September 9, 2026, 9:10 am
» बाढीपहिरो प्रभावितको उद्धारमा सरकार गम्भीर भएन : प्रमुख सचेतक थापा » बाढीपछि अमेरिकाले बोल्डिनलाई कार्यवाहक राजदूत नियूक्त » आफ्नै सरकारविरुद्ध रास्वपा सांसदको गर्जन : ‘ग्यास छैन, मुख देखाएर हिँड्न गाह्रो भयो’ » जेनजी आन्दोलनले राजनीतिक संस्कार परिवर्तन खोजेको छ : केसी » धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

उखु बेचे, पैसा पाएनन् : ऋण गरेर गर्जो टार्दै किसान

भदौ २४, २०८३ मा प्रकाशित | ९०४ दर्शक तीव्रखबर

सर्लाही– उधारोमा बिक्री गरेको नगदे बाली उखुको भुक्तानी यहाँका किसानका लागि सधैँको गलपासो बन्दै आएको छ । गत याममा उद्योगलाई उखु बेचेका किसान छ महिना भइसक्दासम्म पैसा नपाएपछि समस्यामा परेका हुन् ।

यहाँको धन्कौल गाउँपालिका–२ मा रहेको अन्नपूर्ण चिनी उद्योगले गत याममा मा उखु खरिद गरेको भुक्तानी अझै किसानलाई दिएको छैन ।

धन्कौल गाउँपालिका–३ निवासी कैलाश पासवानले उद्योगलाई दिएको ३०० क्विन्टल उखुको आंशिक रकममात्र पाएको बताए । उनले ५० कट्ठा खेतमा उखु लगाएका छन् । यसमध्ये आफ्नो २० कट्ठा र बाँकी ठेक्कामा लिएको हो । उखु बेचेको पैसा समयमा पाए समयमै ठेक्का बुझाउने उनलाई हतारो छ । कबोल गरेको समयमा ठेक्का रकम नतिरे साहुलाई ब्याज बुझाउनुपर्ने चिन्ता उनले व्यक्त गरे ।

‘घरको सबै खर्च खेतीबाट आएको पैसाले पुर्‍याउनु पर्छ’, उनले भने, ‘बालबच्चाको लालनपालन, शिक्षादिक्षा, चाडपर्व सबै यही उखु बेचेर आएको पैसाबाट टार्नु छ । तर, उद्योगले हरेक वर्ष झुटो आशा देखाउँदै दुःख दिने गरेको छ ।’ केही समय पहिलामात्र छोरीको विवाह गरेका कैलाशले गर्जो टार्न उद्योगले पैसा नदिएपछि साहुमहाजनसँग सयकडा तीनले ब्याजमा ऋण लिनुपरेको दुखेसो पोखे ।

उनले उद्योगबाट अझै ५६ हजार बढी रकम पाउन बाँकी छ । पाउने रकमको टुङ्गो नहुँदा आफूहरू उखुखेतीबाट निरास बनेको उनले बताए ।

उद्योगले पैसा दिनेबेला दिएको दुःख सम्झेर ४०० क्विन्टल उखु नगदमा बेचेको उनको भनाइ छ । नगदमा बिचौलियाले ३५ देखि ४० कम दाममा किनेर आफ्नो नाममा उद्योगलाई बिक्री गर्छन् । यसबाट किसानले पाउने अनुदानबापतको रकमसमेत दुरुपयोग हुँदै आएको छ ।

धन्कौल –२ का पाँचु सहनीको पनि आयआर्जनको एकमात्र उपाय खेतीपाती हो । उनी पनि ठेक्कामा लिएको खेतमा उखु रोप्ने र उद्योगलाई बेच्ने गरे। तर, सुरुमा स्थानीयलाई सुविधा पुग्छ भनेर सञ्चालनमा आएको उद्योगले बारम्बार ठगेको उनको गुनासो छ । यस उद्योगले उनको २०७४ सालमा बिक्री गरेको उखुको केही भुक्तानी अझै दिएको छैन । सोही समयमा उद्योग धरासायी बन्यो ।

सुरुका उद्योगपतिले उद्योग नै बेचिदिएपछि किसानले पाउनु दुःख पाएको उनी बताउछन् । ‘माग्न जाँदा २०७४ सालसम्मको भुक्तानी पुरानो मालिकले गर्ने हो भने, पछि विवरण फेला परेन भनेर दिँदै दिएन’, उनले भने । त्यसपछि आफूले रौतहट र सर्लाहीको हरिवनस्थित इन्दुशङ्कर चिनी उद्योगमा उखु बेचेको उनको भनाइ छ । यस वर्ष उद्योगले मिलगेट क्षेत्र तोकेर अन्यत्र काँटा नराख्ने सहमति गरेपछि बाहिरको उद्योग आएन ।

यसपछि आफूहरू मन नहुँदा नहुँदै बाध्य भएर अन्नपूर्णलाई उखु दिनुपरेको उनले जानकारी दिए । उनले यसपटक दिएको झन्डै ५०० क्विन्टल उखुको भुक्तानी पाउन बाँकी छ । नजिकै हरिवनमा रहेको उद्योगले उखु बिक्री गरेको १५ दिनमा भुक्तानी दिँदा आफूहरूलाई अन्नपूर्णले दुःख दिएको गुनासो गरे ।

अन्नपूर्ण चिनी उद्योगले सिजन २०८२/८३ मा तीन हजार १८६ जना किसानबाट खरिद गरेको नौ लाख ९३ हजार ७५२.६७ क्विन्टल उखु क्रसिङ गरेको थियो ।

उखु खरिदबापत हुन आउने ६१ करोड ६१ लाख २७ हजार ६५५ रुपैयाँमध्ये उद्योगले किसानलाई अझै रु २२ करोड हाराहारीमा भुक्तानी दिन बाँकी देखिएको छ । किसानको उजुरीपछि सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेको अध्यक्षतामा गठन गरिएको छानबिन समितिले उद्योगबाट २२ करोड रुपैयाँको हाराहारीमा किसानले भुक्तानी पाउन बाँकी रहेको प्रतिवेदन सार्वजनिक भएको थियो ।

यता उद्योग प्रशासनले भने दैनिक किसानको भुक्तानी गरिरहेको दाबी गरेको छ । उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले किसानको भुक्तानी बाँकी रहेको स्वीकार गरे ।

कात्तिक मसान्तसम्म सक्ने योजना रहेको उनले बताएका छन् । उद्योगले किसानको भुक्तानी दसैँ अगाडि गरिसक्नेगरी काम गरिरहेको उनको भनाइ छ । तर, बाँकीमध्ये अहिलेसम्म कति रकम किसानको खातामा दाखिला भयो भन्ने तथ्याङ्क उनीसँग छैन । रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *