तीव्रखबर
काठमाडौं । नेपाली कांग्रेसले आगामी १५औँ महाधिवेशनको तयारीका लागि राष्ट्रिय सभागृहका विभिन्न स्थान उपलब्ध गराइदिन अनुरोध गरेको छ।
कांग्रेस केन्द्रीय कार्यालयले राष्ट्रिय सभागृहलाई पत्र पठाउँदै महाधिवेशनको तयारी, व्यवस्थापन तथा कार्यक्रम सञ्चालनका लागि असोज १५ गतेदेखि २० गतेसम्म प्रदर्शनी हल, लवी, पार्किङ स्थल तथा बगैँचा उपलब्ध गराइदिन आग्रह गरेको हो।
कांग्रेसले १५औँ महाधिवेशन असोज १६, १७, १८ र १९ गते काठमाडौंमा आयोजना गर्ने निर्णय गरिसकेको छ। पार्टीभित्र तत्कालीन सभापति शेरबहादुर देउवा पक्षको असन्तुष्टि बढिरहेका बेला कांग्रेसले निर्धारित मितिमै महाधिवेशन सम्पन्न गर्ने तयारी अघि बढाएको हो।
महाधिवेशनजस्तो महत्वपूर्ण राष्ट्रिय राजनीतिक कार्यक्रम व्यवस्थित र सफल रूपमा सञ्चालन गर्न राष्ट्रिय सभागृहबाट आवश्यक सहयोग, समन्वय तथा सहजीकरण प्राप्त हुने विश्वास कांग्रेसले व्यक्त गरेको छ।
कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले राष्ट्रिय सभागृहका प्रमुखलाई पत्र पठाउँदै माग गरिएका स्थानहरू ‘नेपाली कांग्रेस केन्द्रीय कार्यालय’को नाममा बुकिङ गरिदिन अनुरोध गरेका हुन्।
प्रतिक्रिया