ललितपुर । हजारौं बचतकर्ताको अर्बौं रुपैयाँ हिनामिना गरेर बेलायततिर भास्सिएका सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वअध्यक्ष भरत महर्जनविरुद्ध मुद्दा दायर भएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले ललितपुर जिल्ला अदालतमा मुद्दा लागेको हो ।
३ अर्ब ९३ करोड रुपैयाँ बिगो मागदाबी गर्दै गत साता मुद्दा दायर भएको सिआइबी प्रवक्ता एसपी होविन्द्र बोगटीले बताए । महर्जनलाई मात्र किन प्रतिवादी बनाएर मुद्दा दायर गरिएको ? भन्ने जनआस्थाको प्रश्नमा उनले भने, ‘बचतकर्ताबाट नभई सहकारीको सञ्चालक समितिबाट जाहेरी आएको थियो । उनीमाथि मात्र छानबिन गर्न जाहेरी आएपछि त्यसैअनुसार गरिएको हो । अरुविरुद्ध पछि जाहेरी दिन मिल्ने गरी मुद्दा चलाइएको छ ।’
सुमेरु सहकारीमा रहेको बचतकर्ताको ७ अर्ब १ करोड अपचलन भएको छ । ‘सुमेरु ग्रुप’ अन्तर्गत रहेको सुमेरु सिटी अस्पताल, एशियन कलेज, शंकरापुर कलेज, सुमेरु मार्टलगायत दर्जनौं कम्पनीका मालिक महर्जन सहकारी ठगी गरेर बेलायत ‘फरार’ भएका छन् । उनको सम्पूर्ण सम्पत्ति रोक्का गरिएको छ । रेड कर्नर नोटिस जारी भइसकेको छ ।
यता, महर्जनको ‘सुमेरु सहकारी समूह’ पूर्वराजा ज्ञानेन्द्र शाहका एक मात्र छोरी ज्वाइँ राजबहादुर सिंहले सकारेका छन् । गत असार ३ गते ललितपुरमा सम्पन्न २३औं वार्षिक साधारणसभाबाट उनले सबै कम्पनी आफूले सकार्ने र बचतकर्ताको रकम फिर्ता दिने सहमति गरेका थिए । उनले दशैंदेखि बचत फिर्ता गर्ने प्रतिबद्धता जनाए पनि कसैले अहिलेसम्म एक रुपैयाँ पनि पाएका छैनन् ।
बचतकर्ताहरू अझै २-३ महिना बाटो हेर्ने सुरमा छन् । त्यतिञ्जेल पनि पैसा फिर्ता नदिएमा सञ्चालक समितिका अन्य सदस्यविरुद्ध जाहेरी दिने एक बचतकर्ताले बताए । उनले भने, ‘हामी केही समय हेर्छौं । तबसम्म पैसा फिर्ता पाएनौं भने पूरक जाहेरी लिएर जान्छौं । सात अर्बमा झण्डै चार अर्बको मागदाबी महर्जनसँग गरिएको छ । बाँकीको हकमा अन्यविरुद्ध जाहेरी दिन्छौं ।’
प्रतिक्रिया