तीव्रखबर
काठमाडौं। शिक्षा तथा खेलकुद मन्त्रालयले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक तथा वार्षिक प्रगति समीक्षा गर्दै आगामी वर्ष परिणाममुखी कार्यसम्पादन, सेवा प्रवाह सुधार र शिक्षाको संरचनात्मक रूपान्तरणलाई प्राथमिकता दिने निर्णय गरेको छ।
मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा बजेट खर्च, आयोजना कार्यान्वयन, सुशासन, गुनासो व्यवस्थापन तथा मन्त्रालयअन्तर्गतका निकायको कार्यप्रगतिबारे समीक्षा गरिएको थियो। बैठकले समग्र कार्यप्रगति सन्तोषजनक रहेको निष्कर्ष निकालेको मन्त्रालयले जनाएको छ।
बैठकलाई सम्बोधन गर्दै शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी आर्थिक वर्षदेखि ‘सिकाइ चौतारी’ कार्यक्रमलाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न निर्देशन दिए। उनले नयाँ पाठ्यक्रमको प्रभावकारी कार्यान्वयनमार्फत शिक्षाको गुणस्तरमा सुधार ल्याउनसमेत जोड दिए।
राष्ट्रिय योजना आयोगकी सदस्य रेशु अर्याल ढुङ्गानाले उच्च शिक्षा पुनःसंरचनाको खाका शीघ्र कार्यान्वयन गर्नुपर्ने बताइन्। उनले शिक्षकका समस्या समाधानका लागि प्रभावकारी पहल आवश्यक रहेकोमा जोड दिइन्।
मन्त्रालयका सचिव चुडामणि पौडेलले चालु आर्थिक वर्षमा करिब डेढ अर्ब रुपैयाँभन्दा बढी बेरुजु फछ्र्योट गरिएको जानकारी दिए। उनले कार्यसम्पादन सूचकलाई पुनःपरिभाषित गर्दै एसईई परीक्षा क्रमशः प्रदेशस्तरबाट सञ्चालन गर्ने तयारी गर्नुपर्ने बताए।
मन्त्रालयका अनुसार समीक्षा अवधिमा मन्त्रालय तथा मातहतका निकायको सांगठनिक तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न भएको छ। ‘हेल्लो सरकार’मार्फत प्राप्त १ हजार १४१ वटा उजुरीसमेत सम्बोधन गरिएको मन्त्रालयले जनाएको छ।
त्यस्तै, आठ विश्वविद्यालयका उपकुलपति खुला प्रतिस्पर्धा र योग्यताका आधारमा छनोट गरिएको मन्त्रालयले जनाएको छ।
अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र शिक्षा मन्त्रालयका उच्च अधिकारीहरूको सहभागिता रहेको बैठकले अनुगमन तथा मूल्याङ्कनलाई थप तथ्यपरक र जवाफदेही बनाउँदै नतिजामुखी कार्यसम्पादनमा जोड दिने प्रतिबद्धता जनाएको छ।
प्रतिक्रिया