तीव्रखबर
काठमाडौँ — पूर्वऊर्जामन्त्री कुलमान घिसिङले प्राकृतिक विपत्तिका कारण देश संकटमा रहेका बेला अत्यावश्यक एलपी ग्यासको चरम अभाव हुनु र व्यवसायीले मनपरी मूल्य बढाउनु आपत्तिजनक भएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै घिसिङले यस्तो संकटका बेला उपभोक्ताको पीडाप्रति राज्य संयन्त्र संवेदनशील हुन नसकेको आरोप लगाए। उनका अनुसार एलपी ग्यास विनियमावली, २०६५ ले मूल्य समायोजनको अधिकार नेपाल आयल निगमलाई मात्र दिएको अवस्थामा ढुवानी खर्च बढेको भन्दै व्यवसायीले आफूखुसी मूल्य बढाउनु गलत हो।
प्राकृतिक विपत्तिका बीच भएको आपूर्ति अवरोध र मूल्यवृद्धिप्रति सरकार मौन बस्नु झनै गैरजिम्मेवारपूर्ण भएको उनको भनाइ छ।
घिसिङले खाना पकाउन विद्युतीय उपकरणको प्रयोग बढाउनुपर्ने समयमा विद्युत् खपतमा मूल्य अभिवृद्धि कर (भ्याट) लगाएर विद्युत् प्रयोगलाई निरुत्साहित गरिएको भन्दै समेत प्रश्न उठाएका छन्।
“एकातिर ग्यास छैन, अर्कोतिर विद्युत् महँगो बनाइएको छ,” उनले भनेका छन्, “यसको सोझो मार सर्वसाधारण र आमउपभोक्तामा परेको छ।”
उनले संकटको समयमा अत्यावश्यक वस्तुको सहज आपूर्ति, मूल्य नियन्त्रण तथा उपभोक्ताको हित संरक्षणमा राज्यले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
प्रतिक्रिया