तीव्रखबर
काठमाडौँ — बलिउड अभिनेता रणवीर सिंह अभिनीत पछिल्लो फिल्म ‘धुरन्धर’ ले प्रदर्शनको मात्र १७ दिनमै विश्वभरबाट ८०५ करोड भारु कमाई गर्दै उनका करियरकै सबैभन्दा सफल फिल्म बन्ने कीर्तिमान कायम गरेको छ। यससँगै रणवीरको सन् २०१८ मा रिलिज भएको सुपरहिट फिल्म ‘पद्मावत’ को रेकर्ड पनि तोडिएको छ।
दोस्रो हप्ताको शनिबार ३४ करोड र आइतबार ३८ करोडभन्दा बढी कमाई गर्दै फिल्मले हलहरूमा आफ्नो बलियो पकड कायम राखेको छ। यस व्यापारिक रफ्तारलाई हेर्दा ‘धुरन्धर’ सन् २०२५ को सर्वाधिक कमाउने फिल्म बन्ने सम्भावना बलियो देखिएको छ।
हालसम्म ८५० करोड भारु सङ्कलन गरेको कन्नड फिल्म ‘कान्तारा : द लिजेन्ड–च्याप्टर १’ यस वर्षको शीर्ष स्थानमा रहे पनि ‘धुरन्धर’ दोस्रो स्थानमा उक्लिएको छ। यद्यपि हिन्दी भाषाका फिल्महरूमध्ये भने यो पहिलो स्थानमा छ।
अन्य प्रमुख फिल्महरूको सूचीमा विकी कौशल अभिनीत ‘छावा’ ७९७ करोडसहित तेस्रो र ‘सैयारा’ चौथो स्थानमा छन्। भारतभित्र मात्रै ‘धुरन्धर’ ले ५५५ करोडभन्दा बढीको व्यापार गरिसकेको छ।
फिल्मको ठूलो सफलतापछि निर्माण पक्षले यसको दोस्रो भाग ‘धुरन्धर २’ आगामी सन् २०२६ मार्च १९ गते रिलिज गर्ने घोषणा पनि गरेको छ।
प्रतिक्रिया