January 10, 2025, 2:32 am
» स्वास्थ्य परीक्षणपछि रविलाई पत्नी निकिताको जिम्मा लगाइयो » दुर्गा प्रसाईंले बुझाए तीन लाख धरौटी » रवि लामिछाने र छवि जोशीले बुझाए धरौटी » नाबालिका छोरीमाथि पटकपटक करणी, घटना सामसुमका लागि सुटुक्क गर्भपतन » एमाले पूर्वसांसद मीना र बाबु कृष्णबहादुर रिहा, जीबीकी सहयोगी लीला कारागार चलान

बाढीले खानेपानीका स्रोतमै क्षति पुर्‍याउँदा समस्या

पुस २५, २०८१ मा प्रकाशित | २८०दर्शक तीव्रखबर

काभ्रेपलाञ्चोक, । जिल्लामा निर्माणाधीन अधिकांश ठूला खानेपानी आयोजनाका स्रोत यहाँका खोला हुन् । विसं २०७२ को भूकम्पका कारण जिल्लामा खानेपानीका मूल सुकेपछि त यहाँका नदी-खोला नै खानेपानीका मुख्य स्रोत थिए । तिनै खोलामा गत असोज दोस्रो साताको बाढीले पानीको स्रोत नै तहसनहस भयो । नदी-खोला किनारमा रहेका इनार र ‘लिफ्टिङ’ प्रविधिमार्फत डाँडामा तानेर बस्तीबस्तीमा वितरण गर्न निर्माण भएका भौतिक पूर्वाधारमा क्षति भयो । पानी सङ्कलन, प्रशोधन केन्द्र तथा वितरण प्रणालीमा समेत क्षति हुँदा निकै समस्या भएको छ ।

हाल काभे्रपलाञ्चोकका चार ठूला खानेपानी आयोजनामध्ये काभ्रे उपत्यका बृहत् खानेपानी आयोजनालाई भने पानी लिफ्ट गर्नु पर्दैन तर उक्त आयोजनाका लागि पनौतीमा रहेका गुड्गुडे, खारखोला, वैरामहादेव र मूलडोलका पानी सङ्कलनका ‘इन्टेक’ तथा वितरण प्रणालीका मुख्य तथा शाखा पाइपलाइनमा बाढीले क्षति पु¥याउँदा करोडौँको नोक्सान भएको छ ।

उक्त आयोजनाका बोर्ड प्रमुख आशोक ब्याञ्जूका अनुसार काभ्रे उपत्यका बृहत् खानेपानी आयोजनामा रु २१ करोड ८० लाख क्षति भएको छ । निर्माणको अन्तिम चरणमै क्षतिग्रस्त हुन पुगेको सो खानेपानी आयोजनाको पुनर्निर्माणमा एसियाली विकास बैङ्कले सहयोग गर्ने प्रतिबद्धता जनाएको ब्याञ्जूले बताउनुभयो । तीन नगरका करिब ९३ हजार उपभोक्ताका लागि करिब रु एक अर्बको लगानी रहेको सो खानेपानी आयोजनाको निर्माण ढिलाइ भइरहे पनि यसअघि ९८ प्रतिशत काम सकिएको जनाइएको थियो । सन् २०१२ डिसेम्बर १९ मा भएको सम्झौताअनुसार सन् २०१५ जुन १२ मा आयोजना निर्माण गरिसक्ने भनिएको थियो तर करिब १२ वर्ष बितिसक्दा पनि काम सम्पन्न भएको छैन ।

यसैगरी, दशवटा वडाका सात हजार नागरिकलाई खानेपानी पु¥याउने लक्ष्यका साथ सुरु गरिएको पाँचखाल बृहत् सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानीको स्रोत सुनकोशी नदी हो । भुम्लु गाउँपालिका–१० बिमिरेस्थित उक्त नदी किनारमा छवटा इनार, चार लाख लिटर क्षमताका दुई ट्याङ्की, तीन लाख लिटरको ब्याकवास ओभरहेड ट्याङ्की, छ ब्रेकप्रेसर ट्याङ्की तथा पालेघर निर्माण गरिएको छ । सोही इनारमा सङ्कलित पानी लिप्mिटङ प्रविधिमार्फत पाँचखाल ल्याइने निर्माणाधीन उक्त आयोजनाको मुहान क्षेत्र गत असोजको बाडीले डुबाउनाका साथै केही पूर्वाधारमा क्षति पुगेको थियो ।

उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेका अनुसार आयोजनाका विभिन्न संरचनामा रु एक करोड ७० लाख क्षति पुगेको थियो । विसं २०७६ साल भदौ १२ गते ०७९ पुस महिनाभित्र सक्ने गरी परियोजना निर्माणको सम्झौता भएको थियो । त्यसको लागत रु एक अर्ब ३४ करोड ६६ लाख हुने भनिएको थियो । यसको मुख्य स्रोत पनि नदी नै हो, जसको काम हाल ९५ प्रतिशत सम्पन्न भएको जनाइएको छ ।

यसैगरी, तेमाल क्षेत्रका ५५ हजार स्थानीयलाई स्वच्छ खानेपानी घरघरमा पु¥याउने उद्देश्यका साथ आठ वर्षअघि सुरु गरिएको तेमाल बृहत् खानेपानी आयोजनाको खानेपानीको स्रोत पनि सुनकोशी नदी हो । कोभिड र प्राकृतिक प्रकोपका कारण निर्माण ढिलाइ भएको उक्त आयोजना अबको केही महिनामा सक्ने लक्ष्य लिइएको उपभोक्ता समितिका अध्यक्ष सङ्ग्रामजित लामाले बताउनुभयो । उहाँका अनुसार बाढीले उक्त आयोजनाको मुहान क्षेत्रका ट्याङकीलगायत लिफ्टिङका लागि व्यवस्थित गरिएका बिजुलीका ट्रान्सफर्मर तथा अन्य पूर्वाधारमा रु सात करोड बराबरको क्षति पुगेको छ ।

नेपाल सरकार, खानेपानी विभागमार्फत रु एक अर्ब २७ करोड, गाउँपालिकाको एक प्रतिशत र स्थानीय उपभोक्ताले नौ प्रतिशत जनश्रमदानमा निर्माण गरिएको यस आयोजनाको खानेपानी वितरणका लागि याङ्बेल डाँडामा चार लाख लिटर क्षमताका दुई मुख्य ट्याङ्की बनाइएका छन् । आयोजनामध्ये दुई चरणमा सुनकोशी नदीबाट १२ किलोमिटरको उचाइमा लिफ्टिङ गरी खानेपानी उपलब्ध गराइने संरचना बनिसकेका छन् । उक्त आयोजनाको करिब ९८ प्रतिशत काम सकिएको जनाइएको छ । यसअघि २३ ट्याङ्कीमा पानी परीक्षण भइसकेको छभने ‘मेनलाइन’ र ‘शाखा लाइन’मा पाइप बिछ्याउने तथा घरघरमा धारा निर्माणका लागि आवश्यक सामग्री वितरण कार्य भइरहेको जनाइएको छ । साथै, प्रशोधन केन्द्रदेखि वितरण ट्याङ्कीसम्मको पाइपमा समेत पानी परीक्षण भइसकेको थियो ।

खानेपानीको चरम अभाव झेलिरहेको मण्डनदेउपुर नगरका घरघरमा खानेपानी पु¥याउन पनि इन्द्रावती नदीको पानी लिफ्टिङ गर्न लागिएको छ । नगरका पाँच हजारभन्दा बढीलाई हाल १० नं वडास्थित थामडाँडामा निर्माण गरिएको मुख्य ट्याङ्कीमा वडास्थित इन्द्रावती नदीको नारिमखर्क र ७ नं को सोतेमा दुईवटा ‘समवाएल’ निर्माणबाट पानी खसालिने योजना बनाइएको उपभोक्ता समितिका अध्यक्ष रामबहादुर तामाङले बताउनुभयो । उहाँका अनुसार बाढीले मुहान क्षेत्र तथा अन्य केही स्थानका संरचनामा करिब रु पचास लाखको क्षति पुगेको छ ।

नारिमखर्क र सोतेमा पानी प्रशोधन केन्द्र (ट्रिडमेन्ट प्लान) निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । यस आयोजनाअन्तर्गत हाल विभिन्न स्थानमा आवश्यक ३० वटासहित २३ वटा वितरण ट्याङ्की निर्माण सकिएको छ । भूकम्पले पानीका मूल सुकाएपछि खानेपानीको समस्या झेलिरहेका यहाँका बासिन्दाले केही महिनामै खानेपानी अभावबाट उन्मुक्ति पाउने अपेक्षा गरिएको छ । नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन विभागको रु ९६ करोड, स्थानीय उपभोक्ताबाट सङ्कलित तथा नगरको लगानीसहित रु एक अर्बको आयोजना स्वीकृत गरिएको हो । राजकुमार पराजुली

प्रतिक्रिया