September 11, 2026, 11:55 am
» ब्रिक्स सम्मेलनमा भाग लिन पुटिन दिल्लीमा » बाढीपछि स्वास्थ्य क्षेत्रको आवश्यकता र पुनःस्थापनाबारे विस्तृत मूल्याङ्कन गरिँदै » नेप्से २७.९४ अंकले बढ्यो, ४ अर्ब ३६ करोडको कारोबार » जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउन एकीकृत योजना बनाइने » माछा मार्ने क्रममा चौधरीको मृत्यु

सरकारविरुद्ध डा. गोविन्द केसीको २४औँ सत्याग्रह आजदेखि

साउन ७, २०८३ मा प्रकाशित | ८३०४ दर्शक तीव्रखबर

काठमाडौँ — चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका अभियन्ता प्रा.डा. गोविन्द केसीले आफ्ना पुराना सम्झौता कार्यान्वयन र स्वास्थ्य शिक्षा सुधारका मागसहित आजदेखि २४औँ सत्याग्रह सुरु गर्ने भएका छन्। उनले कैलालीको धनगढीस्थित कृष्ण मन्दिर धर्मशालामा दिउँसो ३ बजेदेखि अनसन बस्ने घोषणा गरेका छन्।

सत्याग्रहको पूर्वसन्ध्यामा जारी विज्ञप्तिमा डा. केसीले सरकारले विगतमा भएका सम्झौता र आफ्ना मागहरू कार्यान्वयनमा बेवास्ता गरेको आरोप लगाएका छन्। उनले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रमा निजी स्वार्थ र व्यापारिक प्रभाव बढ्दै गएको उल्लेख गर्दै चिकित्सा शिक्षा र स्वास्थ्य सेवा विशुद्ध गैरनाफामूलक सार्वजनिक सेवाका रूपमा सञ्चालन हुनुपर्ने बताएका छन्।

उनका अनुसार ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५’ ले २०८५ सालभित्र चिकित्सा शिक्षा क्षेत्रलाई पूर्ण रूपमा गैरनाफामूलक बनाउने व्यवस्था गरे पनि त्यसको प्रभावकारी कार्यान्वयनतर्फ सरकारले आवश्यक पहल नगरेको छ।

डा. केसीले न्यूनतम मापदण्ड र पूर्वाधार पूरा नगरेका निजी मेडिकल, डेन्टल तथा नर्सिङ कलेजलाई प्राथमिकता दिइएको तथा छात्रवृत्ति सिट घटाएर सशुल्क सिट बढाउने तयारी भइरहेको भन्दै आपत्ति जनाएका छन्। यस्तो निर्णयले ग्रामीण स्वास्थ्य सेवा तथा आर्थिक रूपमा विपन्न विद्यार्थीहरूको अवसरमा नकारात्मक असर पर्ने उनको भनाइ छ।

यस्तै, उनले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष नियुक्ति प्रक्रिया निष्पक्ष नभएको र स्वार्थ बाझिने व्यक्तिलाई नेतृत्वमा ल्याउने प्रयास भएको आरोप लगाएका छन्। यसले आयोगको स्वायत्तता तथा नागरिकको स्वास्थ्य अधिकारमा असर पर्ने उनको दाबी छ।

विज्ञप्तिमा गेटा मेडिकल कलेज सञ्चालनको अन्तिम तयारी भइरहेका बेला विश्वविद्यालयसम्बन्धी ऐनमार्फत विवादास्पद प्रावधान ल्याउन खोजिएको उल्लेख गरिएको छ। अन्य प्रदेशका सरकारी स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा आइसके पनि गेटा मेडिकल विश्वविद्यालय राजनीतिक हस्तक्षेप र व्यापारिक स्वार्थका कारण अझै सञ्चालनमा आउन नसकेको डा. केसीको आरोप छ।

डा. केसीले स्वास्थ्य तथा चिकित्सा शिक्षा क्षेत्रलाई पारदर्शी, गुणस्तरीय र सर्वसुलभ बनाउन सरकारले तत्काल आवश्यक कदम चाल्नुपर्ने माग दोहोर्‍याएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *