September 20, 2024, 8:41 am
» कृषिमन्त्री अधिकारीलाई डेंगु संक्रमण, मन्त्री क्वाटरमै आराम गर्दै » नेपाललाई शान्ति क्षेत्र घोषणाको महत्व बढ्दै गएको छ- प्रचण्ड » प्रधानमन्त्री ओली अमेरिका प्रस्थान » प्रकाशमान सिंह कार्यबाहक प्रधानमन्त्री » प्रधानन्यायाधीशमा सिफारिश राउतविरुद्ध उजुरी आव्हान

मनकामना केबुलकार अब डिजिटलडी-कनेक्ट प्रणालीमा, असोज १ देखि पुनः सुचारु हुने

भदौ २५, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं,  । देशकै पहिलो यात्रु बाहक केबुलकार सेवा अत्याधुनिक डिजिटलडी–कनेक्ट प्रविधिमा स्तरोन्नति भएको छ ।

मनकामना दर्शन प्रालि.ले चितवनको चेरेसदेखि गोरखाको सुप्रशिद्ध तीर्थस्थल मनकामना माईको मन्दिरसम्म सञ्चालन गरिरहेको मनकामना केबुलकारको दुई महिना लगाएर स्तरोन्नति गरेको हो ।

अस्ट्रियाको विश्वविख्यात केबुलकार निर्माता कम्पनी डोपलमेयरका इन्जिनियर तथा प्राविधिकको प्रत्यक्ष सहभागिता र सुपरिवेक्षणमा मनकामना केबुलकारको स्तरोन्नति सम्पन्न भएको हो ।

गत असार ३१ गतेदेखि केबुलकारको सेवा रोकेर डिजिटल स्तरोन्नति र मुख्य लठ्ठा फेर्ने काम सम्पन्न गरिएको मनकामना दर्शन प्रालि.ले जनाएको छ ।

करीब ५० करोड रुपैयाँ लगानीमा स्तरोन्नति सकिएसँगै मनकामना केबुलकार असोज १ गत ेमंगलबारदेखि पुनः सुचारु हुनेछ ।

मनकामना केबुलकार नेपालकै पहिलो यात्रुबाहक केबुलकार सेवा हो । प्रतिष्ठित उद्यमी लक्ष्मणबाबु श्रेष्ठको परिकल्पना र लगानीमा निर्माण सम्पन्न भएको मनकामना केबुलकार २०५५ मंसिर ८ गते सञ्चालनमा आएको थियो ।

मनकामना केबुलकार सेवाको सफलताले स्वदेशी उद्यमी व्यवसायीलाई केबुलकार सेवामा लगानी गर्न प्रोत्साहित गर्दा अहिले देशका दर्जनौं स्थानमा केबुलकार सेवा सञ्चालनमा आइसकेका छन् । मनकामना दर्शन प्रालि. पर्यटनविधामा सबैभन्दा बढी कर तिर्ने करदाताको रुपमा नेपाल सरकारबाट पटक पटक सम्मानित भएको छ ।

मनकामनाले सेवा सुरु गरेको २६ वर्षपछि केबुलकारको मुख्य लठ्ठा फेर्ने र डिजिटल डी–कनेक्ट प्रणालीमा स्तरोन्नति गर्ने काम सम्पन्न गरेको हो । हालसम्म मनकामना केबुलकार एनालग अपरेटिङ सिस्टमबाट चलिरहेको थियो ।

कम्पनीले आफ्नो सेवालाई समय र प्रविधिमा आएको परिवर्तन अनुरुप स्तरोन्नति गरेको हो । यो क्रम आगामी दिनमा पनि  जारी राख्ने मनकामना दर्शन प्रालि.का प्रबन्ध निर्देशक राजेशबाबु श्रेष्ठ बताउनुहुन्छ ।

प्रतिक्रिया