November 5, 2026, 10:40 am
» सापकोटा मोबाइल प्रकरणले ततायो राजनीति, पद्मा अर्यालले खोलिन् मुख! » नेप्सेमा दोहोरो अंकको गिरावट, ४ अर्ब ७२ करोडको कारोबार » अपराजित लुम्बिनीको सानदार जित : जनकपुर १८ रनले पराजित » प्रधानमन्त्री शाहले लिए सुरक्षा निकायका प्रमुखसँग ‘ब्रिफिङ’ » ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु

सरकारी जग्गा खोज्नुपर्ने सरकार करिडोर खोल्दै, हनुमन्तेमा पाँच करोडको खेल !

कार्तिक १८, २०८३ मा प्रकाशित | ४८०४ दर्शक तीव्रखबर

भक्तपुर नगरपालिका–१ स्थित हनुमन्तेखोला छेउबाट करिडोर खोल्नका लागि पाँच करोड बजेट परेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित भक्तपुर क्षेत्र नम्बर १ का सांसद रुकेश रञ्जितको पहलमा सो बजेट परेको हो । त्यहाँ बढीमा एक किलोमिटर होला । २०२८–२९ सालसम्म हनुमन्ते खोला कमेरोटार र सल्लाघारीको तीनकुनेस्थित बिकुलाल ख्याउँजुको घरसम्म आइपुग्थ्यो भन्नेहरु अहिलेपनि भेटिन्छन् ।

चंगागणेश वरपर पनि खोला बगेर पुग्थ्यो । त्यहाँ मानिसहरु नुहाउन, लुगा धुन जान्थे । २०२१ सालमा नापी गर्दा सो ठाउँको जग्गालाई ऐलानी, गुठी भनेर राखिएको छ । २०२४ सालमा राजा महेन्द्रले ११० रोपनी जग्गा प्रतिरोपनी एक हजार रुपैयाँमा खरिद गरे । २०२१ सालभन्दा पछाडि २०२९ सालसम्म सिर्जनानगर, चंगा गणेश मन्दिर वरपर, आर्मी व्यारेक वरपर, खरिपाटी जाने सडक, टेम्पो पार्क वरपर, निकोसेरो, कमेरोटारमा पुरै घारी थियो ।
त्यहाँ मानिसहरु दिउँसै हिँड्न डराउँथे । २०३२ सालमा तीनकुने चौरअगाडि एक जनाले छाप्रो हाले । गाउँमा बाँदर हेर्ने खालको छाप्रो हालियो । २०३५ सालमा उनले कच्ची ईँट्टा र ढुंगामाटोको घर बनाए । छानोमा टाइल हाले । त्यतिबेला मुलुकमा पञ्चायती व्यवस्था थियो । नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छें, प्रेम सुवाल, भक्तपुर नगरपालिकाका वर्तमान मेयर सुनिल प्रजापतिलगायत त्यतिबेला भूमिगत थिए ।

छाप्रो हाल्ने मान्छे नेमकिपाकै कार्यकर्ता हुन् । २०४६ चैत २४ गते पञ्चायती व्यवस्था ढलेर बहुदलीय व्यवस्था आयो, त्यसपछि निरन्तर नेमकिपाले चुनाव जित्यो । २०४८, २०५१, २०५६, २०६४, २०७० मा नारायणमान बिजुक्छेले जिते । २०७४ र २०७९ मा प्रेम सुवाल विजयी भए । यता, क्षेत्र नम्बर २ मा नेमकिपाले दुईपटक चुनाव जित्यो । नेमकिपाले चुनाव जितेपछि गुठी, ऐलानी, हदबन्दीभन्दा बढीको जग्गा व्यक्तिको नाममा गयो ।
एक लाख ६७ हजारभन्दा बढी जग्गा व्यक्तिको नाममा गएको छ । राजकुलो, ढुंगेधारा, पार्टी पौवा पनि व्यक्तिको नाममा गएको छ । २०६५ जेठ १५ गते राजतन्त्र अन्त्य भएर देशमा लोकतन्त्र गणतन्त्र आयो । सल्लाघारी तीनकुनेस्थित राजपरिवारको जग्गा ट्रष्टको नाममा गयो । अहिले त्यहाँ ६०–६५ रोपनी जग्गा मात्र छ । २०७४ सालमा अर्थ मन्त्रालयबाट तीन करोड बजेट लिएर सो जग्गामा कम्पाउण्ड घेरिएको छ ।

१५ देखि २० लाख रुपैयाँ जग्गा पर्खाल लगाउनमा खर्च भएको छ, अरु रकम झ्वाम्म पारिएको छ । फेरि नगरपालिकाले जग्गा नापी पनि गरिएको छैन । ट्रष्टको जग्गामा दुई पाङ्ग्रे सवारी साधन पार्क गर्न दिएर नगरपालिकाले पैसा उठाउँदै आएको छ । त्यहाँ विभिन्न कार्यक्रम हुन्छ । चाडपर्वमा त्यहाँ खसीबोका बेच्न राखिन्छ । त्यहाँ मेला भइरहन्छ । त्यसबापत नगरपालिकाले पैसा उठाउँछ ।

ट्रष्टको जग्गामा नगरपालिकाको रजाइँ चलिरहेको छ । तीनकुने चौरअगाडि भएको सिसैसिसाको ठूलो घर बिकुलाल चौधरीको हो । उनले तीन वटा ढुंगेधारा र राजकुलो माँसेर घर बनाएका हुन् । तथापि, उनले सम्पूर्णताको प्रमाणपत्र लिइसकेका छन् । २०६५ मंसिर १ गतेको मन्त्रिपरिषद्को बैठकले खोलाको दायाँबायाँ २० मीटर छोडेर मात्र घर बनाउने पाउने निर्णय गरेको छ ।
२०८० पुस ३ गतेको सर्वोच्चको फैसलाले बागमती, विष्णुमती र मनोहरालाई ४० मीटर कायम गर्दै अन्यको हकमा यथावत् राख्यो । केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि महान्यायाधिवक्ता कार्यालयमार्फत सरकार भ्याकेटमा गयो । सर्वोच्चले ४० मीटरको फैसला बदर गर्दै २० मीटर नै कायम गर्यो । खोलाको जमिन मिच्नका लागि पछिल्लो समय करिडोर खोल्ने क्रम बढेको छ ।

ज्नताले तिरेको कर खर्च गरेर करिडोर खोलिन्छ । यसले सरकारी सम्पत्ति कब्जा गर्नेहरुलाई फाइदा भएको छ । करिडोर खोलेपछि जग्गाको भाउ ह्वात्तै बढ्छ । व्यापार व्यवसाय फस्टाउँछ । २०५१–५२ सालमा ठूलो पानी पर्यो । सो वर्षातमा मध्यपुर थिमी, राधेराधे, सिर्जनानगर, सल्लाघारी, चुनदेवी पुरै डुबानमा पर्यो । २०८१ असोज १० देखि १२ गतेसम्म पानी पर्दा पनि सोही नियति दोहोरियो ।

सो क्षेत्र पुनः डुबानमा पर्यो । २०८२ असोज १७ देखि १९ गतेसम्म भएको वर्षामा पनि डुबान भयो । २०८३ असोज ८ देखि ११ गतेसम्म पानी पर्यो । कात्तिक १३ र १४ गते परेको पानीमा हनुमन्ते उर्लियो । घरको शौचालयबाट पानी पसेको थियो । खोलालाई दुईपट्टी पर्खाल लगाएर कुलो बनाइएको छ । कारण हो–खोला कमेरोटार र सल्लाघारीको तीनकुने चौरसम्म नपुगोस् ।
पानी पर्नेबित्तिकै खोला भरिएर आइहाल्छ । राधेराधे त पहिल्यैदेखि डुबान हुने ठाउँ हो । त्यसैले त्यहाँ पहिले घर बनाइएको थिएन । अहिले हरेक वर्ष वर्षातमा पानी घरघरमा फस्छ । बालेन्द्र साह नेतृत्वको सरकारले सरकारी तथा सार्वजनिक जग्गा खोज्न सकेको छैन । तर, उनकै पार्टीका सांसद त्यहाँबाट करिडोर खोल्न लागिपरेका छन् । नेमकिपाको झोला बोकेर सार्वजनिक तथा सरकारी जग्गा हत्याइयो । अहिले तिनै रास्वपा बनेका छन् ।

पार्टी फेर्ने, बचिरहने । नेमकिपाबाट फाइदा लिएकाहरु अहिले घण्टी बनिसकेका छन् । यसरी सरकारी सम्पत्ति स्वाहा पारिएको छ । भोटका लागि सरकारी सम्पत्ति कब्जा गर्नेहरुलाई जोगाइरहने हो भने सरकारी सम्पत्ति कसरी फिर्ता आउँछ ? सरकारी सम्पत्ति हत्याउनेहरु कसरी कानुनको दायरामा आउँछन् । सूर्यविनायक नगरपालिका ५ का वडाध्यक्ष राजकुमार जोशीले सुशिल भैरव थानको मन्दिरको जमिन मिचेर घर बनाएका छन् ।

श्याम जोशी र प्रेम जोशीले पनि उनीसँगै मन्दिरको जग्गा हड्पेका छन् । सुशील भैरव थान तल्तिर रहेको ढुंगेधारा गायब छ । सबै मासेर घर ठड्याइएको छ । सरकारलाई सरकारी तथा सार्वजनिक जग्गा फिर्ता ल्याउनमा चासो छैन । भूमिसुधारमन्त्री प्रतिभा रावल सबै सुकुम्बासीलाई जग्गा बाँड्छौं भन्दै हिँडेकी छिन् । आनाको २० लाखदेखि ५० करोड पर्ने जग्गा दिइँदैछ ।
भोटका लागि यो सरकारले पनि जग्गा बाँड्दैछ । सुकुम्बासीलाई जग्गा बाँड्ने होइन, रोजगारी दिने हो । सस्तो ब्याजमा कर्जा दिने हो । विदेश पठाउने हो । सित्तैमा जग्गा पाउने भएपछि कसले काम गर्छ ? त्यो जग्गा बेच्छन्, फेरि अर्को ठाउँमा सुकुम्बासी बन्न जान्छन् । सरकार काम गर्न नसिकाउने, जग्गा बाँड्ने । २०४६ सालअघिका दलहरुले राजाले देश सकाए ।
जनतालाई केही दिएनन् । स्वीस बैंकमा लगेर पैसा लुकाए भन्ने आरोप लगाए । जनता उचालेर सडकमा उतारे । नेताहरुले के गरे ? किन राजाको पैसा ल्याउन सकेनन् ? राजनीतिक दल आएपछि देशभरको सरकारी जग्गा व्यक्तिको नाममा गयो । नेपालको भूमि पनि छिमेकीबाट मिचिएको छ । वैदेशिक ऋण ल्याएर देश खोक्रो पारियो । राजनीतिक दलले यसरी देश सकाए ।

अहिले रास्वपाको सरकारले पनि त्यही गर्दैछ । ३५ वर्ष काँग्रेस, एमाले, माओवादी, मधेशी दलले केही गरेन भन्ने आरोप लगाइयो । जनताले रास्वपालाई दुईतिहाई नजिक जनमत दिए । नेमकिपालाई हराएर रास्वपाले चुनाव जित्यो । रास्वपाले चुनाव जितेपछि सरकारी सम्पत्ति सरकारकै नाममा आउँछ भन्ने जनताको अपेक्षा थियो । तर, उल्टो करिडोर खोल्नका पाँच करोड हालियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *