तनहुँको व्यास नगरपालिकाले जग्गा खरिद अनियमिततामा मुछिएका कर्मचारीलाई निलम्बन गरेको छ ।
सरसफाई तथा फोहोर व्यवस्थापनका लागि जग्गा किन्ने क्रममा अनियमितता भएको तथ्य सार्वजनिक भएपछि त्यसमा संलग्न चार जना कर्मचारीमाथि नगरपालिकाले एक्सन लिएको हो । निलम्बनमा पर्ने कर्मचारीमा वरिष्ठ आन्तरिक लेखा परीक्षण अधिकृत एवं सूचना अधिकारी कुमारकञ्चन जिसी, स्वास्थ्य शाखा प्रमुख प्रमोद सोती, सरसफाई शाखा प्रमुख कृष्ण घिमिरे र सवारी चालक कुशेश्वर गुरुङ छन् ।
हिजो बसेको कार्यपालिका बैठकले छानबिन प्रक्रिया नटुँगिएसम्मका लागि निलम्बन गरेको नगरपालिकाले जनाएको छ । त्यसअघि उनीहरुलाई स्पष्टीकरणको मौका दिइएको छ।
चारै जना कर्मचारीलाई दिएको अतिरिक्त थप सुविधा कटौती गरी समिति र उपसमितिको जिम्मेवारीबाट हटाउने निर्णय भएको पनि बताएको छ । यस विषयमा स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुसँग आउँदो फागुन २५ गते संयुक्त बैठक बस्ने पनि नगरपालिकाले जानकारी दिएको छ ।
नगरको वडा नम्बर १३ मा सरसफाई व्यवस्थापनका लागि जग्गा खरिद गर्दा कर्मचारीकै मिलेमतोमा अनियमितता भएको आरोप छ । नगरपालिकाका सूचना अधिकारी जिसीले ५० लाख रुपैयाँ घुस पाए मात्रै काम पूरा हुने भन्दै बार्गेनिङ गरेको गोप्य अडियो रेकर्ड बाहिर आएपछि सरसफाई जग्गा व्यवस्थापन समितिले गत फागुन १७ गते पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको थियो ।
अडियोमा रकम नपाएको अवस्थामा ईश्वर पन्थ फर्मको नाममा रहेको सो जग्गालाई बैंकबाट लिलाम गराई सस्तोमा खरिद गरेर रिसोर्ट वा आश्रम सञ्चालन तथा जग्गा प्लाटिङ गरी घर निर्माण गरेर बेच्ने पनि भनिएको छ । जनआस्थाबाट
प्रतिक्रिया