October 26, 2026, 4:53 am
» धारिलो हतियार प्रहारबाट श्रीमतीसहित चार जना घाइते, एक पक्राउ » प्रधानमन्त्री शाहबाट एनपीएल क्रिकेट टोलीलाई शुभकामना » बंगालको खाडीमा चक्रवात विकसित हुँदै, बिहीबारदेखि वर्षा र हिमपातको पूर्वानुमान » सप्तकोशी मोटरबोट दुर्घटना अपडेट : तीन जनाको मृत्यु, तीन बेपत्ता » एनपिएलको बजार मूल्य आठ अर्ब पुग्यो : पारस खड्का

दशैं मनाएर काठमाडौं फर्किनेको घुइँचो

कार्तिक ८, २०८३ मा प्रकाशित | ३००४ दर्शक तीव्रखबर

काठमाडौं।  महान् पर्व बडादशैं मनाउन आ-आफ्नो गृहजिल्ला तथा गाउँघर पुगेका सर्वसाधारण पुनः काठमाडौं उपत्यका फर्किने क्रम तीव्र बनेको छ। दशैँको टीका र जमरा ग्रहण गरेसँगै सुरु भएको उपत्यका भित्रिने क्रम सोमबारदेखि सरकारी कार्यालय, निजी क्षेत्र तथा वित्तीय संस्थाहरू नियमित रूपमा सञ्चालनमा आउने भएसँगै झनै बढेको हो।

दशैँ बिदा सकिएर नियमित कामधन्दा र सेवा प्रवाह सुरु हुने भएपछि उपत्यका प्रवेश गर्ने प्रमुख नाकाहरूमा यात्रु तथा सवारी साधनको चाप उच्च देखिएको छ।

विशेषगरी उपत्यकाको मुख्य प्रवेशद्वार मानिने नागढुंगा, कलंकी, बालाजु, कोटेश्वर र बल्खु क्षेत्रमा सवारी साधनको लामो लाइन र यात्रुको बाक्लो भीडभाड छ। त्यसैगरी, देशका पूर्व, पश्चिम र मध्य भूभागबाट आउने लामो दूरीका सवारी साधनको आगमनसँगै नयाँ बसपार्क क्षेत्रमा पनि सर्वसाधारणको उल्लेख्य चाप बढेको छ।

बडादशैंको अवधिमा लाखौं नागरिक गाउँघर फर्किएपछि उपत्यकाका सडक, बजार र गल्लीहरू सुनसानप्रायः बनेका थिए। तर, बिदा सकिएर सर्वसाधारणहरू आफ्नो कर्मथलो फर्किने क्रम बढेसँगै मलेखु, नागढुङ्गा, भक्तपुरको जगाती लगायतका क्षेत्रमा सास्ती कम गर्न र यात्रालाई सहज बनाउन उपत्यका ट्राफिक प्रहरीले मुख्य नाकाहरूमा थप जनशक्ति परिचालन गरेको छ।

नागढुङ्गा-नौबिसे सडक खण्ड तथा पृथ्वी राजमार्गका विभिन्न स्थानमा बाढी-पहिरोका कारण सडक मर्मत र एकतर्फी सवारी सञ्चालन भइरहेकाले यात्रुहरूले घण्टौँ जामको सामना गर्नुपर्ने बाध्यता समेत देखिएको छ। यसका बावजुद पनि सोमबारदेखि सम्पूर्ण सरकारी तथा निजी कार्यालयहरू पूर्ण रूपमा खुल्ने भएपछि काठमाडौँ भित्रिने गाडी र यात्रुहरूको चाप साँझसम्मै निरन्तर बढिरहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *