September 9, 2026, 9:11 am
» बाढीपहिरो प्रभावितको उद्धारमा सरकार गम्भीर भएन : प्रमुख सचेतक थापा » बाढीपछि अमेरिकाले बोल्डिनलाई कार्यवाहक राजदूत नियूक्त » आफ्नै सरकारविरुद्ध रास्वपा सांसदको गर्जन : ‘ग्यास छैन, मुख देखाएर हिँड्न गाह्रो भयो’ » जेनजी आन्दोलनले राजनीतिक संस्कार परिवर्तन खोजेको छ : केसी » धादिङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

तिम्रो छोरो ढल्यो, यो देश उठ्यो’ : सहिदका आमासामु खगेन्द्र सुनारको भावुक सम्बोधन

भदौ २३, २०८३ मा प्रकाशित | १२०४ दर्शक तीव्रखबर

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद खगेन्द्र सुनारले जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका युवाका आमालाई भावपूर्ण सम्बोधन गरेका छन्।
जेन–जी आन्दोलनको एक वर्ष पूरा भएको अवसरमा मंगलबार आयोजित कार्यक्रममा बोल्दै सांसद सुनारले सहिदका आमालाई आफ्नो सन्तान गुमाएको पीडालाई शक्तिमा बदल्न आग्रह गरे।

‘आमा, तिमीलाई लागेको होला मेरो गर्भबाट जन्मिएको छोरो मर्‍यो, म एक्लो परेँ। हैन आमा, तिम्रो छोरो मरेको हैन। ऊ त यो देशमा यस्तो बीउ बनेर रोपिएको छ, त्यहीँबाट नयाँ सुशासनको वृक्ष बनेर उम्रिएको छ,’ उनले भने।

सुनारले आन्दोलनमा ज्यान गुमाएका युवाका आमाहरूले देशका सपुत र नायकलाई जन्म दिएको बताए। उनले आमाहरूको त्याग र साहसप्रति सम्मान व्यक्त गर्दै भने, ‘तिम्रो गर्भमा सपुतले बास गरेको हो। तिम्रो गर्भमा नायकले बास गरेको हो। आफ्नो गर्भलाई धन्यवाद भन। म तिम्रो गर्भलाई यहाँबाट प्रणाम गर्न चाहन्छु। स्याबास आमा ! धन्यवाद आमा ! जसले सहिद जन्माउनुभयो।’

उनले सहिदका आमाहरूको त्यागकै कारण देशमा परिवर्तनको आधार तयार भएको दाबी गरे।

‘प्रत्येक आमाहरूको पाउ छोएर म प्रणाम गर्न चाहन्छु। तिम्रो छोरो ढल्यो, यो देश उठ्यो। तिम्रो छोरोले गोली खायो र यो देशले सिटामोलको गोली खान पाएको हो,’ उनले भने।

सुनारले आफू राजनीतिक रूपमा अझै ‘आलो–काँचो’ भए पनि ‘कुहिएको’ नभएको बताए। उनले आगामी दिनमा देशवासीले सुख र सुशासनसहित बाँच्न पाउने विश्वाससमेत व्यक्त गरे।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *