September 11, 2026, 12:43 pm
» ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा » बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै » नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार » जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने » माछा मार्ने क्रममा चौधरीको मृत्यु

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीलाई बर्खास्त गर्न सरकारसँग खगेन्द्र सुनारको माग

भदौ २६, २०८३ मा प्रकाशित | ६०४ दर्शक तीव्रखबर

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीमाथि करोडौं भ्रष्टाचारको आरोप लागेकाले तत्काल छानबिन गरी पदबाट बर्खास्त गर्न सरकारसँग माग गरेका छन्।

शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सुनारले सामान्य आरोप लाग्दासमेत तीन जना मन्त्रीहरू पदमुक्त भइसकेको अवस्थामा गम्भीर भ्रष्टाचारको आरोप लागेका प्रहरी प्रमुखमाथि सरकार मौन बसेको भन्दै कडा प्रश्न उठाए।

“सामान्य आरोपको भरमा अहिलेसम्म तीन जना मन्त्रीहरू बर्खास्त भइसक्नुभएको छ। तर अहिलेका नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, उनकी श्रीमती लगायतका उच्च अधिकारीहरूमाथि करोडौँ भ्रष्टाचार गरेको गम्भीर आरोप लागेको छ,” सांसद सुनारले भने, “उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सार्वजनिक लेखा समितिसम्म उजुरीको चाङ लागेको छ। तल्लो दर्जाका प्रहरीहरूको जुत्ता–मोजासमेत खाइदिएको आरोप उनीमाथि छ।”

सांसद सुनारले करोडौँ भ्रष्टाचारको गम्भीर आरोप लाग्दा पनि सरकारले उनलाई बर्खास्त नगरेको र छानबिन प्रक्रिया अघि नबढाएकोमा आपत्ति जनाउँदै यसको कारणबारे संसद्‌मा स्पष्ट पार्न माग गरे।

“सरकारले उनलाई बर्खास्त किन गरिरहेको छैन? उनीमाथि छानबिन किन भइरहेको छैन? के कारणले उनलाई बचाइराखिएको छ? बाबुलाई छोरीको र पुलिसलाई चोरीको आरोप लाग्नु निकै गम्भीर विषय हो,” उनले भने।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *