तीव्रखबर
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले देशमा फेरि गोली चल्ने अवस्था आउन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
जेनजी आन्दोलनका शहीदहरूको स्मृतिमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री गुरुङले नागरिकलाई सुरक्षित वातावरण प्रदान गर्नु आफ्नो प्रमुख जिम्मेवारी भएको बताए।
उनले जेनजी पुस्ताले उठाएका सुशासन, परिवर्तन र जवाफदेहितासम्बन्धी अपेक्षालाई निराश हुन नदिने दाबी गरे। आफूलाई गृहमन्त्रीको जिम्मेवारीमा विश्वास गरेर पठाइएको भन्दै उनले उक्त विश्वासलाई काममार्फत प्रमाणित गर्ने बताए।
गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूलाई जेनजीको आशा जीवित राख्दै सुशासनको अनुभूति हुने गरी काम गर्न जिम्मेवारी दिएको स्मरण गरे।
‘जेनजीको आशालाई मर्न दिन हुँदैन, कुर्सीमा बसेर सुशासन के हो देखाउनुपर्छ’ भन्ने लामिछानेको भनाइ उद्धृत गर्दै उनले आफूले पाएको विश्वास कायम राख्ने प्रतिबद्धता जनाए।
गृहमन्त्री गुरुङले आफू मन्त्री मात्रै नभई दाइ, भाइ र छोरा पनि भएको उल्लेख गर्दै फेरि गोली चल्ने अवस्था सिर्जना हुनु आफूहरूका लागि सबैभन्दा ठूलो चिन्ताको विषय रहेको बताए।
उनले अब देशमा हिंसात्मक रूपमा गोली चलाउने साहस कसैले गर्न नसक्ने दाबी गर्दै नागरिकको सुरक्षा सुनिश्चित हुने वातावरण निर्माणमा सरकार प्रतिबद्ध रहेको बताए।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको बलिदानलाई स्मरण गर्दै गुरुङले आन्दोलनले उठाएका अपेक्षा र सवाललाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने धारणा राखे।
प्रतिक्रिया