काठमाडौं, । नेकपा माओवादी केन्द्रले ७ प्रदेश र ७७ जिल्लाका इन्चार्जको जिम्मेवारी तोकेको छ । माघ २१ गते बसेको केन्द्रीय पदाधिकारी बैठकले गरेको निर्णय आइतबार सार्जजनिक गरी परिपत्र समेत गरिएको छ । जसमा पार्टीका केन्द्रीय विभाग, वर्गीय संगठन, केन्द्रीय कार्यालय, प्रदेश र जिल्ला लगायतको कार्यविभाजन गरिएको छ ।
पार्टीका केन्द्रीय विभाग, केन्द्रीय जनवर्गीय संगठन तथा मोर्चाहरुको कार्य विभाजनमा समूहगत र क्षेत्रगत आधार तयार गरिएको छ ।
जसअनुसार अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरु र महासचिवसम्मका पदाधिकारीहरुलाई राजनीतिक, वैचारिक कामका साथै नीति निर्माणसम्बन्धी विभाग र मोर्चाहरुका जिम्मेवारीमा केन्द्रित गरिएको छ ।
जनप्रतिनिधि रहेका केही पदाधिकारी कमरेडहरुलाई मूलतः नीति निर्माण सम्बन्धी विभागहरुमा केन्द्रित गरिएको छ । उपमहासचिव, सचिव, स्थायी समिति सदस्यहरु र केन्द्रीय सदस्यहरुलाई प्रदेशहरुको जिम्मेवारीमा केन्द्रित गरिएको छ ।
महासचिव देव गुरुङले पठाएको परिपत्र अनुसार संगठन विभागको प्रमुखमा जनार्दन शर्मालाई जिम्मेवारी दिइएको छ । आर्थिक उत्पादन संयन्त्रको इन्चार्जमा पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनलाई जिम्मेवारी दिइएको छ ।
गण्डकी प्रदेश इन्चार्जमा दीनानाथ शर्मा र सहइन्चार्जमा हरिराज अधिकारीलाई तोकिएको छ । यसैगरी गोरखामा अमरबहादुर तमु, लमजुङमा पारसमणि पौडेल, तनहुँमा आशा कोइराला, स्याङ्जामा शैलेन्द्र घिमिरे
कास्कीमा नेत्रनाथ अधिकारीलाई इन्चार्ज तोकिएको छ ।
मनाङमा लक्ष्मी लामा, मुस्ताङमा कपिल लामा, म्याग्दीमा गोविन्द पौडेल, पर्वतमा सुदीप कुँवर, बाग्लुङमा चन्द्रबहादुर बुढा र नवलपरासी (पूर्व) मा धनप्रसाद सापकोटाले इन्चार्जको जिम्मेवारी पाएका छन् ।
प्रदेश इञ्चार्जको परामर्शमा जिल्ला इञ्चार्जहरु तोकिएको पार्टीले जनाएको छ । महानगरपालिका इञ्चार्ज र हाल जिल्लामा सहइञ्चार्ज रहेका कमरेडहरुको जिम्मेवारी यथावत राखिएको छ ।
यसमा आवश्यक परिमार्जन र सहइञ्चार्जहरु थप गर्नु परेमा समन्वय कार्यालयको सिफारिसमा केन्द्रीय कार्यालयले निर्णय गर्नेछ ।
संघीय निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचन क्षेत्रका इञ्चार्जहरुको कार्य विभाजन सम्बन्धित समन्वय कार्यालयले गर्ने छ ।
स्थानीय पालिकाहरुका इञ्चार्जहरुको कार्य विभाजन समन्वय कार्यालयले गर्ने छ । साथै जन वर्गीय संगठन, मोर्चा, विभाग लगायतका क्षेत्रमा प्रदेशमा कार्यरत केन्द्रीय सदस्यहरुको कार्य विभाजन पनि सोही समन्वय कार्यालयले गर्ने छ ।
प्रतिक्रिया