January 8, 2025, 7:19 am
» पोल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने दुई जना पक्राउ » ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु » ‘शुद्ध खानेपानीको व्यवस्था गर्न सरकार क्रियाशील छ’ » सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीहरूको थुनछेक बहस जारी » सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

‘अहिलेको गठबन्धनको विकल्प छैन, ओलीपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ’

पुस २१, २०८१ मा प्रकाशित | ३४०दर्शक तीव्रखबर

सुनसरी– उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले नेपाली कांग्रेस र नेकपा एमालेसहितको अहिलेको गठबन्धनको विकल्प नभएको बताएका छन्  ।

आइतबार प्रेस युनियन सुनसरीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो  बताएका हुन् । उनले सरकार गठनका बेला भएको सहमतिअनुसारै आउने निर्वाचनसम्म गठबन्धन कायम रहने बताए ।

उनले सरकार गठन अघि भएको सहमतिमा कांग्रेस र एमाले इमानदार रहेको दाबी गर्दै सरकार परिवर्तन नहुने दाबी गरे । सहमतिअनुसार नै एमाले अध्यक्ष केपी ओलीपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए।

‘आउने निर्वाचनमा कांग्रेस र एमालेबिच प्रतिस्पर्धा हुने कुरा दुवै पार्टीलाई थाहा छ । परिस्थितिको आवश्यकता अनुसार अहिलेको सरकार बनेको छ । हामी अहिले सँगै सरकारमा रहेर काम गरिरहेका छौँ,´ उपप्रधानमन्त्री सिंहले भने,’यो भन्दा अगाडिको सरकारले पूरा गर्न नसकेका विकास कामहरू यो सरकारले गरिरहेको छ ।’

त्यस्तै,उनले संविधान संशोधन कुनै एक दलले चाहेर मात्र नहुने भन्दै त्यसका लागि सबै दलसँग छलफल भइरहेको बताए । अहिलेको सरकारले यसअघि सम्पन्न हुने नसकेका आयोजनालाई सञ्चालनमा ल्याएको उदाहरण दिँदै उनले सरकारले हल्ला नगरी काम गरिरहेको बताए ।

जनचाहनाअनुसार आर्थिक समृद्धि र  विकास निर्माणका काम सरकारको प्राथमिकतामा रहेको सिंहको भनाई थियो । पत्रकार भेटघाटका कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा पनि सहभागी थिए ।

प्रतिक्रिया