तीव्रखबर
काठमाडौं — नेपाली हिन्दू धर्मावलम्बीहरूले आज कुशे औँसी पर्व श्रद्धापूर्वक मनाउँदै छन्। प्रत्येक वर्ष भाद्र कृष्ण औँसीका दिन मनाइने यस पर्वमा घर–घरमा धार्मिक तथा सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने कुश भित्र्याउने गरिन्छ।
कुशे औँसीका अवसरमा बिहानै स्नान गरी पूजा–आराधना गर्ने तथा पुरोहितबाट कुश ग्रहण गर्ने परम्परा छ। हिन्दू संस्कारमा कुशलाई पवित्र मानिन्छ र विभिन्न धार्मिक कार्यमा यसको प्रयोग गरिन्छ।
यसै दिन बुबाको मुख हेर्ने दिनका रूपमा पनि मनाइन्छ। टाढा रहेका छोराछोरीहरू घर फर्किएर बुबालाई मिठाई, फलफूल, कपडा तथा अन्य उपहार दिने र आशीर्वाद लिने गर्छन्। बुबा नहुनेहरूले भने उहाँको सम्झनामा श्रद्धाञ्जली तथा धार्मिक कार्य गर्ने चलन रहेको छ।
कुशे औँसीले नेपाली समाजमा धार्मिक आस्था, पारिवारिक प्रेम र बुबाप्रतिको सम्मानलाई थप बलियो बनाउने विश्वास गरिन्छ।
प्रतिक्रिया