श्रीकृष्णको अबैधधन्दा : ‘गुड डे’ ले लिन सक्छ ज्यान, बोटलभित्र भेटियो यस्तो बस्तु

- July 8, 2022 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– मनोज खतिवडा

काठमाडौं । काठमाडौं उपत्यकामा खानेपानी अभावको मौका छोपी विभिन्न ब्राण्डको जार र मिनिरल वाटरको कारोबार हुदै आएको छ । यसरी कारोबार गर्ने अधिकाशं कम्पनीबाट उत्पादन भएका गुणस्तहिन पानी उत्पादन तथा वितरण गर्दै आएको एक कम्पनीको मिनिरल वाटरको सिलप्याक बोटलभित्र अखाद्य बस्तु भेटिएको छ ।

पिउने पानीको अत्याधिक मागको फाईदा उठाउदै अखाद्य बस्तु समेत बोटलभित्र परे पनि सफाई नै नगरि पानी भरेर बजार पठाउदै आएको ‘श्री कृष्ण बेभरेज’ नामक कम्पनीले उत्पादन गरेको ‘गुड डे’ नामक मिनिरल वाटर बोटलमा अखाद्य बस्तु भेटिएको हो । सो कम्पनीबाट बजारमा सिलप्याक गरेर पठाएको, व्याज नम्बर समेत नभएका, धेरै अगाडी उत्पादन गरेको पानी बजार पठाउदै आएको छ ।

सो कम्पनीले उत्पादन गरेको ‘गुड डे’ नामक मिनिरल वाटरको सिलप्याक बोटलभित्र खुला आँखाले देखिने ‘रवर’ सहितको पानी बजारमा पठाई आम उपभोक्ताहरुको स्वास्थ्यमाथी खेलवाड गर्दै आएको भेटिएको छ । कागेश्वरी मनहरा नगरपालिका वडा नम्बर ९ काठमाडौं ठेगाना राखी रजिष्टर नम्बर ३३९०५/१३६५ उल्लेख गरि ‘अप्रिल २०२२’ मात्र उल्लेख गरेको पानीको बोटलमा सो रबर भेटिएको हो । यस अघि पनि पटकपटक सो पानी कम्पनीमाथी खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहिन भएको भन्दै सिलबन्दी गर्नेदेखि अन्य कारबाही गर्दै आएको विवरण विभागको अभिलेखमा उल्लेख छ ।

सो कम्पनीहरुले मनपरी ढंगले फोहोर पानी सप्लाई गरि अन्धधुन्ध पानी भरेर बिक्री गर्दै आएको समेत पाइएको छ । आफुखुशी जार तथा बोतलमा ‘मिनिरल वाटर’ भन्दै बेचिने पानीमा प्रदूषित किटाणु तथा अखाद्य वस्तु बढीमात्रामा भेटिदै आएको छ । मानव स्वास्थ्यमाथि नै खेलबाड गरी व्यापारको नाममा बद्मासी गर्ने व्यापारीलाई हालसम्म पनि कारबाहीमा खासै ध्यान सरकारले नदिएकै कारण यो अबैध कार्यले तीव्रता पाएको हो ।
यसरी अखाद्य बस्तु सहित बिक्रीका लागि बजार पठाएको पानीको सम्बन्धमा सो कम्पनीका सञ्चालक मेघनाथ चौलागाईसंग सम्र्पक गर्दा उनले भने,‘त्यो कम्पनीले गरेको हैन, कामदारको लापरबाहीका कारण भएको होला, त्यो जानीजानी नगरेकाले कहिले काही भुलचुक गल्ती हुनु सामान्य कुरा हो, यो समाचार लेख्ने विषय नै हैन ।’

सिलप्याक बोटलभित्र आखाद्य बस्तु हुन कसरी सामान्य विषय भयो भनी प्रतिप्रश्न गर्दा चौलागाईले भने,‘फेरी भन्छु यो सामान्य विषय हो, यस समबन्धमा मुद्दामालिमिला परेपनि म भोग्न तयार छु ।’ यसै विषयमा नेपाल बोटल वाटर उद्योग संघका अध्यक्ष ध्रव गौतमसंग सम्र्पक गर्दा उनले फोन ‘रिसिभ’ गरेनन् । स्मरण रहोस चौलागाई सो संघको पुर्व केन्द्रीय कोषाध्याक्ष हुन ।

पानीजस्तो अत्यावश्यक वस्तुमा भएको फोहोरी खेलमा उद्योगीहरुको लापरबाहीमाथी सरकारी निकाय मौन वस्नु तथा व्यापारीहरुको मनोमानी हावी हुँदा चेपुवामा भने सर्वसाधारण उपभोक्ता पदै गएका छन् । यसरी अबैध रुपमा उत्पादन गरि बजार पठाएको अखाद्य बस्तुको बिक्री वितरण गरेको खण्डमा ‘खाद्य ऐन २०२३ को निमावली २०२६’ अन्तर्गत सञ्चाकहरुमाथी अनुचित कार्य र गुणस्तहिन पानी बिक्री गरेको अभियोगमा कारबाही हुने राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले बताए ।

उनका अनुसार सो ऐनअन्तरगत १० हजार रुपैयाँ जरिवाना, अनुमति पत्र खारेजीदेखि १ वर्ष सम्म कैद हुने व्यवस्था गरेको बताए । यसैगरी अध्यक्ष महर्जनका अनुसार सो कार्य गर्नेमाथी अर्को ऐन ‘उपभोक्ता संरक्षण ऐन २०७५ नियमावली २०७६’ अनुसार पनि कारबाही हुने बताए । अध्यक्ष महर्जनका अनुसार सो अबैध कार्य गर्ने कम्पनीका सञ्चालकहरुमाथी अधिकतम ५ लाख रुपैयाँ जरिवाना तथा ५ वर्ष कैद हुने ऐनमा व्यवस्था गरेको जनाए ।

अन्नपूर्णको मिनरल वाटर गुणस्तरहीन : बिक्री वितरणमा रोक


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!