तीव्रखबर
काठमाडौं । नेपालमा सेप्टेम्बर २०२६ मा विदेशी पर्यटक आगमनमा उल्लेख्य वृद्धि भएको छ । नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार सेप्टेम्बरमा ८८ हजार २४८ विदेशी पर्यटक नेपाल आएका छन् । यो संख्या अघिल्लो वर्षको सोही महिनाको तुलनामा १२.१ प्रतिशत बढी हो । सेप्टेम्बर २०२५ मा ७८ हजार ७११ विदेशी पर्यटक नेपाल आएका थिए ।
क्षेत्रगत रूपमा हेर्दा सबैभन्दा धेरै पर्यटक दक्षिण एसियाली मुलुकबाट आएका छन् । सेप्टेम्बरमा दक्षिण एसियाबाट मात्रै ३० हजार ८५ पर्यटक नेपाल आएका छन् । यो कुल पर्यटक आगमनको ३४.१ प्रतिशत हो । अघिल्लो वर्षको सोही महिनामा दक्षिण एसियाबाट २४ हजार २८५ पर्यटक आएका थिए । यस क्षेत्रमा पर्यटक आगमन २३.९ प्रतिशतले बढेको छ । दक्षिण एसियामा सबैभन्दा धेरै पर्यटक भारतबाट आएका छन् । भारतबाट १७ हजार ४२५ पर्यटक नेपाल आएका छन्, जुन अघिल्लो वर्षको १५ हजार ५५६ को तुलनामा १२ प्रतिशत बढी हो । त्यस्तै श्रीलंकाबाट ७ हजार १०८, बंगलादेशबाट ३ हजार ९६४, भुटानबाट १ हजार १११ र पाकिस्तानबाट ४२९ पर्यटक आएका छन् । श्रीलंकाबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ५४ प्रतिशतभन्दा बढीले बढेको छ ।
एसियाका अन्य मुलुकबाट पनि पर्यटक आगमनमा ठूलो वृद्धि देखिएको छ। यस क्षेत्रबाट १९ हजार ८८८ पर्यटक नेपाल आएका छन्, जुन कुल आगमनको २२.५ प्रतिशत हो । अघिल्लो वर्षको १२ हजार ५९० को तुलनामा यो संख्या ५८ प्रतिशतले बढी हो। चीनबाट मात्रै ११ हजार २१२ पर्यटक आएका छन् । चीनबाट आउने पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी भएको छ । जापानबाट २ हजार ६६, मलेसियाबाट १ हजार ८७७ र दक्षिण कोरियाबाट १ हजार ४१२ पर्यटक आएका छन् ।
युरोपबाट भने पर्यटक आगमनमा कमी आएको छ। सेप्टेम्बरमा युरोपेली मुलुकबाट १५ हजार १४८ पर्यटक नेपाल आएका छन्। अघिल्लो वर्षको १६ हजार ५९७ को तुलनामा यो ८.७ प्रतिशत कम हो। बेलायतबाट ३ हजार ७२५, जर्मनीबाट १ हजार ९७४, फ्रान्सबाट १ हजार ३८९, स्पेनबाट १ हजार १२० र रुसबाट १ हजार १४३ पर्यटक आएका छन् । बेलायत र जर्मनीबाट आउने पर्यटकमा उल्लेख्य कमी देखिएको छ।
ओसिनिया क्षेत्रबाट आउने पर्यटक पनि घटेका छन्। अष्ट्रेलिया र न्युजिल्यान्डसहित यस क्षेत्रबाट ५ हजार ४२२ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २५.९ प्रतिशत कम हो। अष्ट्रेलियाबाट ४ हजार ८४२ र न्युजिल्यान्डबाट ५८० पर्यटक आएका छन्।
अमेरिकी महादेशबाट पनि पर्यटक आगमन १२.३ प्रतिशतले घटेर १० हजार १०७ मा झरेको छ। अमेरिकाबाट ८ हजार २९९, क्यानडाबाट १ हजार २२४, ब्राजिलबाट ३१८ र मेक्सिकोबाट २६६ पर्यटक नेपाल आएका छन्। मध्यपूर्वबाट भने आगमन १२ प्रतिशतले बढेर २ हजार ६०६ पुगेको छ। इजरायलबाट मात्रै १ हजार ९५७ पर्यटक आएका छन् । अफ्रिकाबाट ४२४ पर्यटक आएका छन्, जुन अघिल्लो वर्षको तुलनामा २३.३ प्रतिशत बढी हो। अन्य वर्गमा ४ हजार ५६८ पर्यटक रहेको पर्यटन बोर्डको तथ्यांकमा उल्लेख छ ।
प्रतिक्रिया