तीव्रखबर
काठमाडौँ । भारतीय र्यापर तथा गायक बादशाह र अभिनेत्री ईशा रिखीबीच विवाह भएको पाँच महिनामै सम्बन्धविच्छेद भएको छ।
बादशाहले सामाजिक सञ्जालमार्फत आफू र ईशा रिखीले आपसी सहमतिमा अलग हुने निर्णय गरेको पुष्टि गरेका छन्। उनले दुवैले आपसी सम्मानका साथ आ–आफ्नो बाटोमा अघि बढ्ने निर्णय गरेको बताएका छन्।
‘मैले र ईशा रिखीले आपसी सहमतिमा अलग हुने र आ–आफ्नो बाटोमा अघि बढ्ने निर्णय गरेका छौँ। यो निर्णय आपसी सम्मानका साथ लिइएको हो,’ उनले लेखेका छन्।
यसैगरी उनले यस विषयमा थप अड्कलबाजी नगर्न आग्रह गर्दै आफूहरूको गोपनीयताको सम्मान गरिदिन सबैलाई अनुरोध गरेका छन्। यो विषयमा उनीहरूको भनाइ नै अन्तिम हुनेसमेत उनले बताएका छन्।
बादशाह र ईशाले यसै वर्ष मार्चमा विवाह गरेका थिए। विवाह भएको करिब तीन महिनापछि नै उनीहरूको सम्बन्धमा समस्या आएको चर्चा सार्वजनिक भएको थियो।
बादशाहले यसअघि सन् २०१२ मा जैस्मिन मसीहसँग विवाह गरेका थिए। उनीहरूबाट सन् २०१७ मा एक छोरी जन्मिएकी थिइन्। दुवैबीच सन् २०२० मा सम्बन्धविच्छेद भएको थियो।
बादशाह र ईशा रिखीको पहिलो भेट एक साथीको पार्टीमा भएको बताइन्छ। त्यसपछि उनीहरू नजिकिँदै गए र प्रेम सम्बन्धमा रहेका थिए। लामो समयसम्म दुवैले आफ्नो सम्बन्धलाई सार्वजनिक गरेका थिएनन्। सन् २०२३ मा उनीहरूको विवाहको चर्चा चले पनि बादशाहले त्यसलाई अस्वीकार गरेका थिए।
बादशाह बलिउडसहित भारतीय संगीत क्षेत्रमा चर्चित छन्। ईशा रिखी भने मोडल तथा अभिनेत्री हुन्। चण्डीगढमा जन्मिएकी ईशाले पञ्जाबी चलचित्रमार्फत अभिनय यात्रा सुरु गरेकी थिइन्।
प्रतिक्रिया