काठमाडौं। सामाजिक सञ्जालमा सक्रियता बढाउन पार्टीपंक्तिलाई बारम्बार निर्देशन दिँदै आएका एमाले महासचिव शंकर पोखरेलले आफ्नो फेसबुक स्टाटसमा लाइक, कमेन्ट र सेयर नगरेकोमा असन्तुष्टि जनाएका छन् ।
पार्टी नेतृत्व र सरकारविरुद्ध योजनाबद्ध भ्रम छर्ने काम भइरहेको जनाउँदै सञ्जालबाट त्यसको सशक्त प्रतिवाद गर्न अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र पोखरेलले कार्यकर्तालाई निर्देशन दिँदै आएका छन् । तर, विगतमा ‘आई लभ यू केपी बा’ भन्नेहरुले समेत फेसबुकमा लेख्न जाँगर नचलाएपछि उनी मुख खोल्न बाध्य भएका हुन् ।
हिजो केन्द्रीय समिति बैठक सकिएलगत्तै महेश बर्तौला, योगेश भट्टराईलगायतका नेतासँग पोखरेलले यसबारे गुनासो गरेको बताइएको छ । ‘हाम्रा लाखौँ कार्यकर्ता छन्, तर मेरो स्टाटस सेयर नै हुँदैन’, उनले दुःख पोखेका थिए ।
पोखरेलको भनाई उद्धृत गर्दै एक नेताले जनआस्थासँग भने, ‘नेता–कार्यकर्ताले नेतृत्वको स्टाटस, फोटोहरु लाइक, शेयर गरे पो राम्रो सन्देश जान्छ, प्रचार पनि हुन्छ । तर, साथीहरुले गर्दै गर्दैनन् । धौ धौ दुई–तीन हजार लाइक र तीन–चार सय सेयर जान्छ ।’
त्यसो त, फेसबुकमा लाइक नबढेको गुनासो गर्ने पोखरेल एमालेमा पहिलो नेता होइनन् । यसअघि प्रधानमन्त्री ओलीका निकट सहयोगी, प्रमुख सल्लाहकार तथा उपमहासचिव विष्णु रिमालले औपचारिक कार्यक्रममै ‘केपी शर्मा ओली’ नामक फेसबुक पेजमा लाइक–कमेन्ट–सेयर बढाउन निर्देशन दिएका थिए ।
पार्टीपंक्तिमा ‘समानुपातिक नेता’ भनेर चिनिने रिमालले गत वर्ष एउटा प्रशिक्षण कार्यक्रममा उक्त पेजमा हरेक दिन ५० हजारभन्दा बढी लाइक आए पार्टीले बहुमत ल्याउने दाबी गरेका थिए ।
जन आस्था बाट
प्रतिक्रिया