-शैलेन्द्रबहादुर थापा
आज राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापाको २५० औं जन्म जयन्ती हो । यस सन्दर्भमा भीमसेन थापामाथि लगाइएका आरोपहरुको तथ्यगत अवलोकन गर्दै उहाँको स्मरण गरिएको छ । भीमसेन थापाको जन्म वि.सं. १८३२ साउन ९ गते बगाले थापा वंशका पिता अमरसिंह थापा (साना) र माता सत्यरुपा तर्फका ५ भाइ छोराहरुमध्ये जेष्ठ पुत्रको रुपमा गोरखाको पिपलथोकमा भएको थियो । मुख्तियार भीमसेन थापाका छोरा थिएनन् । तर उहाँका सहोदर छोरा नभए पनि आज भीमसेन थापाका सहोदर छोरीहरु, नाति, नातिनीहरु, भाइ, भतिजाहरुका सन्तान र सन्ततीहरुले देश, विदेश ढाकेका छन् । उहाँले राजा गीर्वाणयुद्ध विक्रम शाहबाट वि.सं. १८६३ मा मुख्तियार र वि.सं. १८६८ मा जर्नेल पदवी पाउनु भएको थियो । तर उहाँले पाउनु भएको मुख्तियारको लालमोहर र अरुले पाएका मुख्तियारको लालमोहरमा फरक थियो । अरुले पाएको मुख्तियार पदमा रहेर काम काज गर्नेहरुले राजालाई सोधेर मात्र गर्न पाउँथे । तर भीमसेन थापालाई प्रदान गरिएको मुख्तियार पदमा रहेर भीमसेन थापाले गरेका कार्यमा हाम्रो (राजाको) सहमत छ भन्ने व्यहोराको लालमोहर सुरक्षित छ । मुख्तियार भीमसेन थापाको कार्यकालमा तत्कालीन नेपालमा घटेका केही महत्वपूर्ण राजनीतिक घटनाक्रमहरुको स्मरण गर्नु राष्ट्रिय विभूति भीमसेन थापाको स्मृति र सम्मान गर्नु हो ।
खोजकर्ता ज्ञानु ढुङ्गेलद्वारा लिखित ‘मुख्तियार भीमसेन थापा र तत्कालीन नेपाली साहित्य (२०५६)’ मा शान्तिपूर्ण तरिकाले नेपाललाई हडप्न नसकेपछि नेपालले नचाहे पनि अङ्ग्रेज–नेपालबीच युद्ध अवश्यम्भावी थियो र आफूले राखेको शर्त पुरा गर्ने म्याद नसकिदै आक्रमण गरेर अङ्ग्रेजले देखायो पनि । यसरी संसारै कब्जा गर्न निस्किएको अङ्ग्रेजसंगको त्यो लडाइँ केवल भीमसेन थापाको स्वार्थसिद्धीको लागि भएको थिएन भन्ने प्रष्ट हुन्छ । चित्तरञ्जन नेपालीद्वारा लिखित ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल (२०७६)’ का अनुसार ‘नेपाल–अङ्ग्रेजबीच लडाँइ हुनुमा भीमसेन थापामा दूरदर्शिताको अभाव थियो, उनमा राजनीतिज्ञता थिएन’ भनी भीमसेन थापामाथि बक्रदृष्टि लगाउनेहरुको आरोपको खण्डनस्वरुप केवल भीमसेन थापाकै कट्टर विरोधी ब्रायन हग्सनले उनी मृत्युपछि व्यक्त गरेको यो तथ्यले प्रष्ट्याएको छ : “वर्तमानकालीन देशीय राजनीतिज्ञहरुमा, सिवाय रणजितसिंह, म एक जना पनि यस्तो देख्दिनँ जो नेपालका स्वर्गीय जनरल भीमसेन थापासित दाँजिन योग्य छन्…।” चित्तरञ्जन नेपालीले ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल (२०७६)’ मा यसरी प्रष्ट पार्नुभएको छ : “…तर अचानकसंग युरोपमा चलिराखेको युद्धबाट फुर्सद पाएर ब्रिटिशले आफ्नो शान्तिको नीति बदली युद्धका निम्ति तयार देखिन गएकोमा नेपालले पनि नलडी सुखै पाउने थिएन । स्यूराज र बुटवललाई नेपाल सरकारले २५ दिनभित्र छोड्ने भन्ने पत्रको समुचित ‘जवाफ नदिएमा बलजफ्ती कब्जा गर्नु’ भनी नवनियुक्त गभर्नर जनरल माक्र्विस आफ हेस्टिङ्सले गोरखपुरमा म्याजिस्ट्रेटलाई अचानक दिएको आदेशबाट उनी युद्धका निम्ति कटिबद्ध भइसकेका थिए भन्ने साबित हुन्छ । यस्तोसम्म अवस्था पुगिसकेपछि शान्तिपूर्ण तरिकाले झगडा टुङ्गिन सक्तैन भनी बुझ्नु भीमसेन थापा जस्ता राजनीतिज्ञका निम्ति गाह्रो कुरा होइन ।” त्यसैगरी ज्ञानमणि नेपालले ‘नेपालको महाभारत (२०७९)’ कृतिको विभिन्न प्रकरणमा “…लडाँइ हारेको भीमसेन थापाकै मूर्खताले हो…।” यिनै सबै कारणले गर्दा वि.सं. १८७१–७२ को नेपाल–अङ्ग्रेज युद्धमा हारेको तर्क पेश गर्नुभएको छ । तर जयचन्द्र विद्यालंकारको ‘गोरखाली इतिहासकी मुख्य धाराएं (ई १९६२)’ मा दिनुभएको तर्कले यसरी पहिल्यै जवाफ दिईसकेको थियो : “उस हारके फलस्वरुप नेपाल राज्यको काली के पच्छिम और मेची के पूरव के प्रदेश तथा दक्खिन तरफ तराई का बहुत सा अंश देना पडा । आधिभौतिक दृष्टिले यह बडी क्षति थी ।…यदी नेपालीयों ने वैसी वीरता और चरित्रदृढता न दिखाई होती तो अंग्रेजो ने काली से कर्णाली या भेडी तकका प्रदेश भी ले लिया होता, और नेपाल राज्यके केन्द्रको भी तभी अपनी कठपुतली बना लिया होता ।”
भीमसेन थापाकालीन बासट्ठीहरणको विषयमा पनि ‘नेपालको महाभारत’ मा ज्ञानमणि नेपालले दिनुभएको तर्क अवलोकन गर्दा भीमसेन थापाको सल्लाहमा राजाले बासट्ठीहरण गरेर राज्यको ढुकुटी बढाउने, गुठी बिर्ता जग्गा हरेर त्यसमा रकम लाएर ढुकुटी बढाउने कार्य गरेको पाइन्छ । त्यसैगरी उहाँले सबै गुठी बिर्ता किपट जग्गाहरुको लगत लिनका लागि वि.सं. १८६२ मा जग्गा हरण गरेको लगायतका विषयमा भीमसेन थापाको योगदानको कदर राष्ट्रिय, अन्तराष्ट्रिय राजनीतिक इतिहासले गरिसकेको छ । बासट्ठीहरण गरेका जग्गा भीमसेन थापाको व्यक्तिगत स्वार्थ र लाभको लागि नभई देशका लागि रहेको सर्वस्वीकार्य इतिहास साक्षी छ । यसलाई अझ प्रष्ट रुपमा उल्लेख गर्दै शोधकर्ता ज्ञानु ढुङ्गेलले “मुख्तियार भीमसेन थापा र तत्कालीन नेपाली साहित्य” मा यसरी लेख्नुभएको छ : “वि.सं १८७२ सालमा स्वामी महाराजलाई बासट्टीहरण जस्तो जोखिपूर्ण कदम चाल्न सल्लाह दिई आर्थिक सङ्कलन गरी राष्ट्रिय आर्थिक स्थिति मजबुद बनाउन प्रोत्साहित गरेका थिए । मुख्तियार स्वामी महाराजलाई अर्थ सङ्कलन गर्न प्रेरणा दिएकाले नै १८७१–७२ को अङ्ग्रेजसंगको युद्धमा नेपालले सशस्त्र युद्ध गर्न सक्यो । भीमसेन थापाले आफू शक्तिमा नहुँदा पनि विभिन्न माध्यमबाट आर्थिक सङ्कलन गर्न प्रेरणा दिएका छन् । सर्वसाधारण नागरिकलाई मर्का नपर्नेगरी हरेक क्षेत्रमा करको व्यवस्था गरी राष्ट्रिय अर्थतन्त्रमा सुधार ल्याएका थिए ।” तर ‘नेपालको महाभारत’ मा उल्लेख गरिए जस्तो किसिमको बासठ्ठीहरण भएको देखिदैन, त्यहाँ छानविन भएर प्रमाण पुगेका जग्गाहरु फिर्ता गरिएका लालमोहरहरु छन् ।
राजाका भारदार दुनियाँ पनि गँजडी, जुवाडे थिए भनी तत्कालिक कवि सुन्दरानन्द बाँडाले लेख्नु भएको कवितालाई भीमसेन थापाको शासनकालमा भएको भनी जोडेर ‘नेपालको महाभारत’ मा यसरी उल्लेख गरिएको आशय प्रकट हुन्छ :
“खेल्छन् रात्दीन जूवा कति कति विजया (गाँजा) फुक्तछन् कोही रुन्छन् ।
निःशङ्कै बात हाक्छन् कति अति खुशि छन् कोही रात्दिन घ्वरिन्छन् ।”
तर यो कविता भीमसेन थापाको शासनकालको चित्रण गरिएको नभएर स्वामी महाराज रणबहादुर शाह काशी जानु भएको समयमा दामोदर पाँडेले राज्य सञ्चालन गर्दाको वास्तविक स्थिति वर्णन गरिएको हो । त्यसैगरी सोही महाभारतमा ज्ञानमणि नेपालले पारिजात, ११ पूर्णाङ्क, १४–२४ लाई उधृत गर्नुहुँदै ९३ जना मारिएको तथ्यलाई साभार गर्नुभएको छ । इतिहास शिरोमणि बाबुराम आचार्यले ९३ जना मारिएको भनेर लेख्नुभएको तथ्यांकलाई नै त्यसपछिका लेखकहरुले पनि निरन्तरता दिएको पाइन्छ । तर राजा रणबहादुर शाहको हत्यापछि भएको घटनामा मारिएका व्यक्तिको संख्या जोड्दाखेरी ५३ जना मात्र रहेको तथ्य शोधकर्ता ज्ञानु ढुङ्गलको ‘मुख्तियार भीमसेन थापा र तत्कालीन नेपाली साहित्य’ मा प्रष्ट पारिसक्नु भएको छ ।
यो पंक्तिकारको विचारमा ज्ञानमणि नेपालद्वारा लिखित ‘नेपालको महाभारत’ को विषयवस्तु अवलोकन गर्दा वास्तवमा ‘भीमसेन थापाको महाभारत’ हो जस्तो अनुभूति हुन्छ । तर भीमसेन थापा विषयक शोधकर्ता ज्ञानु ढुङ्गेलद्वारा लिखित ‘मुख्तियार भीमसेन थापा र तत्कालीन नेपाली साहित्य (२०५६)’ को अवलोकन गर्दा यस्तो पाइन्छ : “नेपालज्यूले थापाको बदनाम गर्ने उद्देश्यले सुन्दरानन्दको प्रस¨लाई अदलबदल पार्ने कुचेष्टा गरेको तर्क पेश गर्नु भएको छ । प्रसङ्ग नबुझी प्रयोग गरेको भए उहाँको अज्ञानतालाई इतिहासले क्षमादान गर्न सक्दछ परन्तु जानीजानी इतिहासपुरुषलाई बदनाम गर्ने प्रयास हो भने नेपाली इतिहास लेखन परम्पराको दुर्भाग्य पक्षमा उहाँको नाम अङ्कित हुनेछ ।” जबकी हग्सनले भीमसेन थापाको मूल्यांकन गर्दै यसरी लेख्नुभएको डायरी योगी नरहरिनाथ ट्रष्टमा सुरक्षित छ त्यहाँ यस्तो लेखिएको छ : “श्री स्वामीज्यू राजा रणबहादुर शाहको घर गन्र्या, बाबा छोराको मिलाप गरी दरबारका बन्दोबस्त गन्र्या भीमसेन थापा हुन् । यस्ता मन्त्री हुन बडो दुर्लभ छ । यस्ता मन्त्री पहाड राज्य नेपालमा अघि पनि भएन, पछि पनि हवैन । यिनका शाखा कृति दानाइ बहुतै छ ।…श्री गीर्वाणयुद्ध विक्रम शाहलाई शक सम्बत् १७२१ (वि.सं. १८५६) सहकालदेखि गादी भयाको थियो । त्यस दिन देखि स्वामीज्यूका कान्छा रानी ललितत्रिपुरसुन्दरी देवीका गोधमा उनको हुकुम लिई भीमसेन थापाले काम काज गर्दा काँगडातक कबुजा पुग्याथ्यो । यती मिहिनत गरी काम काज गन्र्याका र अरुको एक दर्जा हुँदैन । केही दर्जा बडाइदिनु पर्दछ भनी श्री ५ गीर्वाणयुद्ध विक्रम शाहले हुकुम गरी जनरल मान दिई काज काममा राख्याका थिया । यो ऐतिहासिक विवरणबाट भीमसेन थापाकालीन समयमा नेपाल राज्यको विस्तार भएको तथ्यलाई वेलायती राजदूत हग्सनले पनि स्वीकारेका थिए ।
भीमसेन थापाले नावालक युवराजलाई विष सेवन गराइ हत्या गरेको भनी लगाइएको आरोपलाई हग्सनले विश्वास नै नगरी यसरी निर्दोष राष्ट्रसेवकमाथि सुनियोजित षड्यन्त्र गरेको आशय डायरीमा लेखेका छन् : “श्री गीर्वाणयुद्ध विक्रम शाह परलोक हुँदा शक सम्बत् १७३८ (वि.सं. १८७३) मा श्री राजेन्द्र विक्रम शाहलाई गोधमा राखी आफ्ना बज्या श्री ललितत्रिपुरसुन्दरी देवीले हुकुम चलाउँदा उनको हुकुम लिई जनरल भीमसेन थापाले काम काज गर्दा जब श्री राजेन्द्र विक्रम शाहको ११ वर्षको उमेर भयो, त्यसबेलामा श्री भीमसेन थापा, श्री महारानी ललितत्रिपुरसुन्दरी देवीका हजुरमा गई हाम्रा श्री महाराजाको सन्तान घट्दै जान लाग्यो । अव चाँडो गरी विवाह भया वेस हुँदो हो भन्या विन्ति पारी हुकुम लिई गोर्षपुर तर्फका असल राजपुतका कन्या दुई मगाइ विवाह गरिदियाका थिया ।” ती रानीहरु साम्राज्य लक्ष्मी देवी (जेठी) र राज्यलक्ष्मी (कान्छी) सहोदर दिदी बहिनी राजा राजेन्द्र विक्रम शाहकी श्रीमती हुन् । यसरी राजा रानीको पारिवारिक सम्बन्ध जुटाइदिनु हुने भीमसेन थापाले नावालक युवराजलाई कसरी विष खुवाएर मार्न सक्छन् ? हड्सनले मात्र होईन, तत्कालीन राष्ट्रिय, अन्तराष्ट्रिय जगतले निर्दोष राष्ट्रसेवक भीमसेन थापाको नाममा काउण्टर षड्यन्त्र साँधी उहाँमाथि दोषारोपण गरिएको हो । तर, नावालक युवराजलाई विष खुवाएर मार्ने भीमसेन थापा निर्दोष सावित भइसकेका छन् भन्ने निष्कर्षमा पुगिसकेकै थिए । यसलाई अझ खुलस्त पार्दै ज्ञानमणि नेपालले नै लेख्नुभएको ‘नेपालको महाभारत’ मा यस्तो छ : “…मुद्दा पुर्पक्ष हुँदा भीमसेन थापामाथि लागेको विषमुद्दाको अभियोग अनर्थक ठहरियो । विषमुद्दा प्रमाणका लागि पेस गरिएका सबै कागजपत्र पनि कीर्ते ठहरिए । अब भीमसेन थापाले मरेको तीन वर्षपछि विषमुद्दाबाट सफाइ पाए…।” ज्ञानमणि नेपालले ‘नेपालको महाभारत (२०५०)’ मा प्रथम काजी दामोदर पाँडे लुमडीनिरै मारिएको प्रसङ्ग उल्लेख गर्नुभएको छ । तर योगी नरहरिनाथ ट्रष्टमा रहेको हग्सनको डायरीका अनुसार दामोदर पाँडेको लुमडीमा नभइ शोभा भगवती (भाचाखुशी)मा मारिएको उल्लेख छ । दामोदर पाँडेको हत्या पनि भीमसेन थापाले गराएको हो भन्ने दोषारोपण छ । सो हत्या हुनुकोे मूल कारण राजा रणबहादुर शाहलाई बन्दी बनाउनको लागि चाँदीको नेल हतकडी लिई काजी दामोदर पाँडे गएको कुरा काजी रणजंग पाँडेको स्वीकारोक्तीको लालमोहर प्राप्त छ । काजी रणजंग पाँडेमाथि छानविन हुँदा स्वयम उहाँले स्वीकार्नु भएको स्वहस्तलिखित पत्रको विवरण यस्तो छ :
“रणजंग पाँडेले श्री स्वामीज्यू रणबहादुर शाहलाई कौशीबाट चलाउँदा (ल्याउँदा) हाम्रा बाबा दामोदर पाँडे काटिएका हुन भने तिन्का हजुरमा विन्तिका अर्जी चडाइ पठाउन्या फेरि श्री जनरल भीमसेन थापाले र रणजीत पाँडेले हाम्रा बाबा दामोदर पाँडेलाई श्री ५ स्वामीज्यूलाई नेल लगायाको भनी बिन्ती ग¥याको झुठा हो भनी तिनका हजुरमा बिन्ती पार्दा राजा गीर्वाणयुद्ध विक्रमबाट श्री जनरल भीमसेन थापासंग र वीरकेशर पाँडेसंग जोरी बक्सँदा मेरा बाबा दामोदर पाँडेले रणबहादुर शाहलाई नेल हाल्न गयाका हो, मलाई जो सजाय हुन्छ, हवस मैले जानिन, विरायाँ भनी बिन्ती गर्दा…, आजदेखि पछि मेरा बाबा दामोदर पाँडेलाई स्वामी रणबहादुर शाहज्यूबाट बेतकसिरमा काटियाका हो भनी बिन्ती ग¥यादेखि मलाई काटी बक्सनु भनी रणजंग पाँडेले बिन्ती गर्दा हुन्छ लौ अबदेखि मेरा श्री मुमाज्यूबाट बेनिसाफ गरी बक्स्याको ठहराइ बिन्ती गरिस भन्या तँलाई मुखबाट सुइरो हाली मारुँला भनी श्री ५ महाराजबाट हुकुम हुँदामा पनि तिनका हजुरमा स्वामीज्यूको र श्री जनरल भीमसेन थापाको नभयाको धेरै चुक्ली बिन्ती गर्दै रहन्थ्यो । फेरि रणजँग पाँडेले बेहुकुम चीनका श्री बादशाहलाई वि.सं. १८९३ सालमा भीमसेन थापाको विरुद्ध चुक्ली सहितको बिन्ती पत्र पठाएको देखिन्छ । ल्हासाका अम्बाहरुलाई मेरा नाममा मुख्तियारी गर्नु, नेपालका महाराजबाट मलाई मुख्तियारी नखोस्नु भन्या एक करबर रुपैँया पठाइदिनु र श्री जनरल भीमसेन थापालाई र माथवरसिंह थापालाई फिरङ्गीसंग मिली माथवरसिंह थापा कलकत्ता गइ महाराज राजेन्द्रलाई हप्काइ लौ भन्या हुकुम गराइ मुलुक स्वप्न गयो भनी चिठी लेख्न्या महाराजका कान्छा साहेवज्यूलाई मार्नका खातिर एकदेव वैद्यलाई अ¥हाई विष खुवाइ स्वर्ग गरायाको हो भनी बिन्ती पारी छोरीहरुको दाइजो समेत श्री जनरल भीमसेन थापाका दाजुभाइहरु र चाकरी गन्र्याहरु दस दिन्या भाइ समेतको सर्वस्व गराइ एकसुर्ज वैद्यलाई जात लिई कायलनामा नभइ श्री बज्याज्यूका गाथमा पनि रणबहादुरकी श्रीमती (ललितत्रिपुरसुन्दरी देवी) मा विष हालेको औषधी ज्यूनार गराइ बुबाज्यू, बज्याज्यूलाई स्वर्ग गराएको हो भनी बिन्ती पारी नानातरहको शासना गन्र्या उनीहरु भन्या कायल भएनन् भनी हुकुम बक्दा राजहत्यामा कायल हुँदैनन्…।” यी घटनाहरु हग्सनको डायरीबाट साभार गरिएका हुन् ।
राष्ट्रिय अभिलेखालयमा सुरक्षित ‘महत्वपूर्ण कागजात’ मा उल्लेख गरिएको विवरण अनुसार वास्तवमा हग्सन भीमसेन थापालाई भौतिक रुपमा हत्या गर्न चाहेका हुँदैनन् । किनकि दरवारिया आन्तरिक षड्यन्त्र भइरहँदा हग्सनले भीमसेन थापालाई काट्न, मार्न, झुण्ड्याउन दिएनन्, उल्टै उनले भीमसेन थापाको बचाउको पक्षमा राजा राजेन्द्र समक्ष विरोध गरे । हग्सनले भीमसेन थापासंग दोहोरो रोल खेले पनि भीमसेन थापाको व्यक्तिगत सुरक्षामा भने हग्सन संवेदनशील नै रहेको उहाँको डायरीबाट खुल्न आउँछ ।
भीमसेन थापालाई वि.सं. १८९२ आश्विन २८ गते राजा राजेन्द्रबाट “कमाण्डर-इन-चिफ” पदवी प्रदान गरिएको थियो । तर दिवंगत भएका अधिराजकुमारलाई विष ख्वाएको मिथ्या आरोप लगाई त्यसको झण्डै २ वर्षपछि भीमसेन थापाको वि.सं. १८९४ श्रावण ११ गते मुख्तियारी तथा श्रीसम्पत्ति सर्वस्वहरण गरी बन्दी बनाइयो । तर उहाँमाथि लगाईएको मिथ्या आरोप प्रमाणित हुन सकेन । नसकेपछि राजाले पूर्ण भारदारी सभामा भीमसेन थापाको कदर गर्दै सम्मानका साथ पहिरन र दरबारको घोडा उनलाई उपहार समेत दिई बन्दी जीवनबाट छुटकारा दिलाई लावालस्करका साथ विदाई गरे । यसरी बन्दी जीवनबाट छुटकारा पाईसकेपछि भीमसेन थापा गोरखाको बोर्लाङमा गई आफूले बनाएको घरमा बस्न थाल्नु भयो । पछि वि.सं. १८९५ साल माघमा विषमुद्दा व्युत्याँइ सोधपुछको निहुले बोलाई भीमसेन थापालाई तत्कालीन यंगाल टोल अर्थात् हालको काठमाण्डौ महानगरपालिका वडा नं. २१, इकुवहाल नजिकको निजी घरभित्र पुनः दोस्रो पटक नजरबन्दमा राखिएको थियो । भीमसेन थापाले सफाइको लागि विभिन्न प्रमाणहरु प्रस्तुत गर्दा समेत सोको सुनुवाइ भएन, उल्टो उहाँको प्रतिष्ठामा आँच आउने गरी विभिन्न अफवाह फैलाइयो । यसबाट उहाँको स्वाभिमानमा ठूलो चोट पुग्न गयो । यसरी बन्दी बनाएको खबर ब्रिटिस राजदूत व्रायन हग्सनले हङकङमा रहेका आफ्ना गर्भनर जनरललाई ढिलो गरी पठाए । त्यो खबर पाउनासाथ गर्भनर जनरलले भीमसेन थापालाई केही नगर्नु भन्ने खबर पठाए । तर त्यो खबर आउन पनि धेरै ढिला भइसकेको थियो । खबर आइपुग्दासम्म नजरबन्दमा रहेका भीमसेन थापाको यंगाल टोलमा नजरबन्दमा राखिएकै निजी निवास (बन्दीगृह) मा विक्रम सम्बत् १८९६ साउन ८ गते प्राण त्याग गर्ने प्रयास गर्नु भयो । सो को ८ दिनपछि विक्रम सम्बत् १८९६ साउन १६ गते उहाँको इहलीला समाप्त भइसकेको थियो । शायद, त्यो बेला हङकङमा रहेका गर्भनर जनरल कलकत्तामा भएको भए भीमसेन थापालाई केही नगर्नु भनी छिटै निर्णय आउथ्यो होला ! हग्सन भीमसेन थापाको कट्टर विरोधी भएता पनि भीमसेन थापाको अवसान पश्चात रोएको प्रमाण हग्सनको डकुमेण्टबाट देखिन्छ । शायद भीमसेन थापाको अवसानको पश्चतापको रापले हुन सक्छ ! राजा राजेन्द्रले वि.सं. १९०२ साल साउनमा भीमसेन थापाले स्थापना गर्नुभएको भीमभक्तेश्वर महादेव मन्दिरमा महास्नान गराउनको लागि राजा स्वयमले संकल्प गरेर दिनुभएको करिब तीस रोपनी जग्गाको अभिलेख राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । यसरी राष्ट्रिय विभूति भीमसेन थापाको स्मरण र योगदानको कदर नेपाली वीर, विद्वान, विदुषी, राष्ट्रप्रमुख, सरकार प्रमुखहरुले त गर्ने भई नै हाले तर विदेशी व्रायन हग्सन लगायतका अन्य तत्कालीन विदेशी शक्तिशाली नेता, राष्ट्रप्रमुख, सरकार प्रमुख र कूटनीतिज्ञहरुले पनि राष्ट्रसेवक भीमसेन थापाको काम कार्यको खुलेर प्रशंसा गरेको इतिहास विश्व समक्ष साक्षी छ । चीनका बादशाह समेत प्रभावित भइ भीमसेन थापालाई वि.सं. १८८१ मा ‘लालगजुर मयूरको कल्की र खिल्लत’ प्रदान गरेर तत्कालीन विश्वमै ठूलो सम्मान गरेका थिए । पञ्जाब केशरी रणजित सिंहले पनि भीमसेन थापाको बारेमा यसो भन्नु भएको छ : ‘तेस्तो संभार गरि दिन्या मानिस मेरो साथमा भयादेखि यत्ति अम्मल गन्र्या थियाँ ।’ त्यसैगरी कार्ल माक्र्सले पनि ‘एशियामा अङ्ग्रेजी साम्राज्यको विरोधी नेता एकमात्र (भीमसेन थापा) थिए’ भन्नुभएको छ । पि.ल्याण्डनले ‘भीमसेन नेपाल थिए नेपाल भीमसेन थिए’ भनी उद्वगार व्यक्त गर्नुभएको छ । एच.ओल्डफिल्डले पनि ‘भीमसेन थापाका लागि राष्ट्रको स्वाधिनताभन्दा निकट र प्रिय वस्तु अरु केही थिएन’ भनी मूल्यांकन गर्नुभएको छ । यसरी भीमसेन थापालाई तत्कालीन देशी, विदेशी शक्ति केन्द्रहरुले गरेको सम्मानको फेहरिस्त यहाँ उल्लेख गरिरहन अझै धेरै पाना खर्चिनु पर्दछ । यसकारण देशभक्त, इमान्दार राष्ट्रसेवक भीमसेन थापालाई राज्यले राष्ट्रिय विभूतिको रुपमा गरेको सम्मानप्रति देशभक्त नेपालीलाई चित्त दुखाउने ठाउँ देखिदैन । आम नेपालीको स्मरणमा राष्ट्रिय विभूति भीमसेन थापा युगदेखि युगसम्म अमर हुनुहुन्छ । यससंगै आज राष्ट्रपति भवन शितल निवासमा २५० औं राष्ट्रिय विभूति मुख्तियार भीमसेन थापा जन्म जयन्ती समारोह भव्यताका साथ सम्पन्न हुन गइरहेको छ ।
(लेखक राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कार्यकारी सदस्य हुनुहुन्छ) ।
प्रतिक्रिया