तीव्रखबर
काठमाडौं। भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा मातृ तथा बाल स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विशेषज्ञ चिकित्सकको टोली खटाएको छ।
मन्त्रालयले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र कान्ति बाल अस्पतालका विशेषज्ञ चिकित्सकहरूलाई नुवाकोट र रसुवाका प्रभावित क्षेत्रमा परिचालन गरेको हो।
प्रभावित स्थानहरूमा पहिलेदेखि नै स्वास्थ्य टोली खटिएर सेवा दिइरहेको भए पनि मातृ, नवजात शिशु, बालबालिका तथा प्रजनन स्वास्थ्यसम्बन्धी विशेषज्ञ सेवाको थप आवश्यकता देखिएकाले यो कदम चालिएको मन्त्रालयले जनाएको छ।
खटाइएको टोलीमा कान्ति बाल अस्पतालकी बालरोग विशेषज्ञ डा. बिना प्रजापति तथा परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञहरू डा. हरिकुमार श्रेष्ठ र डा. श्रीराम खड्का रहेका छन्।
उक्त विशेषज्ञ टोलीले नुवाकोट र रसुवाका बाढी प्रभावित क्षेत्रमा पुगेर आवश्यकताअनुसार मातृ तथा नवजात शिशु, बालबालिका र प्रजनन स्वास्थ्यसम्बन्धी प्रत्यक्ष सेवा प्रदान गर्नेछ। टोलीसँगै अत्यावश्यक औषधि तथा स्वास्थ्य सामग्रीसमेत पठाइएको मन्त्रालयले बताएको छ।
प्रतिक्रिया