April 9, 2025, 7:06 pm

हाकिमसँगको खटपट, कता-कता गडबड

फाल्गुन १३, २०८१ मा प्रकाशित | ९००दर्शक तीव्रखबर

सरकारी कार्यालयमा कार्यालय प्रमुख स्थायी प्रकृतिको हुन्छ । उसले चाहँदा र नचाहँदा धेरै परिणाममा उतार–चढाव आउँछ ।

अझ स्थानीय सरकारमा त प्रमुख प्रशासकीय अधिकृतसँग खटपट हुँदा कार्यकाल नै कलंकित बन्नेदेखि धेरै खालका अफ्ठ्यारा झेल्नुपर्ने हुन्छ । यस्तै अवस्था झेल्न बाध्य छन् ललितपुरका दुई वटा स्थानीय तह । महालक्ष्मी नगरपालिकामा नगर प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृतबीचको समन्वय अभावले नियमित काममा त समस्या परेको छ नै करियरमै समस्या हुने देखिएको छ ।

मेयर हरिगोविन्द श्रेष्ठ र प्रमुख प्रशासकीय प्रदीप पौडेलले पूर्वाधार ठेक्काबाट बनाउन मिलेमतो गर्ने गरेको, नगरपालिकाको सेवा कन्सल्टेन्सीबाट गराएको मेसिन उपकरणलगायत अपत्यारिलो मूल्यमा शंकास्पद सप्लायर्सबाट सामान ल्याएको भन्दै उपप्रमुखले असन्तोष प्रकट गरेपछि पछिल्ला ६ महिना तनावपूर्ण बितेका छन् ।

उपप्रमुख नै असन्तुष्ट भएकाले योजना तथा खरिदलगायतमा अख्तियार लाग्ने डर छ भन्दै प्रमुख प्रशासकीय अधिकृतले दुखेसो पोख्ने गरेका छन् । यही खटपटका कारण संघीय मामिला मन्त्रालयअन्तर्गत हुने स्वमूल्यांकनका नतिजामा दाग लागेको छ । सहकार्य र समन्वय सबैभन्दा कमजोर भएको नगरपालिकाका रूपमा महालक्ष्मी दर्ज भएको छ । यस्तै, महांकाल गाउँपालिकाले पनि कार्यालय प्रमुखसँगको खटपटका कारण दुःख पाएको छ । गाउँपालिकाका परामर्श सेवा खरिद तथा अन्य धेरै सेवामा मनमौजी चलेका अशोक विष्टले हिँड्ने बेला हँुदा पालिकासँग समन्वय नगरी अनेकौँ भुक्तानी दिएको बुझिएको छ ।

जथाभावी भुक्तानी दिन रोकेका कारण गाउँपालिका अध्यक्ष गणेश केसीले काम गर्न दिएनन् भन्दै हिँड्ने प्रमुख प्रशासकीय बिष्टले आफू हिँडेसँगै लेखाका कर्मचारी पनि सरुवा गर्न भूमिका खेलेको र त्यसैका कारण धेरै अफिसियल तनाव सिर्जना भएको बुझिएको छ । जनआस्थाबाट

प्रतिक्रिया