तीव्रखबर
काठमाडौं — नेकपा (एमाले)का अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ भदौ २३ र २४ गते भएका घटनाको गम्भीर छानबिन गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन माग गरेका छन्।
प्रेस वक्तव्यमार्फत ओलीले भदौ २३ गतेको युवा प्रदर्शनमा गोली लागेर ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली तथा घाइतेप्रति शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। उनले त्यसपछिका घटनामा कर्तव्यपालनाका क्रममा ज्यान गुमाएका प्रहरीप्रति पनि श्रद्धाञ्जली व्यक्त गरेका छन्।
ओलीले लोकतन्त्रमा नागरिकले सरकारसमक्ष आफ्ना अपेक्षा, असन्तुष्टि र माग राख्नु स्वाभाविक भएको उल्लेख गर्दै संविधानले शान्तिपूर्ण भेला, विरोध तथा लोकतान्त्रिक माध्यमबाट सरकार गठन, पुनर्गठन र परिवर्तन गर्ने अधिकार सुनिश्चित गरेको बताएका छन्।
उनले आफ्नो नेतृत्वको तत्कालीन मन्त्रिपरिषद्ले घटनाको न्यायिक छानबिनका लागि आयोग गठन, सामाजिक सञ्जालमाथिको अस्थायी प्रतिबन्ध हटाउने, घाइतेको निःशुल्क उपचार तथा पीडित परिवारलाई क्षतिपूर्ति दिने निर्णय गरेको स्मरण गरेका छन्। घटनाको नैतिक जिम्मेवारी लिँदै तत्कालीन गृहमन्त्रीले राजीनामा दिएको पनि उनले उल्लेख गरेका छन्।
ओलीले भदौ २४ गते राष्ट्रपति भवन, प्रधानमन्त्री निवास, सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, राजनीतिक दलका कार्यालय तथा सार्वजनिक र निजी सम्पत्तिमा भएको आगजनी, तोडफोड र आक्रमणलाई पनि गम्भीर र दुःखदायी घटनाका रूपमा लिनुपर्ने बताएका छन्।
प्रतिक्रिया