११ महिनामै नेपाल वायुसेवा निगम किन र कसरी प¥यो थला ?

- August 22, 2019 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

काठमाडौं ।  नयाँ कार्यकारी अध्यक्षको रुपमा मदन खरेलको प्रवेश नै नेपाल वायुसेवा निगमको अधोगतिको कारण बन्न पुगेको देखिएको छ । निगमको वाइडबडी विमान अवतरण भएको जुलाई २०१८ मा हो । वाइडबडी आएको १३ महिनासम्म पनि जापान, कोरिया र साउदी अरेबिया उडान हुन सकेन । जापान र दक्षिण कोरियामा सिधा उडान गर्न सहज पार्ने उद्देश्यले र मार्केटिङ तथा प्रचारप्रसार गर्ने कार्यको लागि जापानमा र कोरियामा जीएसए नियुक्त गर्ने प्रक्रिया २० महिनापहिले मिति २०७४ मंसिर २८ गते बसेको सञ्चालक समिति बैठकले व्यवस्थापनलाई निर्देशन दिएको थियो । 

त्यसपछि दुईपल्ट टेण्डर आह्वान गरेपछि बल्ल कोरियाको लागि प्यासिफिक एयर एजेन्सी नामको कम्पनीलाई जीएसएमा नियुक्तिको सम्झौता महाप्रबन्धक सुगत रत्न कंसाकारकै पालामा गरियो । तर जीएसए नियुक्त भइसकेको कोरियामा उडान सुरु गर्न अध्यक्ष खरेलले गम्भीर पहल गरेनन् । त्यही कारण चर्को भाडा लिइरहेको कोरियन एयरलाइन्सको एकाधिकार आजको दिनसम्म कायमै छ ।

जापानको लागि सञ्चालक समितिको २०७५ भदौ २० को बैठकबाट व्यवस्थापनलाई दिएको निर्देशनमा तत्कालीन महाप्रबन्धक कंसाकारले एक कम्पनी वेस्टर्न एसोसिएट्सलाई नियुक्त गरेका थिए । तर सम्झौतामात्र गर्न बाँकी रहँदा गत भदौ ३१ गते मदन खरेल निगमको कार्यकारी अध्यक्षमा नियुक्त भएर आए । उनले सञ्चालक समितिको उक्त निर्णयलाई बेवास्ता गरिदिए । यसरी सञ्चालक समितिले जीएसए नियुक्त गर्न गरेको निर्देशन पनि खरेलले पालना नगरेपछि निगमको अधोगति सुरु भएको हो भन्दै आर्थिक दैनिकले समाचार प्रकाशन गरेको छ । । 

टोकियोको नारिता एयरपोर्ट जाने निर्णयलाई निगमभित्र, मन्त्रालय र नेपालस्थित जापानी राजदूतावासका जापानी पदाधिकारीहरु सबैले उचित निर्णय भनेका थिए । उक्त निर्णयलाई खरेलले फेरे र ओसाकामा उडान गर्नेतर्फ प्रक्रिया सुरु ग-यो । नारिता एयरपोर्टको एक पदाधिकारीले २०७५ साल असार २२ गते नै निगमलाई इमेल पठाएर जापानमा उडान सुरु गर्न पहिलो पाइलाको रुपमा जीएसए नियुक्ति गर्नुपर्छ भनेका थिए । जीएसए नियुक्त भएपछि साढे दुईदेखि साढे तीन महिनाजतिमा उडान सुरु गर्न सकिने ती पदाधिकारीले निगमलाई इमेलमा लेखेको स्रोतले जानकारी दियो । कंसाकारको पालामा नियुक्त गरिसकेको जीएसएसँग खरेलले सम्झौता गरेको भए छ महिनापहिले जनवरी २०१९ देखि नै जापान उडान सुरु हुने निश्चित थियो । 

कार्यकारी अध्यक्ष पदमा नियुक्त भएको १० महिनामा पनि जापानको जीएसएसम्म पनि नियुक्त गर्न नसक्नु खरेलको ठूलो कमजोरी हो । त्यस्तै, हिमालय एयरलाइन्सले उडान गरिरहेको साउदी अरेबियामा सेवा सुरु गर्नेतर्फ पनि कछुवाको गतिमा कामकारबाही अघि बढाइरहेको कागजातबाट प्रमाणित हुने निगम स्रोतको दाबी छ । जापानको नियमन निकाय जेक्याबले अहिले उडान अनुमति दिइसकेकोले यो प्रमाणित हुन्छ कि ईयूले नेपाललाई कालोसूचीमा राखेको कारणले जापान र कोरियामा उडान गर्न ढिलो भएको होइन, किनकि अहिलेसम्म ईयूले नेपाललाई कालोसूचीबाट नहटाएको भए पनि जापानले उडान अनुमति दिइसकेको छ । 

त्यसैगरी टोकियोको नारिता एयरपोर्टको सट्टा ओसाका जाने हो भने छिटो अनुमति पाउने भनी खरेलले दिँदै आएको तर्कमा कुनै सत्यता नभएको निगम कर्मचारी बताउँछन् । जापानको जेक्याब भन्ने संस्थाले उडान अनुमति प्रदान गर्नुअघि अध्ययन विश्लेषण आदि गरेको नेपालभित्रको अवस्था मात्र हो, टोकियो र ओसाकाको एयरपोर्टसँग कुनै सरोकार राख्दैन । स्रोतको भनाइअनुसार यस मामिलामा पनि निगम व्यवस्थापनले पर्यटन मन्त्रालय र जनतालाई ओसाका जाँदा चाँडै अनुमति पाउँछ भनी ढाँटेको देखियो । सायद नारिता नगई ओसाका जानेमा कसैको कुनै स्वार्थ लुकेको हुनुपर्छ ।

वाइडबडीबाट जापान, कोरिया र साउदी अरेबिया सिधा उडान गरेपछि दुईवटा वाइडबडीले मात्र वार्षिक सात अर्ब रुपैयाँ कुल आम्दानी हुने व्यापारिक योजनामा उल्लेख गरेको छ । यो आम्दानीबाट सञ्चय कोष र लगानी कोषलाई किस्ता तिर्नमा कुनै समस्या नहुने निश्चित छ । आजको दिनसम्म पनि यी तीनवटै गन्तव्यमा उडान सुरु गर्नसकेको छैन ।

घरेलुतर्फ पनि कुनै प्राविधिक समस्या नभए पनि एउटै टाइपको चार/चारवटा वाई १२ चिनियाँ विमान निरन्तर रुपमा गत सात महिनासम्म ‘ग्राउन्डेड’ भएको निगमको इतिहासमा पहिलोपल्ट होला । यसमा पनि व्यवस्थापनको नै कमजोरी देखिन्छ । खरेल अध्यक्ष नियुक्त हुनुअघि रवीन्द्र अधिकारी मन्त्रीकै पालामा निर्णय भइसकेको थप १० वटा विमान खरिद गर्ने योजनालाई खरेलले अघि बढाएनन् । 

उक्त १० वटा विमान खरिदको योजना पर्यटन मन्त्रालयले हरेक चौमासिक समीक्षाको कार्यक्रममा लिखित रुपमा नै प्रस्तुत गर्ने गरिएको थियो । छवटा १९ सिटको ससाना भाइकिंग विमान, दुईवटा विमान आन्तरिक ट्रंक रुटको लागि र अन्तर्राष्ट्रिय सेवाको लागि दुईवटा न्यारोबडी ए३२० विमान गरी १० वटा विमान खरिद गर्ने कार्यक्रम थियो । यसरी एकातिर आन्तरिक हवाइ सेवामा आठवटा विमान थपेर अघि बढ्ने निगमको योजना अलपत्र परेको छ भने अर्कोतर्फ एक निजी एयरलाइन्सले ट्रंक रुटको लागि नयाँ विमान थप्ने जानकारी सार्वजनिक गरेको छ ।

अर्को एक निजी एयरलाइन्सले ३२ वटै एयरपोर्टमा सेवा सुरु गर्न नयाँ ससाना विमानहरु थप्ने १/२ हप्ताअघि मात्र घोषणा गरेको छ । एक अर्को निजी नेपाली एयरलाइन्सले दिल्ली, ढाका, कलकत्ता, बैंगलोर, अहमदावाद उडान गर्ने घोषणा गरेको छ । निगम व्यवस्थापनले गत ११ महिनाको अवधिमा नयाँ १० वटा विमानहरु खरिद गर्नेतर्फ कुनै कारबाही अघि बढाएन तर यही अवधिमा तीनवटा वटा निजी हवाइ सेवा कम्पनीले निगमकै योजना हुबहु कपी गरेर व्यापार बढाउने घोषणालाई निगम कर्मचारीले कुन रुपमा लिने भनी एक कर्मचारीले आक्रोश पोखे ।


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!