–पवित्रमणी शर्मा
काठमाडौं । महर्षि महेश योगीका नाममा धेरै नामका संस्था खोलेर अपारदर्शी रुपमा कमाउ धन्दा चलाउँदै आएका दीपकप्रकाश बास्कोटा र उनको परिवारले नाटकीय रुपमा अर्को संस्था खोलेको रहस्य खुलेको छ ।
त्यो संस्था भने बास्कोटाकै नामबाट दीपकप्रकाश बास्कोटा फाउन्डेसन भनी खुलेको भेटिएको छ । उनको नाममा खुलेको फाउन्डेसनले ‘डा दीपकप्रकाश बास्कोटा : सहकारी–यात्रा’ नामक पुस्तक पनि प्रकाशन गरेको पाइएको छ । पुस्तकका लेखक भने विभिन्न स्थानका यज्ञका नाममा पैसा उठाएर खल्तीमा हाली गायब भएका भनी चर्चा बटुलेका भरतराज पौडेल ऊर्फ धर्मानन्द भारवि र विवश वस्ती रहेका छन् ।
यो पुस्तक २०८० चैतमा प्रकाशन भएको हो । जीवनी विधामा लेखिएको पुस्तक दुई हजार १०० प्रति छापिएको थियो । मूल्य रु १५० लेखिएको पुस्तक राष्टिय सहकारी महासंघलगायत सहकारी संघ संस्थामा पनि बिक्रीमा राखिएको देखिन्छ । फाउन्डेसन स्रोतले दिएको जानकारी अनुसार महर्षिका नाममा विभिन्न संस्थामा आउने वैध/अवैध सम्पत्तिलाई सेतो बनाउन दीपकले आफ्नै नाममा फाउन्डेसन खोलेका हुन् ।
महर्षि महेश योगीका नाममा खुलेका संस्थामा आएको पैसा दीपकले आफ्नो नाममा लैजान आफ्नै नाममा फाउन्डेसन खोलेका हुन् । महर्षि नाममा खुलेका संस्थामा धेरै पैसा आउने र त्यसलाई व्यवस्थापन गर्न बास्कोटालाई व्यक्तिगत फाउन्डेसन खोल्ने सल्लाह भने भरतराज पौडेल ऊर्फ धर्मानन्द भारविले दिएको जनाइएको छ । यसै विषयमा पौडेललाई उनको मोवाइल नम्बरमा सम्पर्क गर्दा तीव्रखबरबाट भन्ने वित्तिकै फोन काटे ।
महर्षि संस्थाका नाममा आउने पैसा बास्कोटा परिवारले मन लागेका ठाउँमा बाँड्न थालेपछि सम्पत्ति शुद्धीरण विभागलगायत सरकारी निकायले प्रश्न उठाउन थालेपछि धर्मानन्द भारविले व्यक्तिगत नाममा फाउन्डेसन खोली दान दिने गरी व्यवस्था गर्न सल्लाह दिएका थिए । यो फाउन्डेसन दर्ता गराउन पनि दीपकले महर्षि वैदिक फाउन्डेसनकै विश्वासपात्र कर्मचारीलाई प्रयोग गरेको जनाइएको छ । फाउण्डेसनका अध्यक्ष बास्कोटालाई यस विषयमा पटक–पटक सम्पर्क गर्दा फोन उठाएनन् । अध्यक्षको भनाईलाई समेट्ने प्रयास जारी छ, थप विषमा तीव्रखबरले खोजी तीव्र बनाएको छ ।
प्रतिक्रिया