December 4, 2024, 7:28 pm
» नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध : स्वास्थ्यमन्त्री पौडेल » चीनसँग ऐतिहासिक महत्त्व राख्ने सम्झौता भएका छन् : प्रधानमन्त्री » डेंगु सङ्क्रमण घट्दै » चितवनमा रास्वपा कार्याकर्ता र प्रहरीबीच झडप, आठजना घाइते » नेप्सेमा २५ अंकको गिरावट, १३२ कम्पनीको शेयर मूल्य घट्यो

बाढीपहिराले मध्यपहाडी राजमार्गको ४० किलोमिटर क्षतिग्रस्त

साउन ३, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

पाँचथर : बाढीपहिराले पुष्पलाल (मध्यपहाडी) राजमार्गको उद्गम खण्डको १२ किलोमिटर सडकमा धेरै क्षति भएको छ भने समग्रमा ४० किलोमिटर क्षेत्रका पुलपुलेसा, कल्भर्ट बगेका छन्।

बाढीपहिराका कारण कालोपत्रको चरणमा रहेको उक्त सडकको भागमा क्षति भएको फिदिमस्थित पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय प्रमुख वीरेन्द्रकुमार यादवले जानकारी दिए। राजमार्गको उद्गमविन्दु चिवाभञ्ज्याङबाट पाँचथरको याङवरक गाउँपालिका–४ दारिम्बासम्म ५१ किलोमिटर सडक कालोपत्रका क्रममा छ। यही खण्डमा असार पहिलो साता परेको अत्यधिक वर्षाले दर्जनौँ स्थानमा पहिरो खस्दा ठूलो क्षति भएको उनले बताए।

यहाँको ओयाम खोला र फलाम खोलामा रहेका पक्की सडक पुल नै बाढीले बगाएको छ। सिलसिले खोलाको पुलमा पनि क्षति भएको छ। बाढीपहिराले यहाँका साना–ठूला गरी आठवटा पुलामा क्षति भएको प्रमुख यादवले बताए। बाढीपहिराका कारण धेरै स्थानमा सडक पुरिएको छ भने कतिपय स्थानमा दबेर तथा बगेर गएको छ। याङवरक गाउँपालिका–१ च्याङथापु, वडा नं २ फलैँचा, वडा नं ३ ओयाम र वडा नं ४ र ५ थर्पुको सडकमा क्षति भएको। सबैभन्दा बढी वडा नं ३ ओयाममा सडक क्षति  भएको याङवरक गाउँपालिका–३ का वडाध्यक्ष विमल राईले बताए।

वडाध्यक्ष राईका अनुसार बाढीपहिराले अवरुद्ध सडक पुष्पलाल (मध्यपहाडी) राजमार्ग योजना कार्यालय फिदिम तथा याङवरक गाउँपालिकाको समन्वयमा एकतर्फी सञ्चालन भए पनि सहज बनाउन समय लाग्नेछ। ‘अहिले मध्यपहाडी राजमार्ग कामचलाउ सञ्चालन भए पनि वर्षा हुनासाथ दुर्घटनाको जोखिम छ’, राईले भने, ‘अन्य ग्रामीण सडक क्षतविक्षत छन्।’

बाढीपहिराले सडकका अतिरिक्त खानेपानीका मुहान तथा ट्याङ्की, लघुजलविद्युत् योजना, सिँचाइका योजनामा पनि ठूलो क्षति भएको छ। याङवरक–२ का वडाध्यक्ष देउकुमार योङहाङका अनुसार स्थानीयवासीका आयआर्जनको मुख्य माध्यम अलैँचीखेती हुने सयौँ रोपनी जमिन पहिराले बगाएको छ।  बाढीले गत वर्ष मध्यपहाडी राजमार्गमै पर्ने दोभान खोलाको सडक पुल बगाएको थियो। उक्त पुल हालसम्म पुनःनिर्माण भएको छैन।

यसैबीच, याङवरकका पाँचवटा वडामा भएको क्षतिको विवरण सङ्कलन भइरहेको गाउँपालिका उपाध्यक्ष बाबा मेन्याङ्बोले जानकारी दिए। जिल्ला प्रशासन कार्यालयले बाढीपहिराबाट हालसम्म १० परिवार पूर्ण रूपमा विस्थापित भएका जनाएको छ। रासस

facebook sharing button
messenger sharing button
twitter sharing button
whatsapp sharing button
viber sharing button
sharethis sharing button

प्रतिक्रिया