शिरमा बार्है महिना चादी झै टलल्ल टल्कने कन्चनजङ्घा कुम्भकर्ण हिमाल (ताप्लेजुङ)को छातिमै नेपालकै एक प्रसिद्ध पवित्र धार्मिक तिर्थस्थल पाथीभरा मन्दिर ताप्लेजुङको मात्र हैन नेपाल् ,नेपालीको गौरव,गरिमा बढाएको छ । शिरमा विश्वको तेस्रो र नेपाल् कै दोस्रो शिखर कंचनजङ्घा र अनि छातिमै पाथीभरा भगवती मन्दिर हुनु आफैमा एक अर्कोमा सुनमा सुगन्धको महत्व दर्शाउछन। शक्तीकि देवि भगवतीले आफ्नो मनोकामना(भाकल) पूरा हुने बिश्वासका आधारमा देश बिदेशका नेपाली लगायत दिनहु हजारको हाराहारीमा भक्त जनहरु आउने गर्छन ।समुद्री सतहदेखि करिब ३,७९४ मिटर उचाइमा रहेको पाथीभरा देवी मन्दिर शक्ति पीठहरूमध्ये एक हो।पाथीभरा देवीलाई शक्तिस्वरूपा मानिन्छ र पाथीभरालाई मनकामना देवीसरह ‘इच्छा पूरा गर्ने’ देवीका रूपमा समेत पूजा गरिन्छ।
सन्सारकै तेस्रो सर्वोच्च शिखर र नेपालको दोस्रो शिखर हुनुमा कन्चनजङघाले देशको पर्यटन क्षेत्रमा जति महत्व राख्छ उतिकै महत्त्व विशेषगरी हिन्दु अनि बौद्ध ,किरात र अन्य धर्मावलम्बीद्वारा समेत पाथीभराको धार्मिक सास्कृतिक पर्यटनमा महत्त्व राखेको पाथीभरा मन्दिर ताप्लेजुङ सदरमुकाम फुङलिङबाट करिब १९.४ किलोमिटर उत्तरमा पर्छ। धार्मिक यात्रासँगै यो स्थान प्राकृतिक सौन्दर्य, हिमशृंखला दृश्य, र जैविक विविधताका लागि प्रसिद्ध छ। विशेष गरी, वसन्त र शरद ऋतुमा यहाँ पर्यटकहरूको चहलपहल बढ्छ। पछिल्लो समय केवलकार निर्माणको योजना अघि सारिएको छ, जसले धार्मिक पर्यटनलाई थप प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।पाथीभरा देवीको मन्दिर प्राकृतिक, सांस्कृतिक, तथा धार्मिक दृष्टिले महत्वपूर्ण सम्पदा हो, जसले ताप्लेजुङ मात्र होइन, सम्पूर्ण नेपालको पर्यटन र अर्थतन्त्रलाई टेवा दिन सक्छ।
मुकुम्लुङ संघर्षको प्रभाव
‘मुक्कुम्लुङ संघर्ष समिति’ ले आमहड्ताल आह्वान गरेपछि पूर्वका नौ जिल्ला प्रभावित बने। पाँचथर, धरानलगायतका स्थानमा व्यापक विरोध प्रदर्शनहरू भए।झडपको क्रममा प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालाई ज्यान मार्ने धम्की दिएको आरोप ‘नो केवलकार’ पक्षमाथि लागेको छ । प्रदर्शनकारीहरूले मुक्कुम्लुङ क्षेत्रलाई प्राकृतिक, सांस्कृतिक र धार्मिक रूपमा महत्वपूर्ण भन्दै केवलकार निर्माण रोक्नुपर्ने अडान राखे । उनीहरूको दाबीअनुसार, रूख कटानीका कारण चराचुरुङ्गी र वन्यजन्तुको बासस्थान नष्ट भएको छ। रेड पान्डा, डाँफेजस्ता संरक्षित जन्तुहरू संकटमा परेका छन्।प्राकृतिक बिनाशको क्षमायाचना स्वरुप हाक्पारे थान र कान्छी थानमा पाथीभरा र युमासँग मुन्धुमअनुसार क्षमायाचना पुजा समेत गरिएको छ। कान्छी थानबाट मुक्कुम्लुङसम्म धागो तान्ने परम्परागत अभ्यासलाई स्थानीयहरूले आफ्नो धार्मिक पहिचानसँग जोडेका छन ।
यो राजनीतिप्रेरित आन्दोलनमा ‘व्यक्ति, दल, पहिचानवादी वा विभिन्न धर्मको नाममा जो–जो जोडिए पनि’ लगानीकर्तालाई निरुत्साहित पार्नु, बिकासको नाममा तछाड मछाड राक्षसी प्रवृत्ति र सोझा सिधा स्वाभिमान जनतालाई भ्रमित पार्नु नै द्वन्दका मुख्य असर हुन।
केवलकार विकास कि विनाशको संकेत
सरकार र आन्दोलनकारीबीचको झडपले हिंस्रक रूप लिएपछि धेरै घाइते भएका छन् । सामाजिक सञ्जालमा आएका खबरहरू अनुसार, कयौंको टाउकोको चोटमा टाँका लगाउनुपरेको छ, केहीको खुट्टा भाँचिएको छ, गोली लागेको खबरसमेत छ। प्रहरीले अश्रुग्यास प्रयोग गरेको छ, केही प्रदर्शनकारीका झोला, घडी, पैसा जलाइएको दाबी गरिएको छ । घटनास्थलको विकराल अवस्था हेर्दा नेपाल–अंग्रेज युद्धकै झल्को दिनेगरी द्वन्द्व उग्र बनेको थियो । कतै माओवादिहरुको जनयुद्धको अवस्था सङ्कटकाल त हैन जस्तो दृश्य गतिविधि देखिएको थियो ।
धार्मिक सास्कृतिक क्षेत्रमा केवलकार बन्न लागेको यहि पहिलो भने होइन अन्य महत्त्वपूर्ण धार्मिक क्षेत्रमा केवलकार बनिसकेका छन ।मनकामना, कालिन्चोक, मौलाकालीलगायतका धार्मिक स्थलहरूमा केवलकार बनेर पनि पर्यटन प्रवर्द्धन भएको, धार्मिक तथा सांस्कृतिक संरक्षणमा योगदान पुगेको उदाहरण छ। केवलकारले यातायात सुविधा वृद्धि गर्छ, आन्तरिक तथा बाह्य पर्यटनलाई टेवा पुर्याउँछ।
मुकुम्लुङको धार्मिक, सांस्कृतिक र पर्यावरणीय महत्वको सवाल
“मुक्कुम्लुङ” लिम्बू समुदायको परम्परागत शब्द हो, जसको अर्थ पवित्र भूमि भन्ने बुझिन्छ। मुक्कुम्लुङ लिम्बू संस्कृतिमा धार्मिक र सांस्कृतिक रूपमा महत्त्वपूर्ण स्थानलाई जनाउने शब्द हो। यसको अर्थ “पवित्र ठाउँ” वा “पवित्र भूमी”परम्परागत संस्कारहरू,ऐतिहासिक रूपमा विशेष महत्त्व बोकेको भूमिलाई जनाउछ । ऐतिहासिक तथा सांस्कृतिक स्थलको रूपमा लिम्बू समुदायले यो स्थानलाई मुक्कुम्लुङका रूपमा मान्यता दिएका छन्। केही अभियन्ताहरूका अनुसार केवलकार निर्माणले यो पवित्र भूमिको अस्तित्वलाई खतरामा पार्नेछ। धार्मिक परम्परा अनुसार यो स्थानसम्म पैदलै यात्रा गरी पूजा गर्नुपर्ने मान्यता छ। “हाम्रो सांस्कृतिक सम्पदा मास्न पाइँदैन” भन्ने नारासहित स्थानीय समुदायले केवलकार निर्माणको विरोध गर्दै आएका छन्। मुक्कुम्लुङ अभियन्ताहरूले केवलकार निर्माण रोक्नुपर्छ भन्दै शान्तिपूर्ण आन्दोलन गरेका थिए, तर विवाद चर्किँदै जाँदा हिंसात्मक झडपमा परिणत भयो।
विरोध गर्ने पक्षको भनाइमा केवलकारका कारण प्रकृति नष्ट हुनेछ, रुख कटान, वन्यजन्तुको वासस्थान नष्ट हुने, धार्मिक मूल्यमान्यतामा आँच आउने जस्ता मुद्दाहरू उठाइएको छ । बिगत ५/६ बर्स देखि मुकुम्लुङको सुरक्षाको बिसयमा केवलकार बन्न नहुने बिसयमा आवाज उठाउदै आएको मुकुम्लुङ अभियन्ता राम मादेन सन्चारकर्मीसङ बताउनु भयो ।
आस्थाको धरोहर हाम्रो मुन्धुमी सस्कृतिको धरोहर नभत्काइदेउ भन्ने माग बाहेक अरु केही नभएको नो केवल कार पक्षको रहेको भनाइ छ ।कान्छी थान देखि डाडासम्म जीवनको धागो बाध्दै जाने हाम्रो परम्परालाई नस्ट नगरिदेउ आदि मुख्य माग थिए ।
पत्रकार, कानुन ब्याबसायी राजनीतिकर्मिहरुले यी यस्ता तर्क र माग राखे !धार्मिक, सास्कृतिक,पर्यावरणीय महत्व र सरक्षणको सवाल पनि आफ्नो ठाउँमा आफ्नै तर्कहरु जायज मन मस्तिष्कलाई प्रभावित पार्ने खालका अवस्य छन । तर हालसम्म नेपालमा बनिसकेका अन्य केवलकारहरुले धार्मिक, सास्कृतिक, प्राकृतिक र पर्यावरणीय सरक्षण र सम्बर्द्धन गरेकै अवस्थामा छन । धार्मिक, सास्कृतिक, प्राकृतिक र पर्यटन सर्वोपरी हितमा केवलकार संचालित छन।
केवलकार समर्थकहरूको तर्क: केवलकारले वृद्ध, असक्त, अपाङ्ग तथा सर्वसाधारणलाई यात्रा सहज बनाउनेछ । धार्मिक पर्यटन प्रवर्द्धन हुनेछ।स्थानीय अर्थतन्त्रमा टेवा पुग्नेछ । रोजगार सिर्जना हुनेछ । विदेशी तथा आन्तरिक लगानी भित्र्याउन मद्दत गर्नेछ ।
केवलकार विरोधीहरूको तर्क: सांस्कृतिक सम्पदा तथा धार्मिक मूल्यमान्यता मासिनेछ । वनजंगल नष्ट भएर पर्यावरणीय क्षति हुनेछ ।वन्यजन्तुको वासस्थान जोखिममा पर्नेछ।परम्परागत धर्म, संस्कृति, पहिचानमा आघात पुग्नेछ ।
सरकार, निजी क्षेत्र र स्थानीय समुदायको भूमिका
“सास्कृतिक अतिक्रमण बन्द गर ! संस्कृतिक सम्पदा मास्न पाइँदैन!” यस्तै नारा सहित सुरु भएको शान्तिपूर्ण प्रदर्शन राँके जुलुसमा परिणत भयो। राति ढोका भत्काइए, उज्यालो नभएसम्म कुटपिट र गिरफ्तारका दृश्यहरू सामाजिक सञ्जालमा देखिए। समाचारहरूका अनुसार, केही प्रदर्शनकारीको निर्मम कुटपिट गरियो, जसबाट केहीको हातखुट्टा भाँचिएको छ। प्रहरी प्रशासनले १५ जनालाई गिरफ्तार गरिएको जनाएको छ, तर ‘नो केवलकार’ पक्षधरहरूले ३०–३५ जना बेपत्ता बनाइएको दाबी गरेका छन् ।
राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतो ‘नो केवलकार’ समूहमा सक्रिय देखिए, जसले देशव्यापी संघर्षको चेतावनी दिए। उनले राज्यको दमन स्वीकार्य नहुने बताउँदै विरोध जारी राख्ने उद्घोष गरे । यसैबीच, केवलकार पक्षधर पदम चेन्जी माबोलाई धरानमा ‘नो केवलकार’ समूहले कालोमोसो दलेको दृश्य सार्वजनिक भयो। आन्दोलनरत पक्षले पत्रकारहरूको क्यामेरा खोसिएको, ठेकेदारहरूले आफैं प्रदर्शनकारीमाथि आक्रमण गरेको आरोप लगाए। ‘हाम्रो पहिचानको प्रतीक मुकुम्लुङ मास्न पाइँदैन’ भन्दै उनीहरूले जंगल विनाश, लालीगुराँसका रूखहरू कटानी, जीवजन्तुको बासस्थान नष्ट भएको आरोप लगाए ।
नेपालमा केवलकार बिकासको आधार
कलकारखाना बिना मुलुकको आर्थिक समृद्धि कल्पना पनि गर्न नसकिने भएको कारण यी यस्ता राष्ट्रिय गौरवका आयोजनाहरुमा राजनीतिक खेलको कारण देशको बिकासमा अवरोध आउनुले नेपालको राजनीतिक बिकृत अवस्था झल्किन्छ ।
नेपालमा केवलकार पहिलो पल्ट बन्न लागेक भने पक्कै होइन पहिलै नेपालका छ ठाउँमा केबलकार संचालनमा रहेको छ । मनकामना केबलकार (कुरिन्टार गोरखा)चन्द्रागिरि केबलकार (थानकोट, काठमाडौं) कालिञ्चोक केबलकार (कुरी, दोलखा) अन्नपूर्ण केबलकार (पामे, पोखरा) मौला काली केबलकार (गैँडाकोट, नवलपुर) लुम्बिनी केबलकार (गोलपार्क बुटवल) यी ६ वटा सञ्चालनमा रहेका छन, २ वटा सन्चालनको परिक्षणमा छन ६ निर्माणको तयारी रहेका छन।
यसरी हेर्दा पहिलै पनि धार्मिक क्षेत्रहरुमा केवलकार बनिसकेकाछन ।धार्मिक सास्कृतिक क्षेत्र मात्र हैन पर्यटनको समेत प्रबर्द्धन र बिकास भएको छ।मनकामना, चन्द्रागिरि, अन्नपूर्ण, कालिञ्चोक, मौलाकाली र लुम्बिनी केबलकार सञ्चालनमा आइसकेका छन् । यी केवलकारहरुले सर्वोपरी बिकास र अर्थतन्त्रलाई ठूलो टेवा दिएका छन । चन्द्रागिरिमा रिसाेर्टसहितकाे केबलकार सञ्चालनमा आइसकेकाे छ भने अन्य स्थानमा केबलकार सञ्चालनमा आएपनि रिसाेर्ट निर्माणकै क्रममा छ।
निजि उद्योग र लगानीको चुनौती
नेपालमा उद्योग स्थापना र लगानी प्रवद्र्धनका लागि अनुकूल वातावरण छैन। राजनीतिक अस्थिरता, सरकारी राजनीतिक स्थिरता, सुशासन, विधिका शासन, न्याय सम्पादन, भिजन सहित मुलुक निर्माण जस्ता विषयहरू ओझेलमा परेका छन् । जनतालाई उत्तेजनाको राजनीतिमा समाहित गराउँदै आफ्नो स्वार्थ सिद्ध गर्नेहरू बलिया झैँ देखिदै गएका छन ।
रातोपाटिमा पत्रकार सुदर्शन आचार्यले देश नबन्नुका यी यस्ता १० कारणहरु औलाउनु भएको छ । राजनीतिक अस्थिरता, भिजनरहित नेतृत्व,नीतिगत निर्णयको आधारमा भ्रस्टाचार, बिचौलियाको रजगज, कथित भूमिगत शक्तिकेन्द्र, संसद् प्रतिको अपेक्षा, अनुत्तरदायी कर्मचारी संयन्त्र, कमजोर बनाइयो संवैधानिक निकाय, क्षमता देखाउनै रोकिए युवा, भू–राजनीतिक प्रभाव । वास्तवमा हाम्रो विकासोन्मुख रास्ट्रको बिकासका बाधक नै यिनै हुन।
पाथीभरा क्षेत्रको हक र अधिकार’का नाममा कहाँ-कहाँबाट को-को आएर ‘आफ्नो रोटी सेक्न’ खोज्दैछन्,।स्वाभिमानी ईमानदार ताप्लेजुङगे जनतालाई भटकाउने,उचाल्ने,दिमाग तताउने काम कसले गरिरहेको छ ??? उक्त आन्दोलनको अग्रभागमा उपस्थितहरूको अनुहार स्थानीय नभएको देखिएका थिए ।
‘अरुण तेस्रो’ जलविद्युत् आयोजनामा देखिएको विरोधकै कारण विश्व बैक पछी हटेको थियो ।उक्त आयोजना अबरुद्ध भयो । जसले मुलुकलाई लामो समयसम्म ऊर्जा संकटमा पार्यो। पाथीभरा केवलकार परियोजनामा पनि यस्तै अवस्था दोहोरिने संकत देखिएको छ । सुदर्शन आचार्यले पनि बाह्रखरिमा अरुण तेस्रोको नियति र पाथीभरा केवलकारको सन्दर्भ भनेर आफ्नो बिचार राख्नु भएको छ ।नेपालका अर्थतन्त्रलाई आड–भरोसा दिन काँध थापिरहेको ‘निजी क्षेत्र’ले राज्य तथा स्थानीय जनताको कति साथ पाइरहेको छ त भन्ने प्रश्न उठेको छ। विराटनगरमा स्थापना गरेको ‘बिराटनगर जुट मिल’बाट प्रारम्भ भई पछिल्लो समय पाथीभरामा स्थापना गर्न लागिएको ‘पाथीभरा केवलकार’सम्म आइपुग्दा नेपालको उद्योगले निकै ठूलो आरोह–अवरोह बेहोर्नु परेको छ । २०४६ सालको राजनीतिक परिवर्तनले तर, मुलुकमा जुन स्केलमा ‘उद्योगको विकास र विस्तारका निम्ति’ नीतिगत तथा कानुनी सुधार चाहिने हो । नेपालका उद्योगले प्राप्त गर्न सकेको छैन । जबसम्म राज्यले लगानीमैत्री वातावरण निर्माण गर्न सक्दैन्, तबसम्म ‘स्वदेशी वा विदेशी’ जोकोही पनि लगानीमा आकर्षित हुन सक्ने कुरै भएन ।
कोही कसैको राजनीतिक, आर्थिक, सामाजिक, धार्मिक, जातीय वा अन्य खाले स्वार्थमा ‘रोटी सेक्न’ कोही पनि प्रयोग हुनु दुखद पाटो हो । स्वाभिमानी नागरिकको बसोबास गर्ने गर्ने ताप्लेजुङका नागरिकलाई ‘मुक्कुम्लुङ’मा केवलकारको विकासले सांस्कृतिक तथा ऐतिहासिक पहिचान गुम्ने हल्ला फैलाउने कुरा राजनीति वा स्वार्थको खेल भ्रम मात्र हुन सक्छ । जुन कुरा समयमै बुझ्न नसक्दा ‘अरुण तेस्रो’को नियति पाथीभराले पनि भोग्न सक्छ । विकट भौगोलिक अवस्थितिको जटिलताले बिराम्री ,बृद्द ,असक्त अपाङ हिडेर जान सक्ने अवस्था छैन ।केवलकार भए जो कोहि तुरुन्तै पाथीभराको दर्शन गरेर फर्किन सक्छन् । त्यसैले सर्वसाधारणले हवाई सेवाको सुबिधा लिएर पाथीभरा / मुक्कुम्लुङ दर्शन सर्वसाधारणको अझै त्यो स्थिति छैन । यस्तो बेला निजी क्षेत्रले अर्बाैं लगाउँदै पर्यटकीय तथा धार्मिकस्थलमा योगदान दिन खोज्दा हुने विरोध हुनु नेपालको लागि दुर्भाग्यको कुरा हो । उक्त परियोजनामा सम्लग्न सरकार, राजनीतिकर्मी, आइएमई ग्रुप, निर्माण ब्याबसायी, स्थानीय सरकार लगायतहरुको विरुद्धमा उत्रनु सुर्यलाई थुक्नु जस्तै हो ।
सरकारले अनुमती दिएको यो महत्त्वपूर्ण परियोजना भएकाले सरकारलाई चुनौती दिएर बिकासमा अवरोध गर्नु,द्वन्द बढाउनु राम्रो पक्कै होइन । नेपाल् जस्तो मुलुकमा पाथीभरा केवलकार निजी क्षेत्रले विकास गर्न खोजेको परियोजनालाई निरुत्साहित गर्नु दुखद कुरा हो । धार्मिक स्थल भएकाले यसमा विभिन्न समुदायका आस्था, भावना जोडिएका छन् । यी यस्ता परियोजनामा स्थानीय असन्तुष्टि, सरकारी नीति तथा कानुनी अवरोध, विदेशी वा निजी क्षेत्रको संलग्नता, र सामाजिक-पर्यावरणीय चिन्ता साझा विषय बन्नु स्वाभाविक पनि हुन ।
स्थानीय सरकार, सरोकारवालादेखि केन्द्रिय सरकारसम्मको पहल
परिस्थितिले गोलि हाल्ने कि नहाल्ने निर्धारण गर्ने कुरा केवल जिल्लाको प्रशासन वा नगरपालिका मेयरको आदेशमात्र होइन, अनुशासनहीनताका कारण कुटपिट र चोटपटकका घटनाहरू पनि भएको बताइएको छ। प्रजिअ नेत्र प्रसाद शर्माका अनुसार, “जिल्ला प्रशासनले कुनै पक्षलाई पक्षपातपूर्ण हुँदैन र हामी नो केवलकार प्रतिनिधिहरूसँग पनि सम्पर्कमा छौँ । हाम्रो कुनै पक्षप्रति झुकाव नभई हाम्रो मुख्य उद्देश्य जिल्लामा शान्ति, सुरक्षा, एकता र सद्भाव कायम राख्नु हो।” सञ्चारकर्मीहरूसँगको फोन अन्तर्वार्तामा पनि यो स्पष्ट पारिसक्नु भएको छ।सम्पूर्ण समस्याको समाधान वार्ताबाट नभए कानुनी उपचारबाट हुनुपर्छ।फुङ्लिङ नगरपालिकाका मेयर, प्रमुख जिल्ला अधिकारी, ताप्लेजुङका जनप्रतिनिधिहरू, गृह मन्त्री तथा एमालेका महासचिव पोखेललगायतका नेताहरूले पाथीभरा मुक्कुम्लुङ केबलकार विवादलाई वार्ता र छलफलमार्फत समाधान गर्ने कुरामा जोड दिनु भएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र ढकालका अनुसार, पाथीभरामा केबलकार सञ्चालन गरेर ताप्लेजुङको विकास र रोजगारी वृद्धि गर्ने योजना स्थानीय सहमति भएकाले सकारात्मक रहेको छ। तर, बाहिर बस्नेहरूले बारम्बार अवरोध सिर्जना गरेको अवस्थामा, सरकारका निकायहरूले सबै कानूनी र नियमक प्रक्रिया पूरा गरेपछि पनि काम अघि बढ्न नदिएमा नेपालमा लगानीको वातावरणमा नकारात्मक सन्देश फैलिने छ। यसले निजी क्षेत्रद्वारा लगानी आकर्षित गर्ने पहललाई निरर्थक तुल्याउँदै सात प्रदेशमा पर्यटकीय पूर्वाधार विकास, विदेशी तथा स्वदेशी पर्यटक आकर्षण, लगानीका अवसर र रोजगारी सिर्जनामा ठेस पुर्याउने जोखिम छ ।
नेपाल सरकारले केबलकार निर्माणका लागि अनुमति दिइसकेको भए तापनि, स्थानीय समुदायका चासोलाई सम्बोधन गर्दै धार्मिक, सांस्कृतिक र पर्यावरणीय संवेदनशीलतालाई ध्यानमा राखी दीर्घकालीन प्रभाव मूल्याङ्कन पश्चात मात्र निर्माण कार्य अघि बढाउनु आवश्यक छ। केबलकारले धार्मिक र पर्यटकीय विकासमा टेवा पुर्याउन सक्ने भएकाले, स्थानीय संस्कृति र पर्यावरणीय सन्तुलन कायम राख्दै पूर्वाधार विकास गर्न सबै पक्षबीच सहमति कायम हुनु जरुरी छ।
राजनीतिकर्मी, पर्यटन, उद्योग र विकासप्रेमीले पाथीभरा केबलकार जस्ता परियोजनाले पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना र आर्थिक वृद्धिमा महत्त्वपूर्ण योगदान दिन सक्छ। तर स्थानीय समुदायको भावना, पर्यावरणीय प्रभाव र सांस्कृतिक पहिचानलाई ध्यानमा राखी योजना अघि बढाउनु अत्यावश्यक छ। नेपालको विकास र संरक्षणको सन्तुलन मिलाउने नीतिले मुलुकको आर्थिक समृद्धिमा योगदान पुर्याउने भएकाले, यस विषयमा उत्तेजना र हिंसा सट्टा वार्ता र सहमतिबाट समाधान खोजी, समाजलाई टुक्राउने होइन, जोड्ने उपायहरू अपनाउनु पर्छ ।
प्रतिक्रिया