September 11, 2026, 12:43 pm
» ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा » बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै » नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार » जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने » माछा मार्ने क्रममा चौधरीको मृत्यु

चिलिमे सुरुङभित्रबाट आयो आवाज! १२० मिटर गहिराइमा उद्धारको आशा बलियो

भदौ २६, २०८३ मा प्रकाशित | ९०४ दर्शक तीव्रखबर

काठमाडौं, । रसुवास्थित चिलिमे जलविद्युत केन्द्रको भूमिगत विद्युतगृहमा फसेका कर्मचारीहरूको खोजी तथा उद्धार कार्य तीव्र रूपमा अगाडि बढाइएको छ। उद्धारस्थलमा पुग्नुभएका उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं चिलिमे जलविद्युत कम्पनीका पूर्व प्रबन्ध–निर्देशक कुलमान घिसिङले प्राविधिक समन्वय र सहजीकरण गरिरहनुभएको छ।  

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै घिसिङले विद्युतगृह जाने मुख्य पहुँच सुरुङमा थुप्रिएको ठूलो परिमाणको लेदो, बालुवा र ढुङ्गा पन्छाउने काम निरन्तर भइरहेको जनाउनुभएको छ। सुरुङको साँघुरिएको स्थानबाट करिब १२० मिटर भित्र आवाज पठाउँदा प्रतिध्वनि (ईको) सुनिएको र चिसो हावासमेत आइरहेकाले भित्र फसेका व्यक्तिहरू सकुशल नै रहेको आशा र अनुमान गरिएको छ। अब विद्युत्‌गृहसम्म पुग्न करिब १०० मिटर मात्रै बाँकी रहेको जनाइएको छ।

उद्धार कार्यलाई थप तीव्र बनाउन स्याफ्रुबेँसीतर्फबाट सुरुङसम्म पुग्ने बाटो निर्माणको काम द्रुत गतिमा भइरहेको छ। आजसम्ममा एक्स्काभेटर सुरुङस्थलमा पुग्ने र त्यसपछि लोडर तथा एक्स्काभेटरको प्रयोग गरी उद्धार कार्य थप प्रभावकारी हुने अपेक्षा गरिएको छ।
यस संवेदनशील उद्धार कार्यमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, भारतीय सेनाको विज्ञ उद्धार टोली, स्थानीय प्रशासन तथा चिलिमेका कर्मचारीहरू अहोरात्र खटिएका छन्। उद्धारमा खटिएका सम्पूर्ण सुरक्षा निकाय र प्राविधिक टोलीप्रति आभार व्यक्त गर्दै घिसिङले सुरुङभित्र फसेका सबैको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *