठक्करबाट दुई पैदलयात्रीसहित चार जना घाइते भएका छन् । इटहरीबाट दुहबीतर्फ जाँदै गरेको कोशी प्रदेश ०२–०६२ प ७८७ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिएको थियो ।
घाइतेमध्ये नेपाल प्रहरीका हवल्दार रोहितकुमार राजवंशी र अजयकुमार चौधरीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । चारै जनाको मोरङको बूढीगङ्गास्थित विराट शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार मोटरसाइकल चालकले मादक पदार्थ सेवन गरेको परीक्षणबाट पुष्टि भएको छ ।
प्रतिक्रिया