तीव्रखबर
अवैध लागूऔषध सहित ६ जना पक्राउ
काठमाडौं / काठमाडौं, कागेश्वरी मनोहरा नगरपालिका-६ मुलपानीबाट अवैध लागूऔषध गाँजा करिब ६ सय ग्राम सहित सोही ठाउँ बस्ने सिन्धुपाल्चोक घर भएका २६ वर्षीय रोजन सुनारलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी बिट मुलपानीबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
सिन्धुली, दुधौली नगरपालिका-७ पोखरेबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ५ ग्राम ३ मिलिग्राम सहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सप्तरी छिन्नमस्ता गाउँपालिका-४ बस्ने ३२ वर्षीय कृष्ण कुमार यादव र २१ वर्षीय देबेन्द्र यादव रहेका छन् । प्रहरी चौकी दुधौलीबाट खटिएको प्रहरीले इटहरीबाट काठमाडौंतर्फ जाँदै गरेको बा.प्र.०१-००७ ख १४५३ नम्बरको हायसलाई जाँच गर्ने क्रममा हायसमा सवार उनीहरूलाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
सप्तरी, सप्तकोशी नगरपालिका-२ बाट अवैध लागूऔषध गाँजा करिब ९ किलो २ सय ७५ ग्राम सहित ३ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कञ्चनरूप नगरपालिका-८ बस्ने २८ वर्षीय शिव नारायण यादव, महादेवा गाउँपालिका-३ बस्ने २३ वर्षीय ललित कुमार यादव र सप्तकोशी नगरपालिका-१० बस्ने ४८ वर्षीय उपेन्द्र यादव रहेका छन् । प्रहरी चौकी फत्तेपुर समेतबाट खटिएको प्रहरीले फत्तेपुरबाट कञ्चनपुरतर्फ जाँदै गरेको प्र.३-०२-००८प ७०४८ नम्बरको मोटरसाइलमा सवार उनीहरूलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
भरूवा बन्दुक बरामद
रूकुम पूर्व / भुमे गाउँपालिका-७ स्थित उन्नेरी वनको ओढारबाट भरूवा बन्दुक १ थान बुधबार बिहान प्रहरीले बरामद गरेको छ । अस्थायी प्रहरी पोष्ट महतबाट खटिएको प्रहरीले उक्त बन्दुक फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
सवारी दुर्घटनामा दुई जनाको मृत्यु
काठमाडौं / रौतहट, गढीमाई नगरपालिका-७ धरमपुरस्थित सडकमा ना.६ त ८४९२ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने छोटेलाल यादवका छोरा ६ वर्षीय रितिक यादवको बुधबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको बेटर नेपाल अस्पताल गरूडामा उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले हाल फरार ट्याक्टर चालकको खोजी गरिरहेको छ ।
रूपन्देही, मायादेवी गाउँपालिका-६ बेथरीस्थित सडकमा अमुवाबाट बेथरीतर्फ आउँदै गरेको म.प्र ०३-०२८ प ८१५० नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाही धनकौल गाउँपालिका-५ हरकथवा घर भएका ४० वर्षीय धिरज कुमार झाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिटी अस्पताल भैरहवामा उपचारको क्रममा मृत्यु भएको हो ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
स्याङ्जा / अर्जुनचौपारी गाउँपालिका-५ आरचौर बस्ने ३४ वर्षीया शान्ती सिग्देलको करेन्ट लागेर बुधबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा फ्रिज सफा गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको प्राथमिक स्वास्थ्य चौकी हुँदै गण्डकी अस्पताल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
बाँके / डुडुवा गाउँपालिका-४ स्थित सिधनिया घाटमा हाल नाम, थर र वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष बुधबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
इलाम / इलाम नगरपालिका-११ सिम्ले सोयाक बस्ने ५१ वर्षीय खेमराज कटेलको भान्साघर र गोठमा मंगलबार राति आगलागी हुँदा करिब १ लाख ५० हजार रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
अवैध लागूऔषध सहित विभिन्न स्थानबाट २३ जना पक्राउ
काठमाडौं / काठमाडौं महानगरपालिका-१४ कलंकीस्थित भेरी कर्णाली गेष्ट हाउसबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ८० मिलिग्राम सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा बाँके कोहलपुर नगरपालिका-२ रजेना बस्ने २५ वर्षीय करण राज अधिकारी र सोही नगरपालिका-११ बस्ने २५ वर्षीय मिन बहादुर रोकाय रहेका छन् । प्रहरी प्रभाग कलंकीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यसैगरी काठमाडौं महानगरपालिका-९ रातोपुल नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ५ सय ६० ट्याब्लेट सहित २ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौं सिनामंगल बस्ने उदयपुर चौदण्डीगढी नगरपालिका-९ गाईघाट घर भएका २५ वर्षीय मनोज कार्की र काठमाडौं मैतीदेवी बस्ने रामेछाप मन्थली नगरपालिका-४ घर भएका २२ वर्षीय अजय रेग्मी मगर रहेका छन् । प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको बा.५४ प ९३४९ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
बाँके, नेपालगंज उपमहानगरपालिका-२ स्थित एक होटलबाट अवैध लागूऔषध खेरो हेरोइन ८ सय ८ ग्राम सहित ३ जनालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बहराईच घर भएका २१ वर्षीय रिजवान अहमद इदरीशी, २६ वर्षीय रफत खान र १८ वर्षीय किशोर रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगंज समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो । साथै प्रहरीले उनीहरूले प्रयोग गरेको युपि ३२ एफएच २६७९ नम्बरको स्कुटर समेत बरामद गरेको छ ।
यसैगरी बाँके, नेपालगंज उपमहानगरपालिका-१५ जमुना चेक पोष्ट नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय ६० मिलिग्राम सहित रूकुम पश्चिम मुसिकोट नगरपालिका-३ बस्ने २३ वर्षीय बिरेन्द्र केसीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कास्की, पोखरा महानगरपालिका-१७ घारिपाटनबाट नियन्त्रित लागूऔषध नोर्फिन १० एम्पुल, फेनारगन १० एम्पुल र डाईजेपाम १० एम्पुल सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३५ वर्षीया मिना मल्ल र सोही महानगरपालिका-१७ बिरौटा बस्ने २५ वर्षीय सवन गुरूङ रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कास्की समेतबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
दाङ, घोराही उपमहानगरपालिका-१५ रतनपुर बस्ने २२ वर्षीय सुरेश चौधरीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ सय मिलिग्राम सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय घोराहीबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी पक्राउ गरेको हो ।
सुनसरी, धरान उपमहानगरपालिका-१६ मुस्कानचोकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १ सय ट्याब्लेट सहित सोही ठाउँ बस्ने ३५ वर्षीय निकेश रितेश तामाङलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट धरानबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
धनुषा, जनकपुरधाम उपमहानगरपालिका-२३ बसपार्क नजिकबाट नियन्त्रित लागूऔषध ट्रामाडोल १४ हजार ५ सय ट्याब्लेट, नाइट्राजेपाम ८ सय ५० ट्याब्लेट, डाईजेपाम १ हजार ४ सय ५० एम्पुल र प्रोमेथाजाइन ९ सय ९० एम्पुल सहित महोत्तरी पिपरा गाउँपालिका-५ सहोरबा बस्ने ४३ वर्षीय बिजय कुमार साहलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धनुषा समेतबाट खटिएको प्रहरीलाई देख्नासाथ ज.उ.म.न.पा.१ ख ०१०८८ नम्बरको अटोमा सवार व्यक्तिहरू भागी फरार भएपश्चात अटो तलासी गर्दा उक्त लागूऔषध फेला पारी चालक बिजय कुमारलाई पक्राउ गरेको हो ।
भक्तपुर, भक्तपुर नगरपालिका-१० स्थित कालिका डेरी नजिकैबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ८० ट्याब्लेट सहित चाँगुनारायण नगरपालिका-५ छालिङ बस्ने २१ वर्षीय राजिब नेपालीलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध सहित पक्राउ गरेको हो ।
बर्दिया, बढैयाताल गाउँपालिका-७ पडरियाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ ग्राम ६० मिलिग्राम सहित सोही गाउँपालिका-३ सिमरा बस्ने २१ वर्षीय राजेश चौधरी समेत २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मैनापोखर समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
कञ्चनपुर, भीमदत्त नगरपालिका-१२ ओदालीबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ३० मिलिग्राम सहित सोही ठाउँ बस्ने २२ वर्षीय गगन जैशी समेत २ जनालाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी झोलुङ्गेबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
झापा, दमक नगरपालिका-५ बाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ३ सय ७० मिलिग्राम सहित सोही नगरपालिका-८ बस्ने २५ वर्षीय सुधिर शर्मालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । साथै थप अनुसन्धानको क्रममा उक्त लागूऔषध सोही नगरपालिका-४ पिपलटोल बस्ने ३३ वर्षीय अनित राईसँग खरिद गरेको भन्ने खुल्न आएपश्चात प्रहरीले अनितलाई अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय ७० मिलिग्राम सहित पक्राउ गरेको छ ।
सिराहा, सिरहा नगरपालिका-१४ खिरौनाबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ ग्राम २ सय ५० मिलिग्राम सहित मिर्चैया नगरपालिका-११ गदहवा टोल बस्ने २४ वर्षीय मुकेश कुमार यादवलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सिराहा समेतबाट खटिएको प्रहरीले स. ६ प ३८०१ नम्बरको मोटरसाइकलमा सवार उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
सुर्खेत, भेरीगंगा नगरपालिका-५ बबई पुलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो दिखिने पदार्थ ८ ग्राम ७ सय ७० मिलिग्राम सहित वीरेन्द्रनगर नगरपालिका-८ बस्ने ३० वर्षीय सन्तोष क्षेत्री समेत २ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी बिट बबईबाट खटिएको प्रहरीले कर्णाली प्रदेश ०१-००२ ज ०८६१ नम्बरको इभी गाडीमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
जापान पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
काठमाडौं / वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने NEEM EDUCATION CONSULTANCY PVT. LTD. का संचालक रामेछाप लिखु तामाकोशी गाउँपालिका-१ घर भएका २६ वर्षीय दिप बहादुर तामाङलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।
दिप बहादुरले जापान पठाइदिन्छु भन्दै १५ जना पीडितहरूबाट १ करोड १ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनलाई ललितपुर महालक्ष्मी नगरपालिका-५ बाट पक्राउ गरेको हो ।
उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीहरू पक्राउ
काठमाडौं / बैंकिङ कसुर मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका-३ बस्ने सर्लाही हरिवन नगरपालिका-११ घर भएका ४७ वर्षीय रामजी ठाकुर र काठमाडौं महानगरपालिका-९ बस्ने चितवन भरतपुर महानगरपालिका-११ घर भएका ४० वर्षीय सन्तोष पाण्डे रहेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले जिल्ला अदालत भक्तपुरको २०८२ वैशाख ७ गतेको फैसलाले उक्त मुद्दामा २ वर्ष कैद सजाय ठहर भई फरार रहेका रामजीलाई काठमाडौं महानगरपालिका-१३ कालीमाटीबाट र जिल्ला अदालत चितवनबाट उक्त मुद्दामा पक्राउ पूर्जी जारी भई फरार रहेका सन्तोषलाई ललितपुर महानगरपालिका-३ धोवीघाटबाट पक्राउ गरेको हो ।
पक्राउ मध्ये रामजीलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत भक्तपुरमा पेश गरिएको छ भने सन्तोषलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय चितवन पठाइएको छ ।
जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
पाँचथर / २९ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा तुम्बेवा गाउँपालिका-५ बस्ने ४४ वर्षीय जिबन राईलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
जिबनले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
करेन्ट लागेर मृत्यु
चितवन / कालिका नगरपालिका-९ शक्तिखोर सम्फरा बस्ने ३८ वर्षीय मनिराज चेपाङको करेन्ट लागेर मंगलबार राति मृत्यु भएको छ ।
आफ्नै घरमा विद्युत लाईनको काम गरिरहेको अवस्थामा करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारको लागि स्थानीय बिबेक मेडिकलतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट
सप्तरी / राजविराज नगरपालिका-१२ विसहरीया बस्ने रामु रजकको घरमा गए राति आगलागी हुँदा करिब १० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
काठमाडौं / तारकेश्वर नगरपालिका-८ फुटुङ बस्ने राजु भारतीको घरबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ६ लाख रूपैयाँ बराबरको धनमाल मंगलबार साँझ चोरी भएको छ ।
यसैगरी काठमाडौं महानगरपालिका-१५ तुल्सीधारा डेरा गरी बस्ने रामेछाप लिखु तामाकोशी गाउँपालिका-४ घर भएकी २८ वर्षीया साबित्रा मगरको कोठाबाट सुनका विभिन्न गरगहना र नगद समेत गरी करिब ७ लाख ६३ हजार रूपैयाँ बराबरको धनमाल मंगलबार बेलुकी चोरी भएको छ ।
प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया