काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विगतमा उल्टो बुद्धि भएका शासकका कारण नेपाल विकास निर्माणमा पछाडि परेको बताएका छन्।
शनिबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले इतिहासका शासकले लादेको कुसंस्कारका कारण सयौँ वर्ष जहाँको त्यहीँ रोकिनुपरेको बताए। विगतमा औपनिवेशिक र सामन्ती प्रथाको राजनीतिक व्यवस्थाका कारण अन्धकारमा धकेलिनुपरेको उनको भनाइ थियो।
यस्तै, उनले इतिहासमा ज्ञान र शिक्षाको सुरुवात महिलाबाटै भएको तर सामन्ती प्रथाको राज्यसत्ताका कारण महिलालाई पठनपाठनमा रोक लगाएर आधा जनसंख्यालाई चल्नै नसक्ने बनाएको जिकिर गरे।
‘विश्वमा ज्ञान र शिक्षाको विकासदेखि लिएर हरेक कुरामा हाम्रा पूर्वजहरु अरुभन्दा अगाडि थिए। यो यथार्थ पृष्ठभूमिमा हामी केही समय पछाडि पर्यौँ, एउटा औपनिवेश युगका कारणले र अर्को सामन्ती प्रथाका कारणले। हाम्रोमा कस्तो कस्तो उल्टो बुद्धिका साशकहरु आए। महिलाले पढ्न हुँदैन भन्ने खालका, जुन महिलाले वेदको रचना गरे त्यही महिलाले वेद पढ्न हुँदैन भन्ने आयो,’ उनले भने।
उनले आर्थिक विकासका लागि कृषिलाई आधुनिकीकरण र मेसिनयुक्त बनाउनुपर्ने बताए। गाउँमा रहेका ठूलो संख्याका नागरिकलाई रोजगारी सिर्जना तथा आम्दानी वृद्धिका लागि तालिम र साना लगानीका उद्योगमा सञ्चालनमा प्रोत्साहन गर्न सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो।
प्रधानमन्त्री ओलीले सम्भावनाप्रति आशावादी भएर लाग्नु पर्ने बताए। नेपाल प्राकृतिक, खनिज र विभिन्न स्रोतका हिसाबले सम्भावना भएको मुलुक भएकाले समृद्धिका लागि आशावादी बन्नुपर्ने उनको भनाइ थियो।
प्रतिक्रिया