सिंहदरबारको माकुरीजालमा गृहमन्त्री रवि : रास्वपाको मिसन ८४ मा डढेलो लाग्ने

- May 5, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं । गत बैशाखमा १५ गते भएको इलाम क्षेत्र नं।२ को उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले पाँच हजार ५० मत ल्याएपछि जमानत समेत जफत भएको छ ।

जमानत जफत हुनेमा रास्वपासहित १६ जना उम्मेदवार रहेका छन् । बडो तामझाम र स्टन्डबाजीसहित ठूला दल काँग्रेस–एमालेलाई गालीगलौज गरेर रास्वपा चुनावी मैदानमा होमिएको थियो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुलाई जिताउन संघीय सरकारका चारजना मन्त्रीहरु उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, श्रम तथा रोजगार मन्त्री डोलप्रसाद अर्याल, खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ र शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ मन्त्रालयको काम नै छाडेर निर्वाचनमा होमिएका थिए ।

रास्वपाका उपसभापति स्वर्णिम वाग्ले, सांसद डा. तोसिमा कार्की लगायतका नेताहरु बास बसेर चुनावको प्रचारप्रसार गर्दा पनि जनताले पत्याएनन् र चौथो बन्न पुगे ।

स्वतन्त्र उम्मेदवार डेकेन्द्रसिंह थेगिमभन्दा पनि तल परेपछि रास्वपाको भविष्य अँध्यारो सुरुङ्गतर्फ धकेलिएको र मिसन २०८४ मा डढेलो लागेको जानकारहरुले बताएका छन् ।

२०७९ साल असारमा नवशक्तिका रुपमा उदाएको रास्वपालाई काँग्रेस–एमाले र माओवादीसँग रुष्ठ मतदाताले मत दिएर संसदको चौथो ठूलो दल बनाएका थिए ।

२०८० बैशाख १० गते चितवन र तनहुँमा पाएको मतले रास्वपाका सभापति रवि लामिछानेले २०८४ सालको चुनावमा बहुमत ल्याउने डंका पिट्दै देशभरी हिँडे ।

इलाम–२ को उपनिर्वाचनले रास्वपाको दाँतमा ढुंगा लाग्न पुग्यो ।

कुनै नीति सिद्धान्त र विचार नभएको पार्टीका सभापति रवि लामिछाने माथि विभिन्न सहकारी ठगीको आरोप र गृहमन्त्रालय नै चाहिने अड्डीले गर्दा मतदाताको मनोविज्ञानमा असर पारेकाले नरुचाएको चर्चा राजनीतिक वृत्तमा चलेको छ ।

दोश्रो पटक गृहमन्त्री बनेका लामिछानेले जनतामा आशा जगाउन सकेनन् र सरुवा बढुवा तथा सिंहदरबारको माकुरीजालमै घेरिन पुगे ।

काँग्रेस र एमालेलाई अक्षम देखाएर उदाएको रास्वपा सैद्धान्तिक धरातलमा टेकेर र सिद्धान्त विनाको राजनीतिलाई भन्दा स्टन्डबाजी गरेर उदाएकोले २०८४ मा रास्वपालाई हाल बनमा लागेको डढेलोजस्तै लाग्ने बताइएको छ ।

नेपाल र खनालको राजनीतिक भविष्य संकटमा
नयाँ दल नेकपा ९एकीकृत समाजवादी० गठन गरेका अध्यक्ष माधवकुमार नेपाललाई इलाम र बझाङ प्रदेशसभाको उपनिर्वाचनले निद हराम बनाएको पार्टी सम्बद्ध श्रोतले बताएको छ ।

संसदमा छैटौं दल बन्न पुगेको नेकपा एस यतिबेला अस्तित्व रक्षाको लडाइँमा रहेको बताइन्छ ।

संघमा १० सिट भए पनि नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा आकर्षक मन्त्रालय लिएर स्वार्थपूर्ति गर्दै आइरहेका अध्यक्ष नेपाल र सम्मानित नेता झलनाथ खनालको आगामी राजनीतिक भविष्य संकटमा परेको जानकारहरुले बताएका छन् ।

यही बैशाख १५ गते सम्पन्न उपनिर्वाचनमा नेकपा एमाले, राप्रपा र नाउपाको कन्तविजोग भएको नयाँ विमर्शमा उल्लेख छ ।

वाह्य शक्तिको इशारामा प्रधानमन्त्री दाहाललाई हटाउने खेलमा सक्रिय रहेका नेपालको रणनीति थाहा पाएर नेकपा (एस) लाई सरकारबाट हटाई राष्ट्रिय प्रजातन्त्र पार्टीलाई सरकारमा ल्याउने प्रधानमन्त्री दाहालको तयारी रहेको राजनीतिका ज्योतिषहरुले बताएका छन् ।

गण्डकी प्रदेश र कोशी प्रदेशमा राप्रपाले सरकारमा जाने इच्छा देखाएपछि संघमा पनि राप्रपा २,३ वटा महत्वपूर्ण मन्त्रालय रोजेको चर्चा चलेको छ ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!