February 24, 2025, 9:10 pm
» थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन » स्कुटर चोर नियन्त्रणमा » अब गठबन्धन गर्दैनौं, आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं- प्रचण्ड » न्यूरोड टिमलाई हराउदै आयोजक केपी ओली एफसी सेमिफाइनलमा » Skilled technicians and quality education required for strong economy: Minister Dahal

सूर्यदर्शन सहकारी ठगी प्रकरण : प्रतिवादीहरूको थुनछेक बहस जारी

पुस २४, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

पोखरा : पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दाका प्रतिवादीहरूको थुनछेक बहस जारी छ।  जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र  पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्ध निर्देशक रवि लामिछानेलगायत सातजना प्रतिवादीको थुनछेक बहस भइरहेको छ।

जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा बहस जारी छ।सहकारी ठगीका आरोपित लामिछानेसहित पूर्वडीआईजी छविलाल जोशी,लिला पछाई,रामबहादुर खनाल,मीना गुरूङ ,कृष्णबहादुर गुरुङ र आरती गुरूङविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर भएको छ।
मंगलबार लामिछाने तर्फका कानुन व्यवसायीहरूको बहस गरेका थिए। उनीहरूको बहस सकिएपछि आज अन्य प्रतिवादीहरूको बहस सुरू भएको हो।

सरकारी वकिल र जाहेरवाला सहकारी पीडितका तर्फका कानुन व्यवसायीहरूले उक्त मुद्दामा बहस गरेका थिए। उनीहरूको बहस सकिएपछि प्रतिवादी तर्फका कानुन व्यवसायीहरूको बहस सुरू भएको थियो।

सरकारतर्फबाट बहस गरेका कानुन व्यवसायीहरूले  सहकारी ठगीको आरोप लागेका लामिछानेसहित सातैजनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश जारी गर्नुपर्ने तर्क गरेका थिए। प्रहरीको अनुसन्धान प्रतिवेदन,संसदीय छानबिन विशेष समितिको  प्रतिवेदन र पोखरा महानगरपालिकाको वित्तीय विश्लेषण प्रतिवेदनका आधार,कारण र प्रमाणबाट सातैजनालाई थुनामा पठाउनुपर्ने तर्क उनीहरूको थियो।

प्रतिवादीका कानुन व्यवसायीहरूको बहस सकिएपछि पुन : सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरू हुने जनाइएको छ। थुनछेक बहसपछि लामिछानेलगायत सहकारी ठगीका आरोपितलाई धरौटी वा साधारण तारेखमा छाड्ने वा पुर्पक्षका लागि पठाउने आदेश आउनेछ।

लामिछानेमाथि सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धिकरण कसुरमा समेत मुद्दा दायर भएको छ । सरकारी वकिलको कार्यालय,कास्कीले लामिछानेसहित ४४ जनालाई सहकारी ठगीको आरोपमा प्रतिवादी बनाएर मुद्दा दर्ता गरेको थियो।

सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको जनाएको छ । लामिछानेसहित १९ जनाविरुद्ध सङ्गठित अपराधमासमेत मुद्दा चलाइएको छ । यस्तै लामिछानेसँगै जोशी,पछाई, गुरूङ र  खनालविरुद्ध सम्पत्ति शुद्धिकरणमा मुद्दा दायर गरिएको छ।

लामिछानेमाथि सम्पत्ति शुद्धीकरणमा २७ करोड ८९ लाख ४४ हजार ७ सय बिगो दाबीसहति मुद्दा दर्ता गरिएको छ। यस्तै पूर्वडीआईजी जोशीविरुद्ध पनि सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग पत्र दायर गरिएको छ। जोशीले ७४ करोड, ३४ लाख ७१ हजार ५५ रुपैयाँ ५२ पैसा गैरकानुनी ढंगले आर्जन गरेको दाबी गर्दै बिगो कायम गरिएको छ।

यसैगरी पछाईंलाई २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो कायम गरिएको छ। अर्का प्रतिवादी रामबहादुर खनाललाई १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो कायम गरिएको छ। सहकारीको बचत रकम उपचलन गरेको आरोपमा रास्वपा सभापति लामिछाने गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए।

प्रतिक्रिया