हुम्ला – जिल्लाभरका शिक्षकहरूको आन्दोलन जारी छ। शिक्षक आन्दोलनमा जाँदाा सम्पुर्ण विद्यालयमा पठनपाठन ठप्प भएको हो। शिक्षक महासंघको आयोजनामा भइरहेको आन्दोलनलाई समर्थन गर्दै शिक्षकहरूले विद्यालय बन्द गरेर दुई दिनयता आन्दोलन सुरु गरेको नेपाल शिक्षक संघ हुम्लाका अध्यक्ष जुनराज हमालले जानकारी दिए।
हुम्लाबाट सबै शिक्षक काठमाडौं गएर आन्दोलनमा सहभागिता जनाउन सम्भव नहुने देखिएपछि जिल्लामै आन्दोलन सुरु गरिएको हो।
आन्दोलनको पहिलो र दोस्रो दिन शिक्षक महासंघ हुम्लाको आयोजनामा विरोध र्याली, गाउपालिकाको कार्यालय, शिक्षा बिकास तथा समन्वय एकाईमा धर्ना र कोणसभा आयोजना गरिएको छ। दुवै दिन आन्दोलित शिक्षकहरूले सिमकोट बजारमा बिरोध र्याली निकाल्दै बजार परिक्रमासमेत गरेका थिए।
यो विरोध कार्यक्रम सिमकोट गाउँपालिका मात्र नभएर अन्य ६ वटा नाम्खा, खार्पुनाथ, सर्केगार्ड, चंखेली, अदानचुली र ताँजाकोट गाउँपालिकामा गरिएको छ।
शिक्षक महासंघको माग पुरा नभएसम्म जान्दोलन हुम्लामा पनि जारी रहने नेपाल शिक्षक संगठनका अध्यक्ष सिंहबहादुर जेठाराले बताए।
आर्थिक रुपमा सबै शिक्षक काठमाडौं गएर आन्दोलनमा सहभागिता जनाउन नसकिने देखिएपछि जति दिन काठमाडौंमा आन्दोलन हुन्छ त्यति दिन नै हुम्लामा पनि आन्दोलन जारी रहने उनको भनाइ छ।
यो आन्दोलनमा महासंघमा आबद्ध शिक्षक संगठन नेपाल शिक्षक संघ, नेपाल शिक्षक संगठन र एकीकृत राष्ट्रिय शिक्षक संगठनका सदस्यहरूको सहभागिता थियो।
जिल्लाबाट तीस जना शिक्षक राजधानी काठमाडौं गएर आन्दोलनमा सहभागिता जनाइरहेका छन्। हुम्लाका १४१ वटा सामुदायिक विद्यालयमा पठनपाठन भने पूर्ण रुपमा बन्द भएको प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले बताए।
मुख्य पठनपाठन हुने समय पनि भएको कारण बीस हजार ३९० विद्यार्थीको पठनपाठन प्रभावित भएको छ। हुम्ला जिल्लामा मंसिर महिनामा वार्षिक परीक्षा र फागुन २ गतेबाट नयाँ शैक्षिक सत्र सुरु हुँदै आएको छ।
प्रतिक्रिया