September 30, 2026, 12:46 am
» प्रहरी गतिविधि : देशभरका घटनादेखि कारबाहीसम्म ! » बाढी-पहिरोको कहर : ३५ जनाको ज्यान गयो, हजारौँ प्रभावित » आर्थिक कूटनीतिलाई व्यापार र लगानीसँग जोड्न चेम्बर अध्यक्ष अग्रवालको जोड » सरकारले स्वास्थ्य सुधारका लागि २०.७ मिलियन डलर अनुदान स्वीकार गर्ने » सविन-अनुलाई पुत्रलाभ

हर्मुज खोल्ने इरानी प्रस्तावमा अमेरिकी जवाफको प्रतीक्षा

अशोज १३, २०८३ मा प्रकाशित | १३६०४ दर्शक तीव्रखबर

न्युयोर्क- इरानका विदेशमन्त्री अब्बास अराघचीले हर्मुज जलघाँटी पुनःखोल्ने विषयमा इरानले राखेको प्रस्तावबारे अमेरिकाको औपचारिक जवाफ मङ्गलबार प्राप्त हुने अपेक्षा गरिएको बताएका छन् ।

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागी हुन न्युयोर्कमा रहेका अराघचीले सोमबार राति कतारी मध्यस्थकर्तासँग इरान र अमेरिकाबीचको प्रस्तावबारे छलफल भएको जानकारी दिए ।

उनका अनुसार कतारी मध्यस्थकर्ताले केही प्रस्ताव तथा विचार प्रस्तुत गरेका छन् । ती विषयमा छलफल भइसकेको र मध्यस्थकर्ताले अमेरिकी पक्षसँग पुनः वार्ता गरेपछि अन्तिम अमेरिकी प्रतिक्रिया इरानलाई पठाउने तयारी गरेको उनले बताएका छन् ।

कतारी मध्यस्थकर्ताहरूले मङ्गलबारसम्म प्रक्रिया टुङ्गोमा पुग्ने अपेक्षा गरेको अराघचीले बताए। उनले हर्मुज जलघाँटी पुनःखोल्न इरानले राखेका केही सर्त पूरा हुनुपर्ने स्पष्ट पारे।

अमेरिका र इरानबीच जारी द्वन्द्वमा हर्मुज जलघाँटी प्रमुख विषय बनेको छ । फेब्रुअरीको अन्त्यमा इरानमाथि अमेरिका र इजरायलले गरेको आक्रमणपछि द्वन्द्व चर्किएको हो । द्वन्द्व सुरु हुनुअघि विश्वको करिब पाँचौँ भाग तेल तथा तरलीकृत प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ओसारपसार हुने गरेको थियो ।

द्वन्द्वपछि इरानले हर्मुज जलघाँटीमा नाकाबन्दी लगाएपछि अमेरिकाले पनि इरानी बन्दरगाहमा नाकाबन्दी लगाएको छ । यसैबीच गत साता न्युयोर्कमा अराघची, अमेरिकी दूत स्टिभ विटकफ र जारेड कुशनरबीच छलफल भएको थियो ।

इरानले अमेरिकी नाकाबन्दी अन्त्य गर्नुअघि लेबनानसहित मध्यपूर्वमा सात दिनको युद्धविराम हुनुपर्ने माग राखेको छ । लेबनानमा इरानको सहयोगी हिजबुल्लाह इजरायली सेनासँग लडिरहेको छ ।

त्यस्तै, इरानले विदेशमा रोक्का रहेका आफ्ना सम्पत्ति फुकुवा गर्न, तेल क्षेत्रमा लगाइएका प्रतिबन्ध हटाउन तथा अमेरिकी नौसेनाको नाकाबन्दी अन्त्य गर्नुपर्ने मागसमेत राखेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *