तीव्रखबर
काठमाडौं — राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ता लिइएको घटनाप्रति प्रतिनिधि सभा बैठकमा आपत्ति जनाएकी छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा बोल्दै बास्कोटाले आईसीयू जटिल अवस्थाका बिरामीको उपचारका लागि छुट्याइएको अत्यन्त संवेदनशील क्षेत्र भएकाले त्यहाँ क्यामेरा, क्यामेराम्यान र अन्तर्वार्ताकार पुग्नु गम्भीर विषय भएको बताइन्।
भोटेकोशी बाढीपछि नुवाकोटको किस्पाङ गाउँपालिकास्थित त्रिशूली थ्री ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा १० दिनसम्म थुनिएका फोरम्यान सन्तोष साह र सुपरभाइजर कवीर महर्जनलाई गत भदौ १९ गते उद्धार गरिएको थियो। उद्धारपछि उनीहरूलाई उपचारका लागि काठमाडौं ल्याई वीरेन्द्र सैनिक अस्पतालको आईसीयूमा राखिएको थियो।
उनीहरू उपचाररत रहेकै अवस्थामा युट्युबर सुरजसिंह ठकुरीले आईसीयूभित्र लिएको अन्तर्वार्ताको भिडियो दुई दिनअघि सार्वजनिक भएको थियो। उक्त अन्तर्वार्ता जंगी अड्डा, भद्रकालीको अनुमतिमा लिइएको बताइएको छ।
घटनाबारे प्रश्न उठाउँदै बास्कोटाले आईसीयूमा बिरामीका आफन्तलाई समेत निश्चित समय र चिकित्सकीय प्रोटोकलअनुसार मात्रै प्रवेश दिइने अवस्थामा अन्तर्वार्ताका लागि क्यामेरा टोली पुग्नु गम्भीर विषय भएको बताइन्।
उनले आईसीयूमा अन्तर्वार्ता लिँदा त्यहाँ रहेका अन्य बिरामीको स्वास्थ्यमा समेत असर परेको हुनसक्ने भन्दै त्यसको औचित्यमाथि प्रश्न गरिन्।
“मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट, अन्तर्वार्ता र भ्युज हुँदैन।”
बास्कोटाले मानव जीवनलाई टीआरपी वा भ्युजसँग तुलना गर्न नहुने बताउँदै आईसीयूमा अन्तर्वार्ता लिनु गलत भएको निष्कर्ष सुनाइन्।
“मानवको जीवनलाई कुनै पनि अवस्थामा टीआरपीमा तुलना गर्न मिल्दैन। आईसीयूमा अन्तर्वार्ता बिलकुल गलत हो। यसलाई नियमन गर्न हामीले कानुन ल्याउनै पर्छ।”
आईसीयूमा उपचाररत बिरामीको अन्तर्वार्ताको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा समेत यसको औचित्य र मानवीय संवेदनशीलतामाथि प्रश्न उठिरहेका छन्। बास्कोटाले भने घटनालाई कानुनी नियमनको आवश्यकतासँग जोडेर संसद्मा उठाएकी हुन्।
प्रतिक्रिया