तीव्रखबर
भोजपुर — विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्र सीमित नराखी जीवनोपयोगी ज्ञानसँगै मौलिक संस्कृति र परम्परासँग जोड्ने उद्देश्यले भोजपुरस्थित समता स्कुलले सांस्कृतिक संरक्षण तथा प्रवर्द्धनका विविध कार्यक्रम सञ्चालन गर्दै आएको छ।
विद्यालयले सांस्कृतिक कक्षा, लोकनृत्य, लोकगीत, परम्परागत भेषभूषा प्रदर्शन, स्थानीय खेलकुद तथा चाडपर्वसम्बन्धी चेतनामूलक कार्यक्रममार्फत विद्यार्थीलाई स्थानीय कला, संस्कृति, परम्परा र जीवनशैलीबारे व्यावहारिक ज्ञान प्रदान गरिरहेको जनाएको छ।
विद्यालयका प्रधानाध्यापक मुना पाण्डेका अनुसार यस्ता अतिरिक्त क्रियाकलापले विद्यार्थीमा आफ्नो मौलिक पहिचान, संस्कृति र परम्पराप्रति गर्व गर्ने भावना विकास गर्न सहयोग पुगेको छ। उनका अनुसार विद्यालयले परम्परागत रहनसहन, संस्कार र वेशभूषाबारे पनि व्यवहारिक रूपमा सिकाउने व्यवस्था मिलाएको छ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुमन प्रधानले आधुनिक शिक्षासँगै संस्कार, संस्कृति र पहिचानको संरक्षण पनि उत्तिकै महत्वपूर्ण भएकाले विद्यालयले सांस्कृतिक शिक्षालाई प्राथमिकतामा राखेको बताए। नयाँ पुस्तालाई सानै उमेरदेखि आफ्नो मौलिक संस्कृति र पहिचानबारे सचेत बनाउने लक्ष्यसहित यस्ता कार्यक्रमलाई निरन्तरता दिइएको उनले जानकारी दिए।
प्रतिक्रिया