– पवित्रमणि शर्मा
धादिङ । सार्वजनिक जग्गा, जंगल र खोलाबाट समेत अवैध रुपमा ढुंगा उत्खनन गरि चोरी निकासी गर्ने कार्यले मौलाएको छ । पछिल्लो समय अवैध रुपमा खानी नै संचालन गर्नेदेखि चोरी उत्खनन् गर्ने कार्यले उग्ररुप लिएको हो ।
प्राप्त समाचार अनुसार थाक्रे गाउँपालिका वडा नम्बर ७ को नाकेडाँडा र जुंगेखोला आसपासको सार्वजनिक जग्गा, नीजि जग्गा र खोलामा समेत अवैध रुपमा ढुंगा उत्खनन् गरी चोरी तस्करी गर्दै आएको पाइएको हो ।
राजनीतिक संरक्षणमा दलका विभिन्न पदमा सक्रिय रहेका व्यक्तिहरुबाट नै यसरी अवैध ढुंगाा उत्खनन गरि चोरी निकासी हुँदै आएको बताइएको छ । नाकेडाँडाको अवैध खानी संचालन गर्नेहरुमा थाक्रे गाउँपालिकाका वडाध्यक्ष युवराज खतिवडा, सुरज खतिवडा, चिरन रेग्मी लगायतहरुको संलग्नता रहेको स्थानीयबासीहरुको आरोप छ ।
जुंगेखोला आसपासको पानीको पाइपहरु समेत ध्वस्त गर्ने गरि अवैध रुपमा ढुंगा उत्खनन् गरि चोरी तस्करी धन्दा गर्दै आएको भन्दै स्थानीयहरुले विरोध जनाउँदै आएको भएतापनि राजनीतिक संरक्षणमा उक्त कार्यले निरन्तरता पाउँदै आएको नाम उल्लेख गर्न नचाहने एक स्थानीयले बताए । यसै विषयमा प्रतिकृयाका लागि वडाध्यक्ष खतिवडालाई सम्पर्क गर्दा वडाले पटक–पटक बन्द गर्न आग्रह गर्दा समेत संलग्नहरुले बन्द गर्न नटेरेको उल्लेख गरे । साथै वडाध्यक्षको पनि संलग्नता रहेको भन्ने जिज्ञासामा उनले अगाडी भने – ‘वडाले बन्द गराउन नसकेकोले यस्तो आरोप लगाउनु स्वभाविकै हो, तथापि हामी यो खानी बन्द गराएरै छोड्छौं ।’
थाक्रे गाउँपालिकाका सुचना अधिकारी पुरन चन्द आचार्यलाई जुंगेखोला आसपासको खानी संचालनको विषयमा जानकारी लिँदा सो क्षेत्रमा स्वीकृत रहेको कुनैपनि खानी संचालनमा नरहेको जानकारी दिए ।
यसै विषयमा इलाका प्रहरी कार्यालय खानीखोलका प्रहरी निरिक्षक नन्दराज जोशीलाई प्रतिकृया लिँदा उनी भन्छन् – ‘अहिले खानी बन्द छ, हामीले बन्द गराउन भनेका छौं, स्काईभेटरको चावी नै ल्याएर, अव उपरान्त नगर्ने भनेपछि फिर्ता दिएका हौं । अहिले बन्द छ ।’
प्रतिक्रिया