September 19, 2024, 9:46 pm
» ‘शेरबहादुर देउवा रिसाएको दिन यो सरकार ढल्छ’ : रवि लामिछाने » श्रीलङ्कामा आर्थिक मन्दीपछि पहिलोपटक शनिबार मतदान हुँदै » ‘काठमाडौंवासीलाई घटस्थापना अघि मेलम्चीको पानी’ » बलिवुड गायक हिमेश रेशमियाका पिताको निधन » क्यान्सरको आशंकामा मासु लिएर चेक गर्न खोज्दा नमान्ने राउटे युवाको डिस्चार्जलगत्तै मृत्यु

दाङमा एक वर्षमा विपद्का कारण ५२ जनाको मृत्यु

साउन १७, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

देउखुरी (दाङ) : दाङमा आर्थिक वर्ष २०८०/८१ मा विपदमा परी ५२ जनाको मृत्यु भएको छ। जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रको तथ्यांकअनुसार एक वर्ष अवधिमा पानीमा डुबेर सबैभन्दा धेरैको ज्यान गएको छ।

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र दाङका शाखा प्रमुख शम्भु आचार्यका अनुसार आव २०८०/८१ मा पानीमा डुबेर २५, बाढीका कारण १६, सर्पदशंले आठ, करेन्ट लागेर छ, आगलागीमा परेर पाँच, चट्याङ लागेर तीन र हावाहुरीका कारण एक जनाको मृत्यु भएको छ।

दाङमा गत तीन आवमा मनसुनजन्य विपद्बाट एक हजार चार सय ३४ घर प्रभावित भएका छन्। आव २०८०/८१ मा दुई सय ८८ घरधुरी प्रभावित भएका छन्। जसमा हावाहुरी, भारी वर्षा, चट्याङ, आगलागी, सर्पदंश जस्ता विपदबाट दुई सय ८८ र बाढीबाट २५ घरधुरी प्रभावित भएको जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्रले जनाएको छ।

आव २०७९/८० मा जिल्लामा दुई हजार नौ सय ५७ घर मनसुनजन्य विपतबाट प्रभावित भएका थिए। बाढी, आगलागी, हावाहुरी, चट्याङ, सर्पदंश लगायतका नौ सय २१ घटना घटेको थियो।

गत वैशाखदेखि अहिले सम्म बाढीले दुई हजार पाँच सय सात घरपरिवार प्रभावित भएका छन्। वैशाखयता दाङमा पाँच जनालाई बाढीले बगाएको छ। बाढीकै कारण तुलसीपुर उपमहानगरपालिकाको गोठीखोलाका तारा गुरुङ, सोही पालिकाको मटेराकी सम्झना चौधरीको बबई नदीमा डुबेर मृत्यु भएको छ।

राजपुर गाउँपालिकाको खरदरियाका राजकुमार यादव, लमही नगरपालिका–८ नयाँ बस्तीका मनिराम चौधरी तथा राजपुर गाउँपालिकाको सालभौडीका छेदुराम चौधरीको नदीमा डुबेर मृत्यु भएको हो। तीन महिना अवधिमा एक सय ७४ वटा घर, चार गोठ, छ उद्योग तथा पसलमा क्षति भएको छ। बाढीले एक सय ६० मौरीका घार पनि बगाएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र दाङले जनाएको छ।

बाढीमा डुबेर गत वैशाखयता ३६ चौपाया र चार सय पाँच कुखुरा मरेको र एउटा सवारी साधन बगाएको छ। हालसम्म मनसुनी गतिविधि सक्रिय रहेकाले बाढीको उच्च जोखिम क्षेत्र पहिचान गरी विपद् न्यूनीकरणका लागि विपद् प्रतिकार्यको काम भइरहेको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी रामबन्धु सुवेदीले जानकारी दिए।

उनका अनुसार राजपुर गाउँपालिका र गढवा गाउँपालिकाका सबै वडा, राप्ती गाउँपालिका–१, २, ३, ६, ७, लमही नगरपालिका–२, ४, ५, ६, ७, ८ र ९ मा मनसुनी विपद्को दृष्टिकोणले जोखिम पहिचान गरी काम भइरहेको छ। जिल्लाको बालिम, सिस्ने, कटुवा, सेवार, गुर्जे, पत्रे, सक्राम, चौवा, ग्वार, काला, पातु, गहते, भमके, बागर, बौलाहा, चिसापानी, च्यान्टी, उपल्लो र तल्लो ट्वाङ, सुसाउने, तुई, कलम, घट्टे, मलैलगायत खोलाका कारण मुनसुनजन्य विपतबाट क्षति हुने गरेको उनले बताए।

प्रतिक्रिया