September 19, 2024, 4:37 pm
» श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु » अवैध लागूऔषध सहित विभिन्न स्थानबाट १० जना पक्राउ

मन्त्री दाहालद्वारा बनेपाको डुबान क्षेत्र अवलोकन

साउन १८, २०८१ मा प्रकाशित | ७८०दर्शक तीव्रखबर

काभ्रेपलाञ्चोक,  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकास्थित पुलबजार डुबान क्षेत्रको आज अवलोकन गर्नुभएको छ ।

उहाँले स्तरोन्नतिसहित निर्माणाधीन अरनिको राजमार्ग निरीक्षणका क्रममा डुबान क्षेत्रको अवलोकनगरी समस्याबारे स्थानीयसँग जानकारी लिनुभएको हो ।

मन्त्री दाहाललाई बनेपा नगरपालिका-१० का वडाध्यक्ष चन्द्रबहादुर खड्का, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का बनेपा नगर कमिटी अध्यक्ष रत्नकुश रञ्जित, सूर्यविनायक-धुलिखेल, धुलिखेल-सिन्धुली–बर्दिवास सडक आयोजना कार्यालयका प्रतिनिधिलगायत स्थानीयले वर्षाको समयमा पुण्यमाता खोलाको बाढीका कारण पुग्ने क्षतिबारे जानकारी गराएका थिए ।

गत मङ्गलबार रातिको वर्षाले पुलबजार क्षेत्रका करिब ४० घर डुबानमा परेका थिए । बस्ती बढ्दा खोला साँधुरिएपछि केही वर्षदेखि उक्त खोलामा आउने बाढीले अरनिको राजमार्गसमेत अवरुद्ध हुँदै आएको छ ।

डुबान क्षेत्र अनुगमनका क्रममा मन्त्री दाहालले सडक डिभिजन कार्यालय भक्तपुरसँग समन्वयगरी डुबानमुक्त हुने तवरले निर्माणमा ध्यान दिइने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यस क्षेत्रलाई डुबानमुक्त बनाउन के गर्न सकिन्छ, सरोकारवाला निकाय र प्राविधिक छलफलगरी अघि बढ्नेछौँ ।” उहाँले यहाँको समस्याबारे स्थानीय तहका जनप्रतिनिधिसँग थप छलफलगरी निकास खोजिने बताउनुभयो ।

मन्त्री दाहालले निर्माणाधीन अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि धुलिखेलसम्म दुई चरणमा निर्माण थालिएको उक्त सडक अवलोकन गर्नुभएको छ । मन्त्री दाहालले उक्त सडक विस्तारका क्रममा भएका प्रगति, समस्या तथा आगामी योजनामा सरकारकोतर्फबाट गर्नुपर्ने कार्य विवरणबारे पनि जानकारी लिनुभएको छ ।

उहाँलाई सम्बन्धित निकायका प्रतिनिधिले साँगा क्षेत्रको निर्माण र त्यसले पारिरहेको प्रभाव, साँगादेखि बनेपा खण्ड निर्माण र स्थानीयले गरेको अवरोध, मुआब्जा वितरणलगायत सडकका अन्य समस्याका बारेमा जानकारी गराएका थिए ।

अनुगमनका क्रममा मन्त्री दाहालले चालु आवका लागि पुल निर्माण तथा मुआब्जालगायत विषयलाई प्राथमिकतामा राख्दै नागरिकले उठाएका सवाललाई सम्बोधन गरी सडक निर्माण समयमा सम्पन्न गर्न सडक विभाग र आयोजनालाई निर्देशन दिनुभयो ।

आयोजनाले पूर्वाधार निर्माणमा ८८ प्रतिशत प्रगति भएको जनाएको छ । आयोजनाका प्रमुख इञ्जिनियर राजेन्द्रप्रसाद दासले स्थानीय तहको समन्वयमा ढल तथा खानेपानीका लाइनको मर्मतसम्भार तथा विस्तार, बिजुलीका खम्बाको विस्तारलगायतका काम भइरहेको जानकारी गराउनुभयो ।

मन्त्री दाहालले सडक डिभिजन कार्यालय भक्तपुरका प्रतिनिधिसहित स्थानीय जनप्रतिनिधिसँग स्तरोन्नति भइरहेको धुलिखेल–खावा सडकको अवलोकन गर्नुभएको छ ।

निर्माणाधीन उक्त धुलिखेल–खावा सडकखण्डको समयसीमा गत चैत १९ गते सकिएको थियो । केही महिना समय थपेर पुनःनिर्माण थालिएपछि वर्षाको समयमा हिलोका कारण सवारी साधन आवतजावतमा कठिनाइ हुँदै आएको छ ।

प्रतिक्रिया