एशियाली नेता भीमसेन थापा र उनको इतिहास

- April 24, 2024 गते तीव्रखबरमा प्रकाशित

तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

– शैलेन्द्रबहादुर थापा

राष्ट्रिय विभूतिद्वय बडाकाजी अमरसिंह थापा र मुख्तियार जनरल भीमसेन थापा नाताले काका भतिज हुन् । नेपालको राजनीतिक इतिहासमा आत्रये गोत्री बगाले थापा क्षेत्री वंशका वलिराज थापाको दुई छोराहरुमध्ये जेठा रामचन्द्र थापाको वंशक्रमबाट विक्रम थापाका नाति, वीरभद्र थापाका छोरा सानाकाजी जनरल अमरसिंह थापा (जन्म वि.सं. १८१६) हुन् । सानाकाजी अमरसिंह थापा तत्कालीन पाल्पाका शासक तथा आधुनिक नेपाल एकीकरणका युद्ध–कार्याधिकृत कमाण्डर थिए । यिनै सानाकाजी अमरसिंह थापाका छोरा मुख्तियार भीमसेन थापा (जन्म वि.सं. १८३२) हुन् ।
वलिराज थापाकै कान्छा छोरा लक्ष्मण थापाको वंशक्रमबाट रणञ्जयसिंह (रञ्जै) थापाका छोरा बाघ भीमसिंह थापा हुन् । पृथ्वीनारायण शाहले भीमसिंह थापालाई युद्धमा वीरता, बहादुरी देखाएका कारण ‘बाघ’ उपाधिबाट सुशोभित गरेका थिए । यिनै बाघ भीमसेन थापाका छोरा बडाकाजी अमरसिंह थापा (जन्म वि.सं. १८०८) हुन् । मुख्तियार भीमसेन थापाको तत्कालीन केन्द्रीय प्रशासकीय नेतृत्व अन्तर्गत सानाकाजी अमरसिंह थापाका साइँला छोरा बख्तावरसिंह थापा (मुख्तियार भीमसेन थापाका भाइ) को नेतृत्वमा विजयपुर क्षेत्रतर्फ अंग्रेज विरुद्धको प्रत्याक्रमण युद्ध भएको थियो । त्यसैगरी भीमसेन थापाका कान्छा भाइ कर्णेल रणवीरसिंह थापाको नेतृत्वमा मकवानपुर क्षेत्रमा नेपाल–अंग्रेज प्रत्याक्रमण युद्ध सञ्चालन भएको थियो । नयनसिंह थापाका छोरा कर्णेल उजीरसिंह थापा (भीमसेन थापाका भतिजा) को नेतृत्वमा पाल्पा क्षेत्रमा नेपाल–अंग्रेज प्रत्याक्रमण युद्ध सञ्चालन भएको थियो । बडाकाजी अमरसिंह थापा र उहाँका छोराहरु काजी रामदास थापा, काजी रणजोर थापाको नेतृत्वमा पश्चिमको कुमाउँ र गढ्वालका क्षेत्रमा प्रत्याक्रमण युद्ध सञ्चालन भएको थियो । पछि यिनै रणजोर थापा सन् १८१७ मा नेपाली सौगात मण्डलको नेतृत्व गर्दै चीनको पेकिङ गएका थिए । त्यसैगरी बडाकाजीका छोरिपट्टिका नातिहरु वीरभद्र कुँवर, राष्ट्रिय विभूति भक्ति थापा लगायतका नेपाली सेनाका कमाण्डरहरुले सो प्रत्याक्रमण युद्ध गरेका थिए । राष्ट्रिय विभूति बडाकाजी अमरसिंह थापाका छोरिपट्टिका नाति राष्ट्रिय विभूति बलभद्र कुँवर र बडाकाजीका छोरा रणजोर थापा नेतृत्वको गोरखाली सेनाले जैथक किल्लाको रक्षाको जिम्मेवारी सम्हालेका थिए । यसरी पूर्वमा टिष्टादेखि पश्चिममा कश्मीरसम्म तत्कालीन नेपाललाई विस्तार गर्ने रणनीतिक योजनाकारद्वय एकीकरणका बडाकाजी अमरसिंह थापा र मुख्तियार भीमसेन थापालाई तत्कालीन विश्वले नजिकबाट चिनेको थियो । किनकि मुख्तियार भीमसेन थापा एशियाली क्षेत्रमै ‘हिमाली महासंघ राज्य’ स्थापनाका लागि प्रस्ताव राख्ने पहिलो नेपाली एवम् एशियाली नेता थिए । त्यसकारण कार्ल माक्र्सले भीमसेन थापालाई एशियामा अंग्रेजी साम्राज्यको विरोधी नेता एकमात्र (भीमसेन थापा) थिए भनेर मूल्यांकन गरेको पाइन्छ । यसरी मुख्तियार भीमसेन थापाले आफ्नो केन्द्रीय रणनीति अनुसार नेपाल–अंग्रेज युद्ध समाप्त भएलगत्तै हिमाली राज्यहरुलाई मिलाएर एउटा महासंघ बनाउने प्रस्तावित योजनाले तत्कालीन विश्वको ध्यान केन्द्रित गरेको थियो । भीमसेन थापाले बर्मादेखि इरान, अफगानिस्तान र फ्रान्ससंग समेत पत्राचार गरेका थिए । यसरी मुख्तियार भीमसेन थापाले विभिन्न राष्ट्रहरु समक्ष एशियाली एकताको आव्हान गर्दै अगाडि सारेको रणनीतिक योजनाको भित्री मस्कत् के थियो भने तत्कालीन साम्राज्यवादी शक्तिलाई एशियाबाट परास्त गरी नेपाललाई अक्षुण्ण, स्वतन्त्र र सुरक्षित राख्नु थियो । तर भीमसेन थापाद्वारा बर्मादेखि कश्मीरसम्मका हिमाली राज्यहरुलाई महासंघमा आबद्ध गर्नका लागि पठाएको प्रस्तावलाई कश्मीरले नेपालको साम्राज्यवादी नीतिको विस्तारका रुपमा लियो । त्यसपछि कश्मीरले भीमसेन थापाको त्यो प्रस्तावलाई स्विकार गरेन, उल्टै अंग्रेजसंग सम्बन्ध विस्तार गर्न पुग्यो । “एशिया भनेको एशियालीहरुकै हुनु पर्छ” भन्ने पहिलो अवधारणा सार्वजनिक गर्नु हुने भीमसेन थापाको यो योजना यदि सफल भइदिएको भए दक्षिण एशियाली राजनीतिक इतिहासको स्वरुप नै बदलिन सक्ने सम्भावना थियो ।
भीमसेन थापाले हिमाली महासंघको रणनीतिक अवधारणा मार्फत एशियाली एकताको पक्षमा चीन, भोट तिब्बतलाई पत्राचार गरेका थिए । तर केही एशियाली राज्यहरुले समेत एकताको यो आब्हानलाई वेवास्ता गरे । त्यसमाथि पनि एशियाली एकता देख्न नचाहने तत्कालीन अंग्रेज साम्राज्यवादी शक्तिले मुख्तियार भीमसेन थापाको आब्हानलाई असफल पार्न चलाखीपूर्ण तरिकाबाट ‘फुटाऊ र राज गर’ नीति लिँदै अगाडि बढेका थिए । अंग्रेजको यो रणनीति राम्रोरी बुझिसकेका मुख्तियार जनरल भीमसेन थापाले निरन्तर एशियाली एकताको आब्हान गर्दै बर्मा, अफगानिस्तान, फारस, पञ्जाब, ग्वालियर, अवध एवम् बंगालसम्म आफना दूतहरु समेत पठाउनु भएको थियो । त्यति मात्र होईन, भीमसेन थापाले इष्ट इण्डिया कम्पनीको प्रबृत्ति विरुद्ध लड्न फ्रान्ससंग पनि रणनीतिक योजना बनाएका थिए । तर, फ्रान्सको ढिलाइका कारण समय लागेको हुँदा पछि त्यो योजना निष्क्रिय भयो । यसरी भीमसेन थापाले ‘एशियाली संघ’ बनाउने आब्हान गरेअनुरुप नै पृथ्वी विलासलाई दूत बनाई पञ्जाब रणकेशरी रणजित सिंहको दरबारमा पठाएका थिए । यसका लागि जनरल भीमसेन थापाले तत्कालीन नेपाली सेनाको संगठन संरचनालाई समेत आधुनिकीकरण गरेका थिए । त्यति मात्र होईन, मुख्तियार भीमसेन थापाले एशियाली संघ निर्माणार्थ आफ्नो योजनालाई सफल बनाउन सहयोगी देशभक्त भाइ, भतिजाहरुको समेत छनौट गरेका थिए । सोही अनुसार बडाकाजी अमरसिंह थापाका छोरा काजी रणध्वज थापाले भीमसेन थापाको कारोबारी काजी पद सम्हालेर सहायकको रुपमा काम गरेका थिए । काजी रणजोर थापाले आना बाबु बडाकाजी अमरसिंह थापाको सहयोगी भई काम गरेका थिए । काजी रणजोर थापाले जैथकको किल्लामा अंग्रेजहरुसंग प्रत्याक्रमण युद्ध गरी उनीहरुलाई धपाई जैथक किल्लाको रक्षा गरेका थिए । बडाकाजीकै अर्का छोरा भक्तवीर थापा पनि भीमसेन थापाको सहयोगी भएर केन्द्रमा बसेका थिए । त्यतिमात्र होईन, कर्णेल भक्तवीर थापाले वि.सं. १८७१–७२ मा नेपाल–अंग्रेज युद्धमा धनकुटा, मोरङ क्षेत्रको नेतृत्व लिएका थिए । त्यसपछि भक्तवीर थापा वि.सं. १८७३ आश्विन–कात्र्तिकमा काजीको पद लिई नेपालको प्रतिनिधि भई चीन गएका थिए । बडाकाजीका अर्का छोरा काजी अर्जुन थापा नेपाल–अंग्रेज युद्धपछि लाहोर गएर पंजाबकेशरी रणजित सिंहको सेनामा क्याप्टेन पदमा रही काम गरे । बडाकाजी अमरसिंह थापाको अर्का छोरा काजी भूपालसिंह थापा नेपाल–अंग्रेज युद्धपछि नालापानीबाट पञ्जाब गइ पंजाबकेशरी रणजितसिंहको सैन्यमा भर्ना भएर क्याप्टेन पदमा रही काम गरेका थिए । त्यसैगरी काशीराम थापाका नाति रिपुमर्दन थापाले नेपाल–अंग्रेज युद्धमा सहभागी भई अंग्रेजलाई परास्त गरेका थिए । ऊनै रिपुमर्दन थापा नालापानीको युद्ध लड्दा सुब्बा थिए, पछि सरदार पदमा पदोन्नति भएका थिए । भीमसेन थापाले आफुसंगै यिनै रिपुमर्दन थापाको भाइ भैयाद् सुरतसिंह थापालाई पनि केन्द्रमा प्रशस्त अधिकार दिएर राखेका थिए । यसरी मुख्तियार भीमसेन थापा तथा उनका भाइहरु, बडाकाजी अमरसिंह थापाका छोरा, नातिहरु र काशीराम थापाका नातिहरु मिलेर तत्कालीन नेपाललाई ‘हिमाली महासंघ राज्य’ बनाउने नीतिअनुरुप व्यवसायिक रुपमा योजनाबद्ध ढंगले युद्ध कार्य सञ्चालन गरेका थिए । यसरी काका भतिज अमर–भीमसेन मिसनद्वारा कमाण्ड गरिएको नेपाल–अंग्रेज प्रत्याक्रमण युद्धमा भीमसेन थापा ‘ग्रयाण्ड डिजाईनर’ थिए । त्यसैगरी बडाकाजी अमरसिंह थापा युद्ध मैदानका ‘सेनापति’ थिए । युद्ध मैदानमा बडाकाजीसँगै रामकृष्ण कुँवर, भक्ति थापा, स्वरुपसिंह कार्की, वलभद्र कुँवर, नयनसिंह थापा, अभिमानसिंह बस्न्यात, वम शाह, पारथ भण्डारी, दामोदर पाण्डे लगायतका अनेकौं अनेक वीर कमाण्डरहरु पनि सहभागी थिए । बडाकाजी अमरसिंह थापा, चौतारिया वम शाह, वीर भक्ति थापा, काजी रणजोर थापा, वलभद्र कुँवर नेतृत्वको फौजले पश्चिममा कश्मीरको छेऊ चम्बासम्म हिमाली राज्य विस्तार गर्न सफल भएका थिए । मुख्य युद्ध–रणनीतिकार बडाकाजी अमरसिंह थापा सुदूर पश्चिम क्षेत्र चम्बासम्मको हिमाली राज्य विस्तार अभियानका युद्धबाज हुनु हुन्थ्यो । त्यसकारण बडाकाजी अमरसिंह थापालाई ‘हिमाल रणकेशरी’ पनि भन्ने गरिन्छ । उहाँ नेपालको ‘जिउँदो सिंह’ उपाधिबाट विभूषित हुनु हुन्छ । इतिहासकारहरुको मूल्यांकनमा भीमसेन थापाको कुरा नसुन्दा अंग्रेजी विस्तारवादका सिकार भएका राष्ट्रहरु गुलामबाट मुक्त भएर स्वतन्त्रता दिवस मनाइरहेका छन् । तर नेपालले यस्तोखाले नियति भोग्नु परेन । थापा मिसनको यो प्रस्तावले तत्कालीन साम्राज्यवादी शक्ति केन्द्रहरुमा ठूलो हलचल पैदा गराएको थियो । ब्रिटिस ईष्ट–ईण्डिया कम्पनी र कश्मीर जस्ता तत्कालीन साम्राज्यवादी शक्ति केन्द्रहरुले भीमसेन थापाको यो अभियानलाई स्विकार गरेनन् । बरु उल्टै, मुख्तियार भीमसेन थापा विरुद्ध तिनीहरुले राजनीतिक षड्यन्त्रको योजना बनाउन पछि हटेनन् । षड्यन्त्रको त्यो प्रभावले भीमसेन थापाको व्यक्तिगत, पारिवारिक र सामाजिक जीवनलाई तहसनहस बनाइदियो र अन्त्यमा वि.सं. १८९६ (सन् १८३९) मा ६४ वर्षको अल्पायुमै आत्महत्या गर्नु परेको थियो । यसरी तत्कालीन साम्राज्यवादी शक्तिको षड्यन्त्रको शिकार बन्न पुगेका भीमसेन थापाको हिमाली महासंघ राज्य बनाउने सपना अधुरो रह्यो । वि.सं. १८७१÷७२ मा अंग्रेजसंग भएको प्रत्याक्रमण युद्धमा नेपाल पक्षको हार भयो । यसबाट नेपालले आफ्ना केही भूमि गुमाई बाध्यतावशः सुगौली सन्धि जस्तो असमान सन्धिमा हस्ताक्षर गर्नु प¥यो । यद्दपि, एशियाकै नेताको रुपमा कहलिएका भीमसेन थापाले राष्ट्रिय स्वाभिमान, स्वाधीनता र स्थायित्वलाई मध्येनजर गरेर नै समयसापेक्ष यो कार्य सम्पन्न गर्न पुगेका थिए । यसरी सुगौली सन्धिका कारण वर्तमान नेपालको सीमाना निर्धारण भइ, एक सार्वभौम राष्ट्रको निर्माण भएको छ ।

(लेखक राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानका कार्यकारी सदस्य हुनुहुन्छ ।)


तीव्रखबर (छिटो खबरको एउटै विकल्प)

यस बिषयमा तपाइको प्रतिक्रिया...!